१५ महिनामा ३ वटा बैंक समस्याग्रस्त: के भारतीय बैंकहरुले विश्वास गुमाएका हुन् ?



पछिल्लो १५ महिनामा भारतका प्रमुख तीन बैंकहरु अत्यधिक खराब कर्जाका कारण संकटमा परे । जसले गर्दा अर्थतन्त्रका विज्ञहरुले भारतीय बैंकको वित्तीय स्वास्थ्य अवस्थामाथि प्रश्न उठाउन थालेका छन् ।

‘हाम्रो व्यवसायमा सबैभन्दा पहिले कोभिड–१९ ले नराम्रोसँग प्रभावित बनायो, हामीसँग २ महिना त कत्ति पनि आम्दानी भएन । तर अहिले बचत गरेर बैंकमा राखेको पैसा पनि निकाल्न पाएका छैनौं, किनभने हाम्रो पैसा भएको बैंक संकटमा फसेको छ,’ मुम्बईमा सानोतिनो व्यापार गर्ने ५० वर्षे मंगिलाल परिहारलले भने ।

जसले गर्दा कर्मचारीहरुलाई तलब दिन पनि नसक्ने अवस्था आएको उनले बताए । परिहारले केही समयदेखि संकटमा फसेको लक्ष्मी विलास बैंकमा आफ्नो आम्दानी जम्मा गरेका थिए ।

भारतीयहरुले २ कारणले बचत गर्न बैंक छनोट गर्छन् । पहिलो बचतमा प्राप्त हुने आकर्षक ब्याजदर र दोस्रो घरबाट नजिकै पायक पर्ने स्थानमा होस् । परिहारले पनि सोही अनुसार लक्ष्मी विलास बैंकलाई बचत गर्नका लागि छनोट गरेका थिए ।

तर त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले ९४ वर्ष पुरानो लक्ष्मी विलास बैंकलाई गत साता संकटग्रस्त घोषणा गर्यो र निक्षेपकर्तालाई मासिक ३३५ अमेरिकी डलर भन्दा बढी निकाल्न नपाइने नियमन लगाइदियो ।

परिहारका अनुसार उनको पैसा जोखिममा परेको यो पहिलो पटक होइन । ८ वर्ष अगाडि उनले स्थानीय सहकारी बैंकमा राखेको पैसा पनि संस्था संकटग्रस्त भएपछि जोखिममा परेको थियो । उनको हकमा पछिल्लो १५ महिनामा बचत संकटमा परेको लक्ष्मी विलास बैंक तेस्रो संस्था हो ।

सन् २०१९ सेप्टेम्बरमा पञ्जाब र महाराष्ट्र को अपरेटिभ बैंक (पीएमसी) समस्याग्रस्त भएको थियो । उक्त बैंकमाथि अहिले पनि गैरकानूनी रुपमा ६०० मिलियन डलर कर्जा दिएको विषयमा अनुसन्धान भइरहेको छ । त्यसैगरी गत मार्च महिनामा भारतको पाँचौ ठूलो बैंक भनिएको एस बैंकले पनि अत्यधिक खराब कर्जा भएपछि पुँजी बढाउन नसक्दा संकटग्रस्त घोषणा भएको थियो ।

त्यसपछि रिजर्भ बैंक अफ इन्डियाले एस बैंक र लक्ष्मी विलास बैंकमाथि आफ्नो मातहतमा लिएको थियो । पछि बैंक डीबीएस, सिंगापुरको ठूलो बैंकसँग मर्ज भएपछि पुँजी निकालिएको थियो । तर पीएमसी बैंकको हकमा राहतका लागि पर्खाइमा छन् ।

बैंकमा पैसा जम्मा गरेर निकाल्न नपाउने अर्का व्यक्ति हुन ५३ वर्षे विद्या मेरवाड । बैंक समस्याग्रस्त भएको १४ महिनापछि अहिले समस्यामा परेकी छन् । अरुको घरमा सुसारेको काम गर्ने उनले अहिले बुढी आमासँग पैसा सापट लिएर दैनिकी चलाइरहेको बताइन् । उनका पतिले अटो रिक्सा चलाएर आम्दानी गरेको रकम सबै बचतका रुपमा बैंकमा राखिएको थियो । तर अहिले समस्या पर्दा उक्त पैसा पनि निकाल्न पाएकी छैनन् । तर अब छोरीलाई जर्मनीमा पढ्न पढाउन र छोराको विवाह गर्ने काम पैसा नभएकाले अड्किएको छ ।

‘हाम्रो जीवनभरीको कमाइ एकैछिनमा आफूसँग रहेन, अब यस्तो अवस्थामा हामी कसरी बाँच्ने ?’ उनले भनिन् ।

यद्यपि अहिले त्यहाँको केन्द्रीय बैंकले पैसा निकाल्ने सीमा बिस्तारै बढाउँदै लगेको छ । तर मेरवाडका लागि बढाइएको सीमा बराबरको रकम पनि अझै अपुग छ ।

तर बैंकहरु किन एकपछि अर्को गर्दै समस्याग्रस्त भइरहेका छन् त ?

भारतीय बैंकहरु लामो समयदेखि कर्पोरेट लोनका कारण फसिरहेको अब नौलो कुरा रहेन । यो सार्वजनिक रुपमै आइसकेको छ । उनीहरुले दशौं बिलियन डलर बराबरको गैरकानूनी कर्जा प्रवाह गरेका छन् ।

यसलाई धेरै अर्थशास्त्रीहरु ‘लिगेसी ब्याड डेब्प्ट प्रोब्लम’ भन्छन् । बैंकहरुले व्यवसायहरुमा उदार कर्जा दिनु नै खराब कर्जा बढ्नुको पहिलो कारण भएको उनीहरुको तर्क छ । रिजर्भ बैंक अफ इन्डियाका पूर्व गभर्नर रघुराम राजनले यसको कारण बैंकहरुमा अत्यधिक आशावाद र तर्कहीन उत्साह भएको बताउँछन् ।

‘बैंकहरु समस्याग्रस्त हुनुलाई वर्तमान आर्थिक अवस्थासँग दाँजेर हेर्नुपर्छ, भारतीय अर्थतन्त्र कोरोनाका कारण अहिले कमजोर बन्दै गएको छ । जसले गर्दा बैंकहरुको खराब कर्जा अत्यधिक पुगेको छ,’ स्टेट बैंक अफ इन्डियाका पूर्व चिफ इकोनोमिस्ट ब्रिन्दा जागिरदारले भनिन् ।

‘खराब कर्जा बढ्नुको अर्को कारण खराब कर्पोरेट गभर्नेन्स पनि हो, खराब व्यवस्थापन र बैंकभित्रको पारदर्शिता नहुनु पनि हो । यसलाई समाधान गर्नका लागि सबै तह र तप्कामा उच्च जवाफदेहिता हुनुपर्छ,’ जागिरदारले भनिन् ।

उनले यस्तो व्यवस्थाले भारतीय बैंकिङ क्षेत्रलाई सिस्टमेटिक बनाउन सहयोग पुग्छ ।

जलाजा मेहता, एक बिजनेस एक्जुकेटिभले आफूले अब बैंकमा कम मात्रै रकम राख्ने र ठूलो मात्रामा रकम घरमै राख्ने योजना बनाएको बताए । एस बैंक र पीएमसी बैंक समस्याग्रस्त भइसकेपछि पैसाको सुरक्षा अब घरमै बढी हुने उनको तर्क छ ।

बीबीसीका लागि आकृति थापरले लेखेको समाचार


क्लिकमान्डु