ऋणीको व्यावसायिक योजना कमजोर हुँदा २ वर्षमा ७७ जना ऋणीले मात्र पाए प्रमाण पत्र धितोमा कर्जा



काठमाडौं । राष्ट्र बैंकले शैक्षिक प्रमाण प्रत्र धितोमा ब्याज अनुदान सहुलियत पूर्ण कर्जा दिने व्यवस्था गरेको २ वर्ष बढी भइ सकेको छ । तर यसअवधिमा ७७ जना युवाले मात्र शैक्षिक प्रमाण पत्रको धितो राखेर कर्जा पाएका छन् ।

सरकारको निर्देशनमा राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि जारी गरेको थियो । जसमा तोकिएको मापदण्ड पुरा गरेका स्वरोजगार हुन चाहने शिक्षित युवालाई शैक्षिक प्रमाणपत्र धितोमा ब्याज अनुदान बैंक तथा वित्तीय संस्थाले ऋण दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

तर २ वर्षको अवधिमा फाइनान्स कम्पनी र लघुवित्त संस्थाले राष्ट्र बैंकको निर्देशनअनुसार काम नै गरेका छैनन् । राष्ट्र बैंकद्वारा प्राप्त तथ्यांक अनुसार २०७७ काक्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ६८ जना युवालाई र विकास बैंकहरुले ९ जना युवालाई ४ करोड ५७ लाख ४० रुपैयाँ दिएका छन् । जसमा ४ करोड ८ लाख २८ कजार रुपैयाँ बक्यौता भुक्तानी छ । गत असार मसान्तमा ६५ जनाले शैक्षिक प्रमाणपत्र धितोमा कर्जा लिएका थिए ।

हालसम्म फाइनान्स कम्पनी र लघुवित्त संस्थाले शैक्षिक प्रमाण पत्रको धितोमा कर्जा प्रवाह नगरेको राष्ट्र बैंकले बताएको छ ।

वाणिज्य बैंकहरुबाट काक्तिक मसान्तसम्म ६८ जनालाई ३ करोड ९४ लाख ४० हजार रुपैयाँ शैक्षिक प्रमाण पत्र धितोमा कर्जा दिएको छ । जसमा ३ करोड ५० लाख ७५ हजार रुपैयाँ कर्जा भुक्तानी बाँकी छ । साथै विकास बैंकहरुले ९ जना युवालाई काक्तिक मसान्तसम्म ६३ लाख रुपैयाँ शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत पुर्ण कर्जा दिएका छन् । जसमा ५७ लाख ५३ हजार रुपैयाँ भुक्तानी बक्यौता छ ।

ब्याज अनुदानमा शैक्षिक प्रमाण पत्र धितो राखी सहुलियत पुर्ण कर्जा लिने व्यवस्था भएपछि धेरै शिक्षित बेरोजगार युवाहरु उद्यामी तथा स्वरोजगार हुन उत्साहित थिए । तर बैंक तथा वित्तीय संस्थामा कर्जाको आवेदन दिँदा उचित कारण सहितको प्रस्ताव नहुँदा कर्जा स्वीकृत नभएको राष्ट्र बैंकका सह– प्रवक्ता नारायण प्रसाद पोख्ररेलले बताए ।

‘प्रमाण पत्र धितोमा कर्जा बैंकले दिन्छ भन्दैमा युवाले उचित प्रपोजल बिना नै कर्जाको आवेदन दिने गरिरहेका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘धितो बिना दिइने कर्जाको विस्वसनीयता बैंकले खोज्नु आवश्यक छ, युवाले ल्याएको प्रपोजलमा बैंक विश्वस्त भएन भने कर्जा दिँदैन ।’

बेरोजगार शिक्षित युवाले आफ्नो परियोजनाको उचित प्रस्ताव बैंकमा पेश गरेमा बैंकले सहजै कर्जा दिने उनको भनाइ छ ।

सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत पुर्ण कर्जा कार्यविधिको दोस्रो संशोधन गरी मान्यता प्राप्त शैक्षिक संस्थाबाट माध्यामिक शिक्षा वा सो सरह उत्तीर्ण गरी ४० वर्ष उमेर ननाघेका युवालाई शैक्षिक प्रमाणपत्र धितोमा कर्जा दिने व्यवस्था गरेको थियो ।

सो व्यवस्था अनुसार योग्यता पुगेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म कर्जा दिनु पर्ने निर्देशन राष्ट्र बैंकको छ । युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर यो कर्जा पाइन्छ भन्दैमा त्यसको दुरुपयोग गर्न अग्रसर भएको बैंकरले बताए ।

‘बैंकले ७ लाख रुपैयाँसम्म कर्जा प्रमाणपत्र धितो राखेर दिन्छ भनेपछि केही युवाहरु आफ्नो व्यक्तिगत आवश्यकताको लागि समेत कर्जा माग्न आउछन्,’ ती बैंकरले क्लिकमाण्डूसँग भने, ‘परिवारको सहमति बिना नै आफुखुसी बैदेशिक रोजगारमा जानुदेखि मोटरसाइकल, स्कुटर खरिद गर्न, साथीभाइसँग लिएको सापटी तिर्न समेत पनि प्रमाणपत्र लिएर धितोमा कर्जा माग गरेको भेटिएको छ ।’

प्रमाणपत्र धितोमा ब्याज अनुदानमा बैंकलाई कर्जा दिन कुनै समस्या नभएपनि कर्जाको आवेदनमा व्यावसायिक योजनाको लागि विश्वास गर्ने आधार भने न्यून हुने हूँदा सो शिर्षकमा बैंकहरुबाट थोरै ऋण प्रवाह भएको ती बैंकरले बताए ।


क्लिकमान्डु