व्यवसाय विस्तारमा एनआइसी एशिया झनै आक्रमक, पछिपछि प्रभु, कुन बैंकको कति ?



काठमाडौं । व्यवसाय विस्तारमा एनआइसी एशिया बैंक झनै आक्रमक देखिएको छ । कोरोना कहरको अवस्थामा पनि एनआइसी एशिया बैंकले सबैभन्दा बढी निक्षेप संकलन र कर्जा प्रवाह गरेको छ ।

एनआईसी एशिया बैंकले ५ महिना साउनदेखि मंसिरसम्ममा ६४ अर्ब ६२ करोड रुपैयाँले निक्षेप बढाएको छ । यस्तै कर्जा ४८ अर्ब ८३ रुपैयाँ बढाएको छ ।

असार मसान्तमा पहिलो र दोस्रो स्थानमा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकलाई पछाडि पारेर बैंक निक्षेपको आधारमा पहिलो स्थानमा पुगेको छ ।

एनआईसी एशियासँग मंसिर २६ गतेसम्ममा २ खर्ब ७५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप रहेको छ । जुन वाणिज्य बैंकमा सबैभन्दा बढी हो । एनआईसी एशिया बैंकले सो अवधीमा २ खर्ब २२ अर्ब ५७ करोड रुपैयाँ ऋण दिएको छ । ऋण प्रवाहमासमेत सबैभन्दा बढी गर्नेमा एनआईसी एशिया बैंक रहेको छ ।

५ महिनामा २७ वटा वाणिज्य बैंकको निक्षेप २ खर्ब ३ अर्ब रुपैयाँले र कर्जा १ खर्ब ९५ अर्ब रुपैयाँले बढेको छ ।

५ महिनामा निक्षेप बढाउनेमा प्रभु बैंक दोस्रो स्थानमा रहेको छ । प्रभु बैंकले ५ महिनामा २९ अर्ब ६५ करोड रुपैयाँ निक्षेप बढाएको छ । ऋणतर्फ भने प्रभु बैंकले १९ अर्ब ८२ करोड रुपैयाँले बढाएको छ । प्रभु बैंकसँग अहिले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप छ भने ऋण १ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ ।

५ महिनामा निक्षेप बढाउनेमा ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंकले १८ अर्ब ८३ करोड निक्षेप बढाएको छ । कर्जामा भने ७ अर्ब ६३ करोड बढाएको छ ।

अहिले ग्लोबल आइएमई बैंकसँग २ खर्ब ४५ अर्ब ४७ करोड निक्षेप छ भने कर्जा २ खर्ब ६ अर्ब १४ करोड कर्जा छ ।

सेन्चुरी बैंक पनि ५ महिनामा निक्षेप बढाउनेमा परेको छ । सेन्चुरी बैंकले ५ महिनामा १५ अर्ब ८ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

यस्तै एभरेष्ट १३ अर्ब ४९ करोड सिटिजन्स १३ अर्ब ७ करोड, सिदार्थ बैंक ११ अर्ब ३२ करोड र सिभिल बैंक १० अर्ब २४ करोड रुपैयाँले निक्षेप बढाउन सफल भएका छन् ।

असारको तुलनामा निक्षेप र कर्जा घट्नेमा बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड, नेपाल क्रेडिट एण्ड कर्मश, नेपाल बंगलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । जसमा सबैभन्दा बढी निक्षेप चार्टर्ड बैंकको घटेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२ अर्ब रुपैयाँले निक्षेप घटेको छ । एनसीसीको ५ अर्ब रुपैयाँले निक्षेप घटेको छ । चार्टर्डको ऋण समेत ५ महिनामा ९७ करोड रुपैयाँले घटेको छ । एनसीसीको ५ अर्ब ४५ करोड रुपैयाँले निक्षेप घटेको छ ।


पुष्प दुलाल