नेपालीहरु सोचेभन्दा धेरै धनी रहेछन्
कोरोना कहरले सबैभन्दा बढी असर पर्यटन क्षेत्रलाई गर्यो । होटल क्षेत्र त झनै नराम्रोसँग प्रभावित भएको बताइन्छ । कास्कीको रुपाकोट डाँडामा ‘वर्ल्ड क्लास’ रुपाकोट रिसोर्ट सञ्चालन गर्दै आएका पुष्प अधिकारी भने आशावादी छन् । खर्च गर्नसक्ने हैसियत उच्च भएका पर्यटकहरुलाई लक्षित गरी रिसोर्ट खोलेकाले विदेशी पर्यटक नै आफ्नो मूख्य ग्राहक हुन्छन् भन्ने उनलाई लागेको थियो । तर, पछिल्लो समय नेपालीले नै रिसोर्ट धानिरहेको देखेर नेपालीहरु सोचेभन्दा धेरै धनी रहेछन् भन्ने निष्कर्षमा पुगेका छन् उनी । रुपाकोटमा अन्य पर्यटकीय प्रडक्ट पनि थप्दै गरेका अधिकारीसँग क्लिकमाण्डूका लागि कमलकुमार बस्नेतले गरेको कुराकानीः
पोखरा नेपालको पर्यटनका लागि ‘हव’ नै हो । पछिल्लो समय तपाईं पोखरासँग नजिक पनि हुनुहुन्छ । अवस्था कस्तो छ ?
लकडाउनमा पोरखाको पर्यटन क्षेत्र ठप्प नै भयो । तर अहिले मानिसकरुपमा पर्यटन खुला गर्नका लागि शुरु भएको अवस्था छ । हालै स्ट्रिट फेस्टिवल पनि सम्पन्न भएको छ ।
कोरोना भाइरस र लकडाउनका कारण पर्यटन क्षेत्र सबैभन्दा ठूलो मारमा परेको छ । त्यसको प्रत्यक्ष असर होटल क्षेत्र परेको छ भनिन्छ । रुपाकोट रिसोर्ट चाहीँ कति प्रभावित भयो ?
लकडाउनका कारण पर्यटन क्षेत्रमा त ठूलो असर गर्यो । तर यसबीचमा हामीले एग्रो टुरिजमका हिसाबले आन्तरिकरुपमा कृषि उत्पादनमा बढी जोड दिने समय पनि पायौं । यसका कारण त्यति ठूलो असर गर्यो भन्ने छैन ।
अहिले व्यवसाय निकै राम्रो छ । खासगरी साउन महिनापछि जब सरकारले होटल आंशिकरुपमा खोल्न पाउने भन्ने सूचना पायौं । त्यसपछि तुलनात्मकरुपमा पहिलोको अवस्थामा त पुगेका छैनौं । तर राम्रो अवस्थामा पुगेका छौं । मंसिरपछिको व्यवसाय राम्रो छ ।
‘हाइक्लास टुरिस्ट’लाई लक्षित गरेर रिसोर्ट सञ्चालन गर्नु भएको थियो । अहिले त विदेशी पर्यटकहरु आइरहेका छैनन् । आन्तरिक पर्यटनले नै धान्न सक्ने अवस्थामा पुगेको हो ?
अहिले बाहिरबाट आउने पर्यटक छैनन् । केही भारतबाट आएका छन् भने नेपालमै बसोबास गर्ने विदेशीहरु भने उल्लेख्य मात्रामा आइरहेका छन् । जहाँसम्म आन्तरिक पर्यटकको कुरा छ । हामीले सोचेभन्दा धेरै धनी रहेछन् नेपालीहरु । विदा मनाउन युरोप, अमेरिका जाने वर्ग हाम्रो रिसोर्टमा आएका छन् । उनीहरुको खर्च गर्न सक्ने क्षमता राम्रो छ । शुरुमा हामीले लग्जरियस र राम्रो रिसोर्ट बनाउँछौं भनेर डलर बेस प्याकेज र हाइक्लास पर्यटक ल्याउनुपर्छ भन्ने मै थियो ।
मनै लोभ्याउने रुपाकोट रिसोर्टः भीआईपीको पहिलो रोजाइ, एक रात बस्न कति खर्च लाग्छ ?
तर, लकडाउनपछि आन्तरिक पर्यटन अझ राम्रो बनेको छ । लकडाउनपछिको फाइदा हामीलाई के भयो भने अब कोरोनाप्रतिको डर निकै कम भएको छ । यद्यपि कोभिडबाट बच्नका लागि सुरक्षाका सबै मापदण्ड पालना गरेका छौं ।
तर पनि मानिसहरुमा यात्रा गर्ने, खर्च गर्ने घुम्ने बानी बढेको छ । सबैलाई यो सुविधा नहोला तर हामी स्तो रिसोर्ट सहरबाट टाढा, मनमोहक दृश्य र राम्रो सुविधा दिनेहरुका लागि फाइदा पक्कै पनि भएको छ । हामीजस्ता आशावादी मान्छेले हरेक समस्याहरुमा अवसर खोज्छौं, यो विकल्प भएन भने अर्को विकल्प हुन्छ भन्ने धारणा राख्छौं । यही समयमा प्लान्टेसन बढाउने विषयमा, कृषि उत्पादन बढाउने कुरामा हामीलाई सहज भएको छ ।
पहिले विदेशी र स्वदेशी पर्यटक आधाजस्तो मात्रै हुन्थे । अहिले आन्तरिक पर्यटक नै बढी छन् । एनजीओ, आइएनजीओ, बैंक तथा अन्य संस्थामा काम गर्नेहरु नै बढीरहेका छन् ।
रुपाकोटको विशेषता के हो । र, मान्छेहरु किन आउने ?
पर्यटनमा लोकेसन निकै महत्वपूर्ण हुन्छ । यहाँबाट ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमालसँग अन्य हिमालहरु देख्न सकिन्छ । पोखराका चर्चित तालहरु रुपा र बेगनास यहाँबाट स्पष्टरुपमा देख्न सकिन्छ । हरियाली बन जंगल पनि देख्न पाइन्छ । धेरै मानिसहरुले यी प्रकृतिका दृश्यलाई हेर्न मन पराउँछन् । त्यसबाहेक हामीले जुन ग्रामीण क्षेत्रको जस्तो संरचना बनाएका छौं । यसले पनि ग्राहकहरुलाई आकर्षित गरेको हो भन्ने लाग्छ । हामीहरुले नेचर, लग्जरी र हेरिटेजलाई फ्युजन गरेका छौं । यही थिममा आधारित रहेर हामीले संरचना निर्माण गरेका छौं । ग्रामीण क्षेत्रमा पनि घरहरु धेरैजसो दक्षिततिर फर्केका हुन्छन् । यसको पनि आफ्नै महत्व हुन्छ । त्यसैले यी सबै कुरालाई ध्यानमा राखेर हामीले संरचना बनाएका छौं । र, यो मानिसहरुले धेरैले मन पराउनु भएको छ ।
अहिले हामीसँग ४२ वटा रुम छन् । २५ वटा रुप थपिँदैछन् । ६ वटा स्वीट रुप थपिँदैछन् । अझ बढी सुविधासम्पन्न रुम बन्दैछन् । बार र रेष्टुराँ पनि थपिँदैछन् । अहिले दोस्रो चरणको भवन निर्माणको काम चलिरहेको छ । यहाँबाट स्वीमिङ गदै हिमाल हेर्न सक्छौं । यहाँ आएर पर्यटकहरुले प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सक्नुहुन्छ । यसको सबैभन्दा ठूलो विशेषता भनेकै यही हो । तपाईंले एउटै कुर्सीमा बसेर दुई वटा ताल, हिमालको रेञ्ज र त्यही कुर्सीमा बसेर सुर्योदय र सुर्यास्त हेर्न सक्नुहुन्छ ।
विदेशीको भन्दा नेपाली पर्यटकलाई सस्तो छ कि छैन ?
पहिले नेपालमा चलेको डलर र नेपाली रेट चलन थियो । डलर केही महंगो हुने र नेपाली रेट सस्तो हुन्छ । तर हामीले भविष्यमा यसलाई पनि न्यून बनाउने तयारी छौं । जुन रेटमा नेपालीलाई बिक्री गर्छौ, त्यही रेटमा विदेशीलाई प्याकेज बिक्री गरेर हामीलाई घाटा हुँदैन भने किन बढी लिने भन्नेमा छौं ।
तपाईं युरोपमा रेष्टुराँ र होटल सञ्चालन गरेर नेपाल फर्कनु भएको एनआरएन पनि । त्यहाँ र यहाँ के फरक रहेछ ?
व्यापारिक दृष्टिकोणले, खासगरी पैसा, ह्यासल र प्रक्रियागत हिसाबले म बसेको ठाउँ बेल्जियम धेरै सहज थियो । सबै नगदमा कारोबार हुन्थ्यो । बिजनेस सफल भयो भने धेरै अप्ठ्यारा हुन्थेन । तर यहाँ त नीति नियम कानून नै अलिक गाह्रो छ । नियम कानूनहरु परिवर्तन भइरहने र एक अर्कोमा बँझिने खालका छन् । तर यहाँ जुन अपनत्व भावनाको विकास हुन्छ त्यो निकै राम्रो छ । यहाँ राष्ट्रियताको भावना यहाँ निकै राम्रो छ ।
स्वीङ र ओल्ड भिलेज पनि बनाइरहनु भएको छ । यी दुई पर्यटकीय प्रोडक्टले पर्यटनमा कस्तो योगदान दिन्छन् ?
लकडाउन जस्तो संकटको समयमा हामीले पिङ (स्वीङ) शुरुवात गर्ने योजना बनाएका छौं । त्यसका लागि २० रोपनी जग्गा पनि लियौं । मेरा २ वटा छोरासँग बसेर छलफल गर्दा पिङ बनाउने योजना बनायौं । अहिले हामीले इन्डोनेसियाको बालीलगायतका स्थानमा गुलेली आकारको पिङमा मानिसहरुको आकर्षण देखेपछि त्यसमा काम गर्ने योजना बनाएका छौं । त्यसका साथै त्यसमा कृतिम झरना, स्वीमिङ पुल पनि बनाउने योजन बनाएका छौं । र, यसका लागि काम पनि शुरु भइसकेको छ । त्यसमा फूडकोर्ट पनि बनाउने योजना बनाएका छौं ।
त्यसका साथै बालबालिका रमाउनका लागि मिनि फन फार्क जस्तो बनाउने योजना बनाएका छौं । त्यसका लागि इन्भेस्टमेन्ट बैंकले १० करोड रुपैयाँ ऋण पनि दिएको छ । र, यो आगामी बैशाखसम्म पूरा गर्ने योजन बनाएका छौं । तर अहिले निर्माण सामग्रीको अभावले केही समय पर सर्न सक्छ । पिङ खेल्दा उनीहरुले हिमालको दृश्यसँगै तालहरुको पनि हेर्न पाउँछन् ।
रुपाकोटमा यस्तो बन्दैछ १८औं शताब्दीको जीवनशैली अनुभव गर्न पाइने ‘ओल्ड भिलेज’ (भिडियोसहित)
त्यसबाहेक ओल्ड भिलेजको अवधारणा पनि छ । त्यो रुपाकोट रिसोर्टभन्दा अगाडिको सोच हो । रुपाकोटमा पर्यटकीय हव बनाउनका लागि रिसोर्ट मात्रै पर्याप्त हुँदैन भन्ने हिसाबले ओल्ड भिलेज बनाउने निर्माण गर्ने सोच बनाएका थियौं । त्यसका लागि बैंकहरुसँग पनि, एनआरएनका साथीहरुलाई पनि भनेको थिए । त्यसमा सबैले रुचि देखाउने तर लगानी आएन । त्यसमा हामीले पाँच तारे रिसोर्ट पनि बनाउने योजना बनाएका छौं ।
तर अहिले ओल्ड भिलेजको काम शुरु भएको छ । जसमा १८औं शताब्दीको ग्रामीण क्षेत्रमा भएको संरचना नै निर्माण गर्ने हो । त्यहाँ हामीले परम्परागत हस्तकलाको स्वरुप देखाउँछौं । त्यहाँ विजुली र सिमेन्टको प्रयोग गर्दैनौं । त्यहाँ मादल बनाउने कारखाना हुन्छ, फलाम कुट्ने आरन पनि हुन्छ । मानिसहरुले १८औं शताब्दीको ग्रामीण क्षेत्रको झझल्को दिने गरी बनाउँछौं । ओल्ड भिलेजलाई केस स्टडीसमेत गर्न मिल्ने अवधारणाका आधारमा काम गर्छौ । यसका लागि ७३ रोपनी जग्गा छ । काम शुरु भइसकेको छ । यसका लागि २० करोड रुपैयाँ बैंकले दिन्छ । बैंकबाट ऋण स्वीकृत भइसकेको छ । ओल्ड भिलेज हामीले छिटोमा १ वर्ष र ढिलोमा डेढ वर्षमा पूरा गर्ने लक्ष्य लिएका छौं ।
रुपकोट रिसोर्ट र ओल्ड भिलेजबीचको दूरी १ हजार मिटरको छ । र, यही बीचमा हामीले १ हजार वर्ष अगाडिको संरचना कस्तो थियो भन्ने हिसाबले हामीले संरचना तयार पार्ने योजना बनाएका छौं । जुन बेलामा बिजुली थिएन, सिमेन्ट थिएन त्यो समयमा पनि त मानिसहरुले ढिँकी र जाँतोको प्रयोग हुन्थ्यो । कोलबाट पेलेर तेल निकाल्थे । जनावरको छालाबाट सामग्री बनाउँथे, माडाका भाँडा बनाउँथे । त्यही कुरा हामीले ओल्ड भिलेजमा गर्दैछौं । यसमा अहिले खेति गर्न छाडेको बाँझो जग्गामा हामीले ओल्ड भिलेजका नाममा १८औं शताब्दीको झझल्को दिने गरी गाउँ नै स्थापना गर्ने हो । ओल्डी भिलेजले त नेपालकै पर्यटनमा उल्लेखनीय योगदान दिन्छ ।
कोरोनापछि राज्यले विभिन्न सहुलियत घोषणा गरेको थियो । राज्यले घोषणा गरेको राहतले कतिको सहज वातावरण बनाइदियो ?
मैले अहिले ऋण लिएको सरकारी बैंकबाट हो । सरकारी बैंक भएकाले पनि केही सहज भएको छ । साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा हामीले केही सहज भएको अनुभूति गर्यौं । व्यापार राम्रो नहुँदासम्म बैंकको ऋण तिर्नु पर्दैन । त्यसैले पनि अहिलेलाई समस्या छैन ।