डुब्न लागेपछि पार्टी प्यालेस व्यवसायीले गरे सरकारी निर्देशनको अवज्ञा
काठमाडौं । करिब ९ महिना बन्द अवस्था रहेको पार्टी प्यालेस खुल्न थालेको छ ।
कोरोना महामारीले गर्दा गत चैतदेखि सञ्चालनमा आउन नसकेको पार्टी प्यालेस कोरोनाकै समय भए पनि व्यवसायीहरूले धमाधम खोल्न थालेका हुन् ।
तर, सरकारले अहिलेसम्म भने पार्टी प्यालेस खुलाउनेबारे कुनै निर्णय गरेको छैन ।
सरकारी निर्णयका कारण व्यवसायीहरु कहिल्यै नउक्सिने गरी डुब्नै लागेकाले ‘मर्नुभन्दा बहुलाउनु जाति’ भएकाले अहिले व्यवसाय सञ्चालन गर्न बाध्य भएको व्यवसायीहरु बताउँछन् ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय महासंघ पदाधिकारीहरुले मन्त्रालय तथा उच्च सरकारी अधिकारीहरुसँग भेटेरै पटकपटक व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आएका थिए ।
तर, लामो समय वितिसक्दा पनि महासंघले गरेको मागको कुनै सम्बोधन नभएपछि महासंघकै निर्देशनमा पार्टी प्लालेस खुल्न थालेको महासंघका अध्यक्ष लिलाबहादुर जिसीले जानकारी दिए ।
अध्यक्ष जीसीका अनुसार पार्टी प्यालेस सञ्चालन गरेको सम्पूर्ण व्यवसायीहरू नाजुक अवस्थामा पुगेपछि केही राहत पाउने आशमा सिजनमा खोल्नुपर्छ भन्ने छलफलका साथ सञ्चालनमा ल्याएको बताए ।
‘सबै खालका व्यवसायलाई कोभिड नियन्त्रण गर्न नपर्ने तर पार्टी प्यालेसले कोभिड उत्पादन गर्ने केन्द्र जस्तै मानेर सञ्चालनमा ल्याउन दिएन,’ उनले आक्रोस पोखे ।
साथै, विभिन्न राजनीतिक दलहरूले विभिन्न कार्यक्रमका लागि पार्टी प्यालेस प्रयोग गरिरहेकै अवस्था भएपनि निरन्तर रुपमा चल्न नदिएको उनको भनाइ छ ।
हाल मंसिरको सिजन भएकाले पनि विभिन्न पार्टी प्यालेसमा अर्डर आउन थालेपछि विस्तारै गति लिने गरी सञ्चालनमा ल्याएको उनको बुझाइ छ ।
३५ प्रतिशतभन्दा बढी मानिस नहुने गरी सञ्चालन
महासंघले कोरोनाकै समयमा आफ्नो व्यवासायलाई चलायमान बनाउनकै लागि भएपनि विगतको तुलनामा करिब ३५ प्रतिशतभन्दा बढी मानिस नहुने गरी सञ्चालनमा ल्याउनुपर्ने निर्देशन दिएको अध्यक्ष जीसीले बताए ।
महासंघका अध्यक्ष सिजसका अनुुसार महासंघ र मन्त्री परिषद्मा माग पेश गरेसँगै व्यवसायीलाई मापदण्ड अनुसार सञ्चालनमा ल्याउन निर्देशन दिएको उनी बताउँछन् । हाल सरकारले कुनै पनि निर्णय गरेको छैन ।
तर, भोलि मन्त्रीपरिषदले सही निर्णय गरेमा पूर्णसमर्थन दिई स्वागत गर्ने उनले बताए ।
‘मन्त्रीपरिषद्को बैठकले २५ जनामात्रै भेला हुनुपर्ने भनेको छ । तर, राजनीतिक पार्टीका कार्यक्रम हुँदा २, ३ सय जना भेला भइरहेको पाइन्छ । यद्यपी महासंघले सामाजिक दुरी कायम गर्दाको क्षमता अनुसार सञ्चालन गर्न आग्रह गरेको छ । साथै, एउटा पार्टी प्यालेसमा ५०/६० देखि सयजना भन्दा बढी हुनुुहँदैन भनेर निर्देशन दिएको ।’ उनले क्लिकमान्डूसँग भने ।
पार्टी प्यालेस सञ्चालनमा आएसँगै अहिले सिजनकै अवस्थाले गर्दा पार्टी प्यालेसमा अग्रिम बुकिङहरू हुन थालेको उनको भनाइ छ ।
विस्थापित हुँदै व्यवसायी
कोरोना महामारीले गर्दा आर्थिक संकटको चपेटामा परेका धेरै व्यवसाय विस्थापित भइरहेको महासंघले जनाएको छ ।
हालसम्म १६ वटा पार्टी प्यालेस पूर्णरुपमा विस्थापित भइसकेको र अन्य पनि विस्तावित हुने चरणमा रहेको जीसीले जानकारी दिए ।
त्यस्तै, केही पार्टी प्यालेसहरूले घर भाडा बुझाउन नसकेर छोडेका छन् भने कतिपय व्यवासीलाई घरबेटीले भाडा नदिने भए भत्काएर अरूलाई दिने धम्की आइरहेको उनले बताए । साथै, पार्टी प्यालेसको ठाउँमा कतिपयले ग्यारेज तथा स्टोर खोलिरहेको अवस्था पनि रहेको उनको भनाइ छ ।
महासंघका अनुसार देशभर ७ हजारभन्दा बढी पार्टी प्यालेस छन् भने करिब ५० हजार यस क्षेत्रमा आबद्ध भई रोजगारी पाएका थिए ।
तर, कोेरोनाले पूर्णरुपमा बन्द भएसँगै रोजगारीसँगै रोजीरोटी गुमेको छ । जसले गर्दा ती मानिसलाई बेरोजगारबाट हटाउनको लागि पनि सञ्चालनमा ल्याउने भएको महासंघको भनाइ छ ।
सामान्य अवस्था फर्कन एक वर्ष लाग्ने
हाल महासंघको निर्देशन र मन्त्री परिषद्को बैठकले खोल्ने निर्णय गरेको अवस्थामा व्यवसायले पूर्ण रुपमा गति लिन करिब एक वर्ष लाग्ने उनको अनुमान छ ।
तर, कोरोनाले गर्दा घाटा परिपूर्ति गर्न भने करिब तीन वर्ष लाग्ने उनको बुझाइ छ ।