पश्चिम सेती कहिले बन्छ भन्दै राजधानीमा ७५० जनाले म्याराथन गर्ने



काठमाडौं । झण्डै ४० वर्षदेखि नेपालीका लागि मृगतृष्णा जस्तै बन्दै आएको पश्चिम सेती जलविद्युत् आयोजना शिघ्र निर्माणको माग गर्दै राजधानी काठमाडौंमा म्याराथन गरिने भएको छ ।

पटक-पटक भोटका लागि मात्रै आयोजनाको नाम अगाडि सारिएको र सधै हल्ला मात्रै गरेर स्थानीयबासीलाई आशमा मात्रै राखिएको छ । कूल ७५० मेगावाट क्षमताको सो आयोजना कहिले र कसरी निर्माण हुने भन्ने बारेमा सरकारी तवरबाट कुनै जानकारी दिइएको छैन । हरेक वर्षको बजेटमा आयोजना शुरु गरिने भनिएपनि आयोजनाको बारेमा हालसम्म ठोस प्रगति हुन सकेको छैन ।

स्थानीय स्तरमा आयोजनाको नाममा विकास निर्माणको काम समेत रोकिएको भन्दै केही दिन पहिले स्थानीयले ७५० डोको देखाएइर विरोध प्रदर्शन गरेका थिए ।

सोही श्रृखलाको निरन्तरता अनुसार नै काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए ।

उनका अनुसार अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गरे ।

चिनियाँ कम्पनीले अलपत्र पारेर छाडेर हिडेपनि हालसम्म सो आयोजना कुन मोडलमा कसरी निर्माण गर्ने भन्ने बारेमा सरकारी तवरबाट कुनै जानकारी दिइएको छैन ।

लगानी बोर्डले संयोजन गरेको भनिएको सो आयोजनामा कुनै प्रगति नभएपनि बोर्डले अर्को एक आयोजना समेत जोडेर एसआर सिक्स नाम दिएर आयोजना अगाडि बढाउने बताएको पनि ४ वर्ष हुन लाग्यो ।

त्यसरी आयोजनालाई अर्को स्वरुप दिँदा १२०० मेगावाट बराबरको हुने बताइएको छ ।

लगानी बोर्डले सो आयोजनालाई पटक पटक शो केशमा राखेको भएपनि कुनै भरपर्दो लगानीकर्ता हालसम्म भेटिएको छैन । कर्णाली चिसापानी र पश्चिम सेतीका लागि भनेर रसियामा अध्ययन गरेर आएका अधिकाशं इन्जिनियरहरु विभिन्न सरकारी निकायमा जागिर खाएर सेवाअवधि पूरा गरेर घर फर्किसकेको भएपनि आयोजना अझैसम्म पनि अलपत्र रहेको छ ।

आयोजानका लागि सरकारले पहल नगरेको स्थानीयबासीको आरोप छ  कि त आयोजना बनाऊ, होइन भने अब आश मात्रै नदेखाऊ भन्ने अवस्थामा स्थानीयबासी पुगेका छन् । तर विवादास्पद चिनियाँ कम्पनीलाई आयोजना जिम्मा दिने तर कुनै पनि प्रगति नगर्ने अवस्था रहेको छ ।

झण्डै २० वर्ष अष्ट्रेलियम कम्पनी स्मेकले आयोजना होल्ड गरेर राख्यो । विस्तृत परियोजना प्रतिवेदन समेत तयार भइसकेको छ ।

तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले जस्केलाबाट चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनीलाई आयोजना दिएको थियो । पुनः स्थापना, पुनबास तथा प्रसारण लाइन तथा लगानीयोग्य नभएको भन्दै चिनियाँ कम्पनीले छाडेर गएको पनि झण्डै ३ वर्ष हुन लाग्यो ।

त्यसपछि कतारको कम्पनी ब्रास इनर्जीले आयोजनामा इच्छा व्यक्त गरेको बताइएको थियो । त्यस्तो जानकारी आएको पनि २ वर्ष बढी हुन लागिसक्दा समेत हालसम्म आयोजनाको मोडालिटी टुंगो लाग्न सकेको छैन ।


क्लिकमान्डु