नविल बैंकले कस्लाई गाभ्दैछ ?



काठमाडौं । लामो समयदेखि नम्बर वानको विरासत बनाउन सफल नविल बैंकले बुधबार साधारणसभासम्बन्धी सार्वजनिक सूचना निकाल्दै मर्ज, एक्वायर वा विदेशी साझेदारी भित्र्याउने विषयमा निर्णय गर्ने अधिकारी सञ्चालक समितिलाई दिने प्रस्ताव गरेको छ ।

यसरी मर्ज तथा एक्वायरको ढोका खुल्ला गर्ने सायद नविल अन्तिम वाणिज्य बैंक हो । एक/डेढ वर्षअघि नै अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले मर्ज तथा एक्वयारको ढोका साधारणसभामार्फत् खुल्ला गरिसकेका छन् ।

राष्ट्र बैंकले मर्जरको नीति ल्याएर बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दवाव दिइरहेका बेला समेत नविल चुपचाप बसेको थियो । नविल मर्जर तथा एक्वायरमा नगई रणनीतिमा थियो ।

तर पछिल्लो समय मर्जरमा भएका संस्थाहरुले जित्न थालेपछि र हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम तयारीमा जुटेपछि नविले पनि आफ्नो रणनीति परिवर्तन गरेको छ । नविल अब मर्ज तथा एक्वयारमा जाने भएको छ ।

त्यसोभए नविलले कस्लाई गाभ्दैछ त ? यो वित्तीय बजारको ठूलो चासोको विषय हो ।

नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

नविल बैंकसँग मर्जरको हल्लाले केहीदिन यता नेपाल स्टक एक्सचेञ्जमा एनसीसी बैंकको बजार मूल्य निरन्तर बढिरहेको छ । तर, यो हल्ला नविलले नभई एनसीसी बैंकका केही सेयरधनीले चलाएको बताइन्छ ।

यद्यपि नविल र एनसीसी बैंकबीच मर्जरको सामान्य छलफल भएको भने सत्य हो । यी दुई बैंकबीच सेयर आदान-प्रदान अनुपात (स्वाप रेसियो)मा मोलमोलाई समेत भइसकेको छ । तर त्यसपछि कुराकानी अघि बढ्न सकिरहेको छैन ।

नविल बैंकको रोजाई एनसीसीभन्दा अरु नै बैंक हुन् । तर एनसीसीको पहिलो रोजाईचाहीँ नविल नै हो ।

नविलका लगानीकर्ताहरु भने निकै सस्तोमा पाए मात्रै एनसीसी बैंक एक्वायर गर्ने रणनीतिमा छन् । एनसीसी चाहीँ नविलबाट जतिसक्दो बढी मूल्य पाए हुन्थ्यो भन्ने पक्षमा छ ।

नविल बैंकले सिद्धार्थ र मेगा बैंकसँग पनि मर्जरको कुराकानी गरिरहेको छ । कुराकानी भए पनि सिद्धार्थको तुलनामा मेगा र नविलको मर्जर धेरै जटिल देखिन्छ ।

‘मेगामा सयौं संस्थापक सेयरधनी छन्, नविलमा चौधरी ग्रुप एक्लैको बहुमत सेयर छ, लगानीकर्ताहरुको काम गर्ने कल्चर पनि धेरै नै फरक छ,’ स्रोतले भन्यो, ‘त्यसैले मेगासँगको मर्जर निकै कठिन छ ।’

सिद्धार्थ बैंकसँगको मर्जरको प्रारम्भिक छलफल भने सकरात्मक दिशामा अघि बढिरहेको स्रोतको दाबी छ ।

‘बजारमा एनसीसीसँगको हल्ला चले पनि सकरात्मक कुराकानी भने सिद्धार्थसँग भइरहेको छ,’ स्रोतले भन्यो, ‘तर अहिलेसम्म भएको कुराकानी अत्यन्तै प्रारम्भिक हो ।’

सिद्धार्थ बैंकमा माडबारी समूदायको ठूलो लगानी छ । मनोज केडिया बैंकको अध्यक्ष छन् । नविलमा चौधरी ग्रुपको ५० प्रतिशतभन्दा बढी लगानी छ ।

केहीदिन अघि क्लिकमाण्डूसँगको विशेष कुराकानीमा विनोद चौधरीले नविलले मर्जर भन्दा पनि एक्वायरमा बढी जोड दिने बताएका थिए । त्यसका लागि उपयुक्त संस्थाहरुको अध्ययन तथा विश्लेषण भइरहेको पनि चौधरीले बताएका थिए ।

सिद्धार्थ बैंकले थाहा नपाउँदो तरिकाले आफूलाई निकै बलियो बनाउँदै लगेको छ । मेगा र एनसीसीसँग भन्दा नविलको धेरै कुरा सिद्धार्थसँग मिल्छ ।

‘भाउ मिल्यो भने नविलका लागि सिद्धार्थ धेरै हिसाबले उपयुक्त छ,’ स्रोतले भन्यो ।

त्यसो त नविल बैंकको व्यवस्थापनले कुन बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्दा के फाइदा हुन्छ भन्ने विश्लेषणसहितको प्रतिवेदन सञ्चालक समिति समक्ष पेश गरिसकेको छ । सोही प्रतिवेदनलाई आधार मानेर नविलका लगानीकर्ताहरुले उपयुक्त देखिएका विभिन्न संस्थाहरुसँग कुराकानी गरिरहेका छन् ।

नविलले वाणिज्य बैंक मात्रै होइन, विकास बैंक पनि हेरिरहेको छ । मर्ज गर्ने विषय आफ्नो नभएर लगानीकर्ताको भएको नविल बैंकका सीइओ अनिल शाह बताउँछन् ।

‘साधारणसभामा मर्जर तथा एक्वायरको प्रस्ताव पहिलोपटक लैजादै छौं, यो भनेको अव नविल बैंक मर्जर, एक्वायर तथा विदेशी लगानी भित्र्याउन लागि परेको छ भनेर बुझ्दा हुन्छ,’ शाहले भने, ‘व्यवस्थापनले कुन बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर कस्तो के कस्तो फाइदा हुन्छ भनेर सञ्चालक समितिमा प्रतिवेदन पेश गरिसकेका छौं । कुनसँग गर्ने भन्ने अधिकार सञ्चालक समिति र साधारणसभालाई छ ।’

तर, पछिल्लो समय आधादर्जन बैंक तथा वित्तीय संस्थासँग नविलले मर्जरको सामान्य छलफल अघि बढाएको उनले जानकारी दिए ।

‘हाम्रा लगानीकर्ताहरुले आधा दर्जन संस्थासँग छलफल गरिरहनु भएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘कुनै पनि संस्थासँग कंक्रिट निष्कर्शमा पुगेको छैन ।’

नविल बैंकमा बहुमत सेयर नेपालको प्रतिष्ठत व्यापारिक घराना चौधरी ग्रुपको भएकाले यो ग्रुपले अल्पकालीन भन्दा पनि दीर्घकालीन फाइदा हेरेर निर्णय लिनेमा आफू ढुक्क भएको उनले जानकारी दिए ।

‘चौधरी ग्रुपले अल्पकालीन फाइदा हेर्दैन, सिस्टमको फाइदा र दीर्घकालीन फाइदा हेर्छ,’ उनले भने, ‘जे होस् यो पटक मर्जर, एक्वायर वा विदेशी साझेदारी भित्र्याउने विषयलाई गंभीरतापूर्वक अघि बढाइने छ ।’


पुष्प दुलाल