भण्डारण गर्ने स्थान छैन जि टु जि को तयारी, कसरी पाउलान् नेपालीले कोरोना विरुद्धको खोप ?



काठमाडौं । कोरोनाको खोप भण्डारण गर्ने क्षमता विस्तामार ध्यान दिन नसकेको सरकारले सरकारी स्तरमा नै खोप ल्याउने तयारी थालेको छ । त्यसलाई उसले जि टु जि को नाम दिएको छ । विगतमा कोरोना परिक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदमा जि टु जि प्रक्रिया अवलम्बन गर्दा चरम भ्रष्टाचार भएको भन्दै आएका समाचार र तथ्यलाई सरकारले पुनः नजरअन्दाज गर्न थालेको छ ।

कोरोनाको परिक्षणका लागि ल्याइएको स्वास्थ्य सामग्रीमा भएको अनियमितता छानबनिका लागि संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाइसकेको सन्दर्भमा पुनः सरकारी स्तरमा नै खोप ल्याउने तयारी थालिएको छ ।

कोरोना परिक्षणमा लागि ल्याइएका स्वास्थ्य सामग्रीमा गरिएको भ्रष्टाचारले सरकारको साख गिराएको अवस्थामा पुनः खोपमा पनि भ्रष्टाचार हुने आशंका बढेको छ । कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउने भन्दै तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो ।

पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथौ नेपालको औषधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

अहिले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता भएको, त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र औषधि विभागमा दर्ता भएपछि नेपालमा ल्याएर लगाउन मिल्ने छ ।

सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन गरी जारी गरेको छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार अध्यादेशअनुसार कोभिड–१९ विरुद्धको खोप डब्लुएचओले सूचीकृत नगरे पनि नेपालमा ल्याएर नागरिकलाई दिन सकिने बताए ।

अहिलेसम्म डब्लुएचओले कोभिड–१९ विरुद्ध बनेका कुनै पनि खोपलाई सूचीकृत र आकस्मिक प्रयोगका लागि सूचीकृत गरेको छैन । त्यही भएर नेपालले कोभिड–१९ विरुद्ध उत्पादन गरेको मुलुकको नियमनकारी निकायमा दर्ता र त्यहाँका नागरिकलाई लगाएको आधार तथा नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको अवस्थामा यहाँका नागरिकलाई खोप दिनेछ ।

अहिले कोभिड–१९ विरुद्धको खोप फाइजर एण्ड बायोएनटेक, मोडेर्ना, अक्सफोर्ड–एस्ट्राजेनेका, ‘स्पुतनिक–भी’ र ग्यामेलिया तथा ‘साइनोभ्याक्स का खोप अहिले अन्तिम परीक्षणमा छन् । सम्बन्धित खोप उत्पादक देशमा त ती खोप समेत प्रयोग शुरु भइसकेको छ ।

खोप शाखाका निर्देशक डा गौतमका अनुसार अहिले फाइजर र मोडेर्ना कम्पनीका खोप मात्र उत्पादन गरेका मुलुकमा दर्ता भई त्यहाँका नागरिकले लगाएका छन् । दुवै अमेरिकी कम्पनी हुन् ।

सम्बन्धित देशमा दर्ता र नागरिकलाई लगाएका खोप डब्लुएचओमा सूचीकृत नभए पनि हालै जारी गरिएको औषधि ऐन–२०३५ अध्यादेशअनुसार नेपालमा दर्ता गर्न सकिने व्यवस्था छ ।

अक्सफोर्ड–एस्ट्राजेनेका कम्पनीले बनाएको खोप २ देखि ८ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले उपयुक्त हुन्छ । माइनस २० डिग्री सेल्सियस तापक्रममा रहने मोडेर्नालाई पनि एक महिनासम्म २ देखि ८ डिग्री सेल्सियसमा राखेर प्रयोगमा ल्याउन सकिने शाखाका निर्देशक डा गौतमको भनाइ छ । उनले अहिले तत्काल नेपालका लागि अक्सफोर्ड– एस्ट्राजेनेका र मोडेर्ना कम्पनीका खोप मात्र उपयुक्त रहेको बताए ।

खोप शाखाले ‘कोभ्याक्स सुविधा’ मार्फत ल्याउन खोपको भण्डारणका लागि तयारी थालेको छ । शाखाका निर्देशक डा गौतमका अनुसार अहिले १ लाख ९० हजार लिटर क्षमता राख्न सकिने भण्डारण रहेको बताए ।

‘अहिले हामीसँग पहिलो चरणका तीन प्रतिशत जनसङ्ख्यालाई लगाउने खोपको भण्डारण क्षमता रहेको छ’ उनले भने ‘ चाँडै नै २० प्रतिशत जनसङ्ख्यालाई पु¥याउने खोप भण्डारण क्षमता बढाउने तयारीमा रहेका छौँ ।’ कोभ्याक्स सुविधामार्फत कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने खोप ल्याउने तयारीमा सरकार रहेको छ ।


पुष्प दुलाल