कोभिडबाट समस्यामा परेको अर्थतन्त्रलाई विप्रेषणको भर, ४ महिनामा ३ खर्ब ३७ अर्ब भित्रियो



काठमाडौं । कोभिड १९ को कारण घट्ने अनुमान गरिएको विप्रेक्षणले नेपालको अर्थतन्त्रलाई थेग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
विप्रेषण बढेको तथा आयात घटेको र निर्यात बढेको कारण देशबाट बाहिरिने भन्दा भित्रने रकम बढी भएपछि शोधानान्तर समेत बचतमा गएको छ ।
४ महिनामा ४० अर्ब रुपैयाँको निर्यात भएको छ भने ४ खर्ब २ अर्ब रुपैयाँको आयात भएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा १ खर्ब १० अर्ब रुपैयाँले बचतमा गएको छ । अघिल्लो वर्ष २७ अर्बले बचतमा थियो ।

नेपालमा भित्रने रकम बढ्दै जादा चालु खाता २० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।

अवधिमा पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई रु.४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई ३ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको थियो ।

शोधानान्तर बचतमा गएसँगै देशको विदेशी विमिय सञ्चिति समेत बढेको छ ।

२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा १५०६ अर्ब ६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १३३२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा १.० प्रतिशतले कमी आई १७३ अर्ब ९९ करोड कायम भएकोछ । २०७७ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४०.० प्रतिशत, ११६.३ प्रतिशत र ३३.४ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।


क्लिकमान्डु