माउण्टेन फ्लाइटबाट सगरमाथासहित २ दर्जन हिमालको फन्को लगाउँदा… (तस्वीरसहित)



काठमाडौं । कोरोना महामारीबाट शिथिल भएको एभिएसन सेक्टरलाई रिभाइभ गराउनका लागि गत सेप्टेम्बरमा सिंगापुरका केही एयरलाइन्स कम्पनीहरुले ‘फ्लाइट्स टु नो वेयर’को अभियान चलाए ।

त्यसको अवधारणा के थियो भने, लामो समयदेखि कोरोनाको डरले घरभित्रै गुम्सिएर घुम्न नपाएकाहरु बाहिर निस्किउनु र सामान्य अवस्थामा फर्कन सकुन् । जहाँ एयरलाइन्स कम्पनीहरुले टेकअफ र ल्याण्ड एकैठाउँमा गर्ने तर केही समय हवाईमार्गमा यात्रा गराउँदै मनोरञ्जन दिलाउने योजना बनाएका थिए ।

यो मामिलामा हामी नेपालीहरु निकै भाग्यमानी छौं । हामी ‘टेकअफ र ल्याण्ड’ एकैठाउँ त गर्छौ तर यसबीचमा लाङटाङदेखि सर्वोच्च शिखर माउण्ट सगरमाथालाई नजिकबाट नियाल्ने अवसर पनि पाउँछौं ।

अब आउँनुहोस्, यति एयरलाइन्सको विमानबाट २ दर्जनबढी हिमश्रृंखलालाई नजिकबाट नियालौं ।

गत शनिबार । बिहान साढे ६ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पुग्यौं ।

उदाउँदो सूर्यका किरणहरु सेताम्मे हिमालमा पर्दै गरेको मनोरम दृश्य हेर्न मानिसहरु विमानस्थल पुगिसकेका थिए । शनिबार यति एयरलाइन्सले मात्रै ३ वटा फ्लाइट गर्दै थियो ।

विमानस्थलमा बोर्डिङ पास लिएर हामी गाडी चढेर पार्किङस्थल पुग्यौं । त्यहाँ यति एयरलाइन्सको एटीआर–७२ विमान र क्रु मेम्बरहरु हामीलाई स्वागत गर्न तम्तयार थिए । साढे ७ बजेतिर एटीआर–७२ विमानले बौद्धमाथिको आकाशहुँदै २२ हजार फिटको उचाइ लियो । उचाइ लिँदै गर्दा पारीपट्टी देखिने हिमश्रृंखलाको रेञ्ज र विमानमुनीको पहाडलाई छप्पकै छोपेको कुहिरोको दृश्य निकै लोभलाग्दो थियो ।

विमान परिचारिकाले उद्घोष गर्दै केही जानकारी दिन थालिन् । यतिभन्दा भन्दै आँखै अगाडि लाङटाङ हिमश्रृंखलाहरुको दृश्य आइपुग्यो ।

विमान परिचारिकाले हिमश्रृंखलाको रेञ्ज भएको क्याटलग सबै यात्रुलाई दिँदै उद्घोष गरिन्, ‘यात्रुमानुभावहरु यतिबेला हामी लाङटाङ हिमालको नजिक आइपुगेका छौं, जाने बेलामा बाँयातर्फबाट र फर्कने बेलामा दाँयातर्फबाट हिमश्रृंखलाहरुको दृश्य अवलोकन गर्न सक्नुहुन्छ ।’

विमान परिचारिकाले यति भनिसक्दा बाँयातर्फ रहेका यात्रुहरुले झ्यालबाट लाङटाङको दृश्य आँखामा कैद गरिसकेका थिए । त्यसपछि हामी सिसा पाङमा, दोर्जे लाक्पा, फुर्बी ग्याङचुहुँदै गौरिशंकर हिमालको रेञ्जमा पुग्यौं । हामी हातमा रहेको क्याटलग हेर्दै झ्याल बाहिरको हिमाल चिन्दै गयौं ।

घडीमा बिहानको ८ बज्दै थियो । विमानबाट सूर्यको किरण हिमालको पर्दा देखिने सु्नौलो र चित्ताकर्षक दृश्यले सबैको मन प्रफुल्लित बनाइसकेको थियो । यात्रुहरु खल्तीमा रहेको मोबाइल र क्यामरा झिकेर सम्झनाका लागि दृश्यलाई कैद गर्न थालिसकेका थिए ।

साथमा हरेक हिमालबारे विमान परिचारिकाले जानकारी दिन्थे भने यात्रुहरु क्याटलगमा भएको हिमालको तस्बिरसँग आँखै अगाडिको हिमाललाई दाँजेर हिमाल ठम्याउँदै गफ गर्दै थिए ।

तस्बिर कैद गर्दैगर्दा होली हिमालका नामले परिचित गौरीशंकर हिमाल आँखै अगाडि आइपुग्यो । ७ हजार १३४ मिटर उचाइ भएको गैरीशंकर हिमाल हिन्दु देवता गौरी र शंकरको नामबाट राखिएको हो । यो हिमाल चढ्नका लागि हाललाई अनुमति छैन ।

सन् १९५० र १९६० मा एक पटक खुला गरिए पनि आरोहरण असफल भएपछि त्यसयता खुला गरिएको छैन । त्यसैले यो हिमाललाई धर्मालम्बीहरुले आस्थाको केन्द्र पनि मान्दै आएका छन् । गौरी शंकरको दर्शन गर्दै विमान अगाडि बढ्यो ।

साना १० वटाभन्दा बढी हिमाललाई समानान्तर नजरले आँखा दौडाएपछि आइपुग्यो विश्वको सर्वोच्च शिखर माउण्ट सगरमाथा ।

माउण्टेन फ्लाइटमा सबैभन्दा बढी आकर्षकण केन्द्र बनेको माउण्ट सगरमाथालाई नियाल्न पाउनु आफैमा महत्वपूर्ण कुरा हो । सगरमाथा पछिल्लो समय यसको नयाँ उचाइले संसारभर चर्चित छ ।

पछिल्लो समय नेपाल र चीन सरकारका प्रतिनिधिमण्डलले गरेको छुट्टछुट्टै सर्वेक्षणले सगरमाथाको उचाइ पहिलेभन्दा ८६ सेन्टिमिटर बढेको नयाँ तथ्य पत्ता लगाएपछि यसको चर्चा अझ बढी चुलिएको छ ।

सगरमाथा देख्ने वित्तिकै परिचारिकाले सगरमाथा चिनाउँदै ‘सगरमाथासँग सेल्फी’ लिन आग्रह गरिन । सबैले मोबाइललाई सेल्फी मोडमा राखेर धमाधम फोटो खिच्न थाले । फोटो खिँदै सगरमाथाबारे यात्रुहरुले गरेको कुराकानीमा सगरमाथा हेर्न पाउँदाको रमाइलो प्रष्ट देखिन्थ्यो ।

सगरमाथालाई नियाल्दै गर्दा छेउमै रहेको अर्को मकालु हिमालको दर्शन गरिहालियो । माउण्टेन फ्लाइटमा मकालु सबैभन्दा अन्तिममा देखिने हिमाल हो । त्यसपछि विमानले यूटर्न लियो र सगरमाथालगायतका हिमालको अझ नजिक पुग्यो ।

यतिबेलासम्म बाँयातर्फ रहेका यात्रुले हिमाल हेरिरहेका थिए भने अब भने त्यो पालो दाँयातर्फ रहेका यात्रुको पालो थियो । मकालु र समगरमाथालाई निक्कै नजिकबाट हेर्न पाउँदा यात्रुहरु निकै खुसी भए ।

सगरमाथासँगै आमादब्लम, लोत्से, नुप्से, चाम्लाङ हिमाल निकै नजिकबाट देखियो । प्रष्टसँग हिमालको सुन्दरता आँखै अगाडि देख्दा यात्रु खुसी भएको उनीहरुको बोली र अनुहारमा झल्कन्थ्यो ।

करिब ४५ मिनेटको हिमश्रृंखलाहरुसँग साक्षात्कार गरेपछि विमान पुनः विमानस्थलमै फर्कियो । यात्रुले माउन्टेन फ्लाइट चढेको यति एयरलाइन्सबाट प्रमाणपत्र लिए । केही थान सेल्फी लिए र प्रफुल्ल मन लिएर आ–आफ्नो गन्तव्यतर्फ लागे ।


क्लिकमान्डु