सेयर बजारमा टी प्लस टु कार्यान्वयन गर्दै धितोपत्र बोर्ड, कुलिङ पिरियड हटाउन माग



काठमाडौं । धितोपत्र बोर्डले पुँजी बजारलाई थप चलायनमान बनाउन हाल कायम भएको ‘टी प्लस थ्री’ व्यवस्थालाई परिवर्तन गरी ‘टी प्लस टू’ ल्याउन अन्तिम तयारी गरेको छ । यसका लागि आवश्यक काम भइरहेको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डको चालु आवको नीति तथा कार्यक्रममा पनि यसलाई घटाउने कार्यक्रम रहेको छ । बोर्डका सह-प्रवक्ता रुपेश केसीका अनुसार यसले अब अन्तिम रुप पाउन बाँकी छ ।

‘सम्भवत अब चाँडै नै अहिलेको कारोबारको ट्रेड साइकल घट्ने गरी अगाडि बढनेछ,’ उनले भने, ‘अब यसका लागि धेरै समय नलाग्ला ।’

हाल सेयर कारोबार भएको चार दिन पछि दोस्रो बजारमा राफसाफ हुने गरेको छ । सेयर खरिद वा बिक्री गरेको दिनलाई टि प्लस जिरो मानिन्छ ।

त्यसपछिको दोस्रो दिनलाई वान र तेस्रो दिन टु र चौथो दिनलाई थ्री भनिन्छ । कारोबार सम्पन्न भएको चौथो दिनको राफसाफ नै टी प्लस थ्री हो । जुन दिन सेयर बिक्रीकर्ताले रकम प्राप्त पाउछन् भने सेयर किन्नेकोे खातामा सेयर दाखिला हुन्छ ।

हाल टी प्लस थ्री व्यवस्था कार्यान्वयनमा छ । अर्थात् मानौं तपाईंले आइतबारको कारोबारमा सेयर खरिद वा बिक्री गर्नु भयो भने बुधबारसम्ममा तपाईंले सेयर खरिद गरे वापतको पैसा बुझाउनुपर्छ र तपाईंले खरिद गरेको सेयर डिम्याट खातामा आइपुग्छ । त्यसैगरी यदि सेयर बिक्री गरेको भए बुधबारसम्म तपाईंको खातामा त्यसवापतको रकम आइसक्नुपर्छ ।

तर व्यवस्था जे भए पनि हाल यो व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । तपाईंले बुझाउनुपर्ने रकम सोही समयमा बुझाउनुपर्ने, बिक्री गरेको सेयर इडीआइएस गरेर ट्रान्सफर गरिदिनुपर्छ भने ब्रोकरले तपाईं बिक्री गरेको सेयर वापतको पैसा र खरिद गरेको सेयर खातामा राखिदिन धेरै समय लगाउने गरेको गुनासो लगानीकर्ताको छ ।

अब यो व्यवस्थालाई हटाएर यसअघि कायम भएको कारोबारको ३ दिनको अवधिलाई २ दिनमा सीमित बनाउने बोर्डको तयारी छ । ताकी लगानीकर्ताले छिटोभन्दा छिटो पैसा र सेयर खातामा पाउन सकुन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले पनि चाँडोभन्दा चाँडो टी थ्रीलाई टी टु मा झार्नुपर्ने बताए ।

‘नेपालको सेयर बजार पूरै प्रविधिमैत्री भयो भन्दा पनि अझै किनेको सेयर र सेयर बिक्री गरे वापतको पैसा खातामा आउन न्यूनतम ४/५ दिन लाग्ने गरेको छ, नयाँ व्यवस्थाले यसलाई केही सहज बनाउने अपेक्षा गरेका छौं,’ उनले भने ।

यसमा धितोपत्र बोर्ड, नेप्से, सीडीएसीले पनि समयमा नै काम गनुपर्ने उनको तर्क छ । यो विषयमा यसअघि पनि नियामक निकायका बीचमा छलफल भएको तर कार्यान्वयनमा ढिलाइ भएको उनको भनाइ छ ।

‘टी प्लस टू कार्यान्वयन गर्ने हो भने दुई दिनमा खातामा सेयर आउनु पर्छ,’ उनले भने ‘फेरि त्यहाँ १ दिन कुलिङ पिरियड जस्तो रहेछ, सेयर डिम्याटमा आएको दिनमा बिक्री गर्न पाँइदैन ।’

रौनियारका अनुसार डिम्याटमा आएको सेयरमा कुलिङ पिरियड लगाउनु हुँदैन, डिम्याटमा आएको सेयर बिक्री गर्न पाउनु पर्छ ।

अहिले टी प्लस थ्री हुँदा ४ दिन लगाउने र १ दिन थपेर ५ दिन लाग्ने गरेको छ । लगानीकर्ताले सेयर खरिद गर्दा समयमै दिनुपर्ने तर खातामा सेयर आउन भने ५÷६ दिनसम्म लाग्ने गरेको छ । र, यसले लगानीकर्तालाई प्यानिक बनाइरहेको अध्यक्ष रौनियारको तर्क छ ।

उनका अनुसार अहिले पनि आउनु पर्ने दिन लगानीकर्ताको डिम्याटमा सेयर नआउने, खातामा पैसा नआउने समस्या कायम नै छ । यो समस्या तत्काल समाधान गर्न नियामक निकायले ध्यान दिनुपर्ने उनको तर्क छ । सिस्टममा बसेर काम गर्ने हो भने सोही अनुसार लाग्नुपर्ने उनको तर्क छ । उनले कुलिङ पिरियड तत्काल हटाउन माग समेत गरेका छन् ।

नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अहिले पनि सेयर बिक्री गरेपछि ४ दिनमा आउनु पर्ने पैसा १५ दिनसम्म पनि नआउने समस्या रहेको बताइन् । टी प्लस टूलाई तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने उनको माग छ । यो विषयमा बोर्डमा कुरा गर्दा प्रभावकारी रुपमा चासो दिन नसकेको उनको तर्क छ ।

अहिले पुँजी बजार बोरे युगबाट अनलाइनमा गयो भनिएपनि लगानीकर्ताले पूर्णरुपमा त्यो महसुस गर्न नपाएको गुनासो गर्दैै आएका छन् । बोर्डले ‘टी प्लस थ्री लागू गरेपनि लगानीकर्ताले सेयर र पैसा पाउन भने कैयन दिन लाग्ने गरेको लगानीकर्ताको गुनासो रहेको छ ।


क्लिकमान्डु