३ महिनामा २ खर्ब ५८ अर्ब रुपैयाँ रेमिटेन्स भित्रियो, असोजममा मात्रै ९३ अर्ब



काठमाडौं । कोभिड १९ को कारण रेमिटेन्स आप्रवाह घट्ने अनुमान भएपनि तथ्यांक भने उल्टो आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ३ महिनाको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्ममा २ खर्ब ५८ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई  २ खर्ब ५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।

असोज महिनामा मात्र ९३ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ । यो पटक दशैं र तिहार कात्तिक महिनामा परेको हुँदा असोज महिनामा ठूलो रकम रेमिटेन्स भित्रिएको हो ।

रेमिटेन्समा नयाँ रेकर्ड नै कायम हुने देखिएपनि बैदेशिक रोजगारीमा जानेको संख्या भने कोभिड १९ को कारण घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो ।

रेमिटेन्स अप्रवाह बढेको र कोभिडको कारण आयात नबढेको हुँदा देशको शोधानान्तर समेत बचतमा गएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा चालु खाता ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रहेको थियो ।   ३ महिनामा शोधानान्तर १ खर्ब १ अर्ब रुपैयाँ बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

शोधानान्तर बचतमा गएसँगै विदेशी सन्चिती समेत बढेको छ । आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.० प्रतिशत, ११७.३ प्रतिशत र ३२.९ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।


क्लिकमान्डु