भन्सार विभागको फष्ट सेक्सनबाटै १४ कार्यालयको अनुगमन, गुणस्तर मापन गर्ने अत्याधुनिक प्रयोगशाला



काठमाडौं । भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ ।

विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत् अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ ।

भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा) द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ ।

आशिकुडा वल्र्ड सिष्टममा सञ्चालित यस्तो अनुगमन प्रणाली अहिले २४ वटा भन्सार कार्यालयहरूमा लागू भइसकेको छ ।

भन्सार विभागले नयाँ प्रविधिहरूको प्रयोग गर्दै भन्सार प्रणालीलाई अझ बढी पारदर्शी बनाउने जमर्को गरिरहेको छ ।

यसबारे आफ्नो योजना प्रस्तुत गर्दै विभागका महानिर्देशक सुमन दाहालले नवीनतम प्रविधिको प्रयोगद्वारा भन्सार कार्यालयहरूलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधै हाम्रो प्राथमिकतामा रहेको बताए ।

‘व्यापार, पारवहान र अन्य लजिष्टिक सेवा सहितलाई राष्ट्रिय एक द्वार प्रणाली लागू गरेर डिजिटलाइज गर्ने हो भने भन्सार विन्दुमा हुने सम्पूर्ण कामहरू अझ छिटो, कम खर्चिलो र निकै पारदर्शी बन्न सक्छ,’ उनले भने ।

विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने दाहालले बताए ।

‘गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटियो,’ उनले भने ‘यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलिरहेको छ ।’

परीक्षणका क्रममा साढे दुई किलो सुन पाइएको दाहालले बताए । तस्करीहरूले नसोचेको तरिकाले सुन ल्याएका पाइएको बताए । ती व्यक्तिले ७५० मिलिलिटरका ३ वटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याएका थिए ।

विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका लागेका कारण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो ।

भन्सार विभागका हालै स्थापित केन्द्र्रीय अनुगमन इकाइ र अत्याधुनिक उपकरण जडित प्रयोगशालाको अवलोकन गर्न भन्सार विभाग पुगेको पत्रकार टोलीसँग भएको अन्तरक्रियामा विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले अहिले भन्सार विभागको काम भनेको राजस्व संकलनमात्र विश्वलाई नियाल्ने ऐनाको रुपमा लिनुपर्ने बताए ।


पुष्प दुलाल