डिजिटल प्रविधिबाट अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग आवद्ध गर्नेः मन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडलले चालु वर्षको बजेटमा डिजिटल प्रविधिको माध्यमबाट नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसंग आवद्ध गर्ने सरकारको अठोट रहेको बताएका छन् ।

ब्राण्डवर्थ प्रा.ली.को आयोजनामा भएको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ मा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘ज्ञानमा आधारित अर्थतन्त्रको विकास लागि सूचना प्रविधि, उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने चालु वर्षको बजेटमा हामीले गरेको प्रतिवद्धता हो’ मन्त्री पौडेलले भने । मन्त्रिपरिषद्ले बैठकमा कागजरहित अभ्यासलाई जोड दिएको जानकारी गराए । अहिले मन्त्रिपरिषद् पेपरलेस पद्धतीमा अभ्यस्त भएको बताए ।

सरकारी कार्यालयमा पेपरलेस बनाउने सन्दर्भमा डिजिटल प्रविधिमा क्रमिक रुपमा अगाडि बढ्दै गएको उनको भनाइ छ । यसका लागि आवश्यक प्रविधि र सचेतना हुनुपर्ने उनको तर्क छ । अबको दुनियाँ डिजिटल प्रविधिमा अगाडि बढेको र यसबाट नेपाल पनि पछि नहट्ने बताए ।

सरकारले अगाामी दुई वर्षभित्र सबै सरकारी कार्यालयको कारोबार अनलाइन प्रणालीबाट हुने बताए । अर्थमन्त्री पौडेलले हालसम्म ७० प्रतिशत सरकारी कार्यालयको कारोबार अनलाइन प्रणालीमा गइसकेको बताउँदै आउने दुईवर्ष भित्र सबै कार्यालयलाई अनलाइन प्रणाली अनिवार्य लैजाने दाबी गरे ।

उनले डिजिटल प्रणालीको उच्चतम प्रयोगका लागि निजी क्षेत्रसँग उचित समन्वय गर्ने र कर्मचारीतन्त्रलाई पनि प्रविधिमैत्री बनाउने बताए ।

मन्त्री पौडेलले सरकारी मात्रै नभएर नीजि क्षेत्रको कारोबारलाई डिजिटल भुक्तानीमा लैजाने बताए । नेशनल पेमेन्ट गेट वे कार्यान्वयनमा लैजान केही प्रारम्भिक काम सुरु भएको जानकारी गराए ।
सामाजिक सुरक्षा भत्ता पनि डिजिटल रुपमा लैजाने धारणा राखे । मन्त्री पौडेलले अबको नेपाल डिजिटल अर्थतन्त्रमा अघि बढेको भन्दै अब पछि नर्फने दाबी गरे । नप्रवद्र्धन र डिजिटल इकोनोमीको क्षेत्रमा सरकारले गरेको काम प्रयाप्त नभएको भन्दै यसलाई थप प्रभावकारी बनाउने जानकारी गराए । आगामी दिनमा नीतिगत कानूनी व्यवस्थालाई मजबुत बनाउँदै जाने बताए ।

मन्त्री पौडेलले सरोकारवाला र विज्ञसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा कानून संशोधन, आवश्यक परे नयाँ कानून निर्माण, करको विषयमा केही गर्न सक्ने भए गर्न तयार रहेको बताए । ‘त्यसको लागि सुझाव दिन जानकार, सरोकारवाला निकायका सबैलाई आग्रह गरेको छु’ उनले भने । उनले सरोकारवालाले दिएको सुझाव दराजमा थन्क्याएर नराख्ने र कार्यान्वयनमा लैजान प्रण गरे ।

डिजिटल आर्थिक विकासको लागि प्रमोशन गर्नको लागि, आर्थिक कृयाकलापमा डिजिटल प्रविधि जोड्नको लागि, प्रयोग र प्रभावकारीता अभिवृद्धि गर्नका लागि तयार रहेको बताए ।

यसको लागि सरकारले गर्न सक्ने सबै कामको सम्बोधन गर्ने बताए । यसका लागि विभिन्न चुनौती रहेको भन्दै त्यो चुनौतीको सामना गर्न सरकार तयार रहेको बताए ।

कारोबारको गोपनियताको हकलाई कसरी सुरक्षित गर्ने भन्ने चुनौती रहेको, तथ्याङक र प्रणालीगत चुनौत, ह्याकरले दिने चुनौती, आर्थिक कारोबारलाई कसरी नियमन गर्ने, यस्तो कारोबारलाई करको दायरामा कसरी आबद्धता गराउने विषयमा चुनौती रहेको उनको भनाइ छ ।

डिजिटल कारोबारमा आम मानिसलाई जोड्न कसरी जनचेतना फैलाउने भन्ने चुनौती रहेको भन्दै त्यसतर्फ लाग्नुपर्ने बताए । यसको लागि सहकार्य गरेर सरकार अघि बढन तयार रहेको जानकारी गराए ।

अबको दिनमा इनोभेसनमा लाग्नेलाई सरकारले कसरी प्राथमिकता दिने, करमा कसरी छुट दिन सक्ने, कानूनलाई कसरी मजबुत बनाउने भन्ने तर्फ पनि काम गर्ने सरकारको प्रतिबद्धता रहेको बताए ।


क्लिकमान्डु