हुनेलाई खातै खातः कोरोना कहरमा पनि ७ भारतीय अर्बपतिको सम्पत्ति ६४ अर्ब डलरले बढ्यो



काठमाडौं । हुनेलाई खातै खात नहुनेलाई पुरपुरोमा हात भन्ने नेपाली समुदायमा उखान लोकप्रिय रहेको छ । राम्रो सोच भएका, धेरै लगानी गरेका तथा प्रभाव र पहुँच भएकाले जस्तो सुकै विषम अवस्थामा पनि उल्लेख्य मात्रामा कमाई गर्न सक्छन् । नाफा निकाल्न सक्छन् ।

कोरोनाकालमा यस्तै यस्तै भएको छ । चीनमा मात्रै कोरोनाकालमा झण्डै १ हजार जना नयाँ अर्बपति उदाउने सम्भावना बढेर गएको छ ।

भारतमा भने कोरोनाकालमा मात्रै ७ अर्बपति व्यापारीको ६४ अर्ब डलर बढी सम्पत्ति कमाएका छन् । विपदमा समेत हरेक दिन उनीहरुको सम्पत्तिको हिस्सा बढीरहेको छ ।

विवरण अनुसार ७ अर्बपतिको कूल सम्पत्ति ११ डिसेम्बरसम्म १९४.३९ अर्ब डलर बराबर हुन पुगेको छ । डिमार्टका मालिक आरके दमानीको सम्पत्ति मात्रै ४.७१ अर्ब डलरले बढेर १४.४ अर्ब डलर पुगेको छ ।

कोरोनाका कारण आम मानिस घर भित्रै बस्न बाध्य भए । तर व्यापारी वर्गका लागि भने कोरोनाकाल बढी भन्दा बढी सम्पत्ति जम्मा पार्ने र कमाउने अवसर समेत हुन पुग्यो ।

कोरोना महामारी क्रमशः कम हुँदै जाँदा अर्थव्यवस्थामा समेत थोरै भएपनि रिकभरी हुन थालेको छ । सोही कारण भारतमा २०२० सालमा मात्रै ७ अर्बपतिको सम्पत्तिमा ६४ अर्ब डलरले बढोत्तरी भएको छ ।  अर्बपति इन्डेक्सनका अनुसार उनीहरुको सम्पत्ति अझै थप ५० प्रतिशतले वृद्धि हुन सक्नेछ ।

नवीकरणीय ऊर्जा, पोर्ट, टर्मिनल तथा लजिस्टिक सामानमा आफनो साम्राज्य खडा गरेका उद्योगी गौतम अदानीले २०२० मा मात्रै २१.१ अर्ब डलर थप सम्पत्ति जोडेका छन् । गत वर्षको अन्त्यमा उनको सम्पत्ति ११.३ अर्ब डलर रहेको थियो । यस्तै भारतका सबैभन्दा ठूला अर्बपति मुकेश अम्बानीले आफनो सम्पतिमा १८.१ अर्ब डलर थप गरेका छन् ।

उनको कूल सम्पत्ति ७६.७ अर्ब डलर हुन पुगेको छ । गत वर्ष उनको सम्पत्ति ५८.६ अर्ब डलर रहेको थियो । अम्बानीको भारतमा सबैभन्दा मूल्यवान कम्पनीका रुपमा रिलायन्स इन्डस्ट्रिज रहेको छ ।

सो कम्पनीले तेल ग्यास , टेलिकम तथा रिटेलमा दबदबा कायम राखेको छ । भारतमा खोपको राजा मानिएको साइरल पूनावालाको सम्पत्ति ६.९१ अर्ब डलरले बढेको छ । उनको सम्पत्ति १५.६ अर्ब डलर हुन पुगेको छ । उनी सिरम इन्टिच्यूटका इन्डियाका मालिक हुन् ।

सोही कम्पनीले कोरोनाको खोप बनाइरहेको छ । पूनेमा रहेको सिरम भने सेयर बजारमा सूचीकृत भएको छैन । एचसिएल टेक्नोलोजीका शिव नाडार तथा विप्रोका अजिम प्रेमजीले पनि ६–६ अर्ब डलर बराबरको सम्पत्ति जोडेका छन् ।

नडारको कम्पनी एचसिएल टेक भारतको तेस्रो ठूलो आइटी निर्यातकर्ता कम्पनी हो । हाल उनको कूल सम्पत्ति २२ अर्ब डलरको छ । विप्रोका प्रेमजीको सम्पत्ति २३.६ अर्ब डलर भएको छ ।

कोरोना संकटमा पनि आइटी कम्पनीले नयाँ अवसर पाएको छ । मसुर लगानीकर्ताका एवम् हाइपरमार्केट डि मार्ट चेनका मालिक आर के दमानीको सम्पत्ति ४.७१ अर्ब डलरले बढेर १४.४ अर्ब डलर हुन पुगेको छ । सन फार्माका दिलीप संघवीको सम्पत्ति अब ९.६९ अर्र्ब डलर पुगेको छ । पहिले उनको सम्पत्ति मात्रै २.२३ अर्ब डलर थियो ।

यस्तै, गौदम अदानीको कम्पनीको पनि सेयर बजारमा तेज गति देखिएको छ । उनको ग्रीन इनर्जीमा बढी लगानीकर्ता आकर्षित छन् । यसको सेयर ५ गुणा बढेको छ ।

अदानीको ग्रीनको बजार पूँजीकरण २०१९ को ३१ ढिसेम्बरमा २६ हजार ४० करोड बराबरको थियो । हाल सो सेयर बढेर १.६३ लाख करोड हुन पुगेको छ । अदानी ग्यासको सेयरमा तीन गुणाले वृद्धि भएको छ । अदानी इन्टरप्राइजेजको सेयरमा १.१५ गुणा बढेको छ । अदानी ट्रान्समिशनको सेयर २८ प्रतिशतले बढेको छ । अदानी पावरका सेयर २७.९१ प्रतिशतले घटेको छ ।

मुकेश अम्बानीको ६ कम्पनी भारतको सेयर बजारमा सूचीकृत छ । तर बढी भन्दा बढी कमाई भने रिलायन्स इन्डस्ट्रिजले गरेको छ । बिएसइको बसैभन्दा बढी बजार पूँजीकरण रहेको छ । त्यसको १३.५६ लाख करोड पुगेको छ । दैनिक भास्करबाट


पुष्प दुलाल