लामो दुरीका यातायात अझै नाजुक अवस्थामा, व्यवसायी भन्छन्- खर्च उठाउनै सकेका छैनौं



काठमाडौं । कोरोना भाइरस महामारीका कारण करिब ६ महिना कोमामा बसेका यातायात असोज १ गतेबाट सञ्चालन भयो । लामो समय देखि कोमामा रहेको यातायात सञ्चालनमा ल्याउनकै लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यससम्बन्धि आबद्ध मजदुर तथा व्यवसायीले विभिन्न माग र चेतावनीसँगै असोजबाट देशभरका यातायात सञ्चालनमा ल्याएको हो ।

तर, सञ्चालनमा ल्याएको करिब ३ महिना बितिसक्न लाग्दा पनि मध्यम र लामो दुरीको यातायातले भने गति लिन सकेको छैन ।

हाल लामो दुरीमा गुड्ने सबै यातायात सञ्चालन अवस्थामा छन् तर, यात्रुहरू नहुँदा भने धेरै समस्या भोग्नु परेको व्यवसायीहरू बताउँछन् । एकातिर लामो दुरीमा गुड्ने यातायातमा पर्याप्त यात्रु छैनन् भने अर्कोतर्फ सञ्चालनमा रहेको यातायातबाट खर्च धान्न नसक्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

त्यसैगरी, कोरोनाका कारण करिब ६ महिनामा थन्किएका यातायात सञ्चालनमा ल्याउन पाठपूर्जा तथा सर्भिसिङमै लाखौं खर्च गरेता पनि उक्त खर्च उठाउन नसकेको उनीहरूको गुनासो छ ।

व्यवसायीहरूले दशैंलक्षित यात्रुहरूको सहजताको लागि सञ्चालनमा ल्याउँदा पनि दशैंको माहोलमा निकै कम यात्रु भएको अरनिको यातायात सेवा समितिका अध्यक्ष चित्रबहादुर कुँवर बताउँछन् । उनका अनुसार दशैंतिहारको तुलनामा भन्दा अहिले केही मात्राले यात्रु बढ्न थालेको बताए ।

हाल समितिसँग ६ सय वटा बस रहेका छन् । त्यसमा अहिले करिब ४ सय वटा बस मात्रै सञ्चालन अवस्थामा छन् । तर, ती सञ्चालन अवस्थामा रहेका यातायात यात्रुको अभावले आउने जानेको खर्च पनि उठाउन नसकेको उनको भनाइ छ ।

‘विगतको दिनमा वर्षा बाहेक अन्य समयमा यात्रु उल्लेखनीय हुन्थ्यो । साथै, सबै बस सञ्चालनको अवस्थामा हुन्थ्यो,’ उनले भने, ‘हाल कोरोनाले गर्दा करिब आधा मात्रै बस सञ्चालन गरेता पनि दिनमा करिब ५,१० जना यात्रु बोकेर यात्रा गर्नु परेको अवस्था छ ।’

अरनिको यातायातले पूर्वी जिल्लाहरू र दोलखादेखि काँगटभिट्टासम्म बस सञ्चालन गर्दै आएका छन् । उक्त बसहरूले दैनिक तेलको खर्च पनि नपु¥याउन नसक्दा निकै नाजुक अवस्थामा रहेको उनको भनाइ छ ।

त्यस्तै, पृथ्वी राजमार्ग बस सञ्चालन समितिको अवस्था पनि उस्तै रहेको छ । अहिले अन्य समयको तुलनामा घुम्न जाने आउने समयमै यात्रुहरू निकै कम भएकाले आगामी दिन कसरी खर्च धान्ने भन्ने विषयले निकै चिन्ता बनाएको समितिका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिए । उनका अनुसार अधिकांश सञ्चालन अवस्थामा रहेको बसहरूले पर्याप्त यात्रु नपाउँदा व्यवसायीहरूले निकै समस्या भोगिरहेको बताए ।

‘अहिले २० देखि ३० प्रतिशतको हाराहारीमा यात्रुको चाप छ,’ उनले क्लिकमान्डूसँग भने, ‘बसहरू भने करिब ७० प्रतिशतले सञ्चालनमा छन् । जसमा कुनै पनि बसले खर्च उठाउन सकेको छैन ।’

समितिसँग करिब १४ सय सवारी साधन छन् । उक्त सवारीसाधन देशका विभिन्न ६३ वटा जिल्लामा सञ्चालन हुँदै आएको छ । साथै, समितिले रात्री बस पनि सञ्चालन गर्दै आएका छन् । तर, कोरोनाले गर्दा रात्री बस भने निकै कम सञ्चालनमा रहेको केसीको भनाइ छ ।

एकातिर सञ्चालन अवस्थामा रहेको सवारी साधनले खर्च नै उठाउन नसक्ने अवस्थामा छन् भने अर्कोतर्फ विगतको दिनको ऋण तिर्न बैंक तथा सहकारीले तोकेता गरिरहेको उनको भनाइ छ । अहिले खर्च धान्न नसक्ने अवस्थामा ऋण निकालेरै बस सञ्चालन गरिरहेको उनले बताए । यस समितिमा आबद्ध ६० प्रतिशत मजदुर स्वरोजगार रहेको उनको भनाइ छ ।

यातायात व्यवसायीहरूको विभिन्न संघ तथा निकायहरूले यातायातमा आबद्ध व्यवसायीको अवस्था निकै नाजुक भएको भन्दै सहज बनाउनको लागि बारम्बार माग राख्दै आएका छन् ।

तर, सरकारले व्यवसायीलाई कुनै सहज वातावरण नबनाइदिएको उनको आरोप छ । ‘हामी यातायात व्यवसायीको निम्ति सरकार छैन । हामी सुखदुख ऋणधन गरेर चलाइरहेका छौं । हामी यो देशको नागरिक र व्यवसायी पनि होइनौं र हामी विदेशबाट भाडामा ल्याएर चलाएको जस्तै छ । साथै हाम्रो अभिभावक कोही पनि छैन,’ उनले आक्रोस पोखे ।

पुसपछि बैंकलाई सम्पूर्ण गाडी बुझाउँछौंः महासंघ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विभिन्न माग र ध्यानाकर्षण पत्र बुझाएसँगै असोज १ गतेबाट सञ्चालन अवस्थामा रहेता पनि मध्यम र लामो दुरीको सवारी साधन व्यवसायीको अवस्था भने निकै नाजुक भएको महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य बताउँछन् । उनका अनुसार करिब ६ महिनादेखिको ऋणको ब्याज तिर्न नसकेको अवस्थामा बैंकले ताकेता गरिरहँदा झन समस्यामा परेको बताए ।

अहिले अवस्था सामान्य भएता पनि जोरविजोर प्रणाली लागु गरेर अलिअलि आम्दानी हुने बाटो पनि खोसिएको उनको भनाइ छ ।

साथै, सरकारका विभिन्न निकायसँग समस्या राख्दा पनि सम्बोधन नभएपछि पुससम्म लबिङ गर्ने उनले बताए । तर, पुससम्म पनि व्यवसायीको माग पूरा नभएको अवस्थामा सम्पूर्ण सवारी साधन बैंकलाई बुझाउने उनको भनाइ छ ।

‘हामीले व्यवसाय सञ्चालन गर्न पनि बैंक समक्ष सहकार्य गरेको हो । अब समस्या पर्दा बैंक र सरकारले सहज वातावरण नबनाएको अवस्थामा हामी सवारी साधन बैंकमा बुझाउन बाध्य हुन्छौं,’ उनले भने ।


पुष्प दुलाल