अनलाइन टिकेटिङ प्रणालीमा यस्तो छ फाइदा



काठमाडौं । बिहिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्बाङले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) को उद्घाटन गरे ।

अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै मन्त्री नेम्बाङले सार्वजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानून निर्माणमा लागिरहेको बताए ।

उनले एकीकृत प्रकृया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएको समेत बताएका छन् ।

ओटिएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरुले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरुलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायात क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका २०७७ लागू गरिसकेको छ । तर, कार्यन्वयनमा भने आउन सकेको थिएन । अब भने पूर्णरुपमा अनलाइन टिकेटिङको कार्यन्वयन हुने भएको छ ।

विगतका दिनमा लामो तथा मध्यम दुरीमा जाँदा यात्रुुहरू ठगिने, बढी भाडा असुल्नुका साथै सिट विनाको टिकट दिनेजस्ता विकृतिलाई अन्त्य गर्नको लागि विभागले अनलाइन टिकेटिङ सिस्टम कार्यान्वयनमा ल्याएको विभागका प्रवक्ता डा. लोकनाथ भुसाल बताउँछन् ।

उनका अनुसार उक्त प्रणाली लागू हुने वित्तिकै विगतमा यात्रुहरूले भोग्दै आएको समस्याको अन्त्य हुने बताए ।

‘सार्वजनिक यातायात हुने विभिन्न गतिविधि अब अनलाइन एप्लिकेसनका माध्यमबाट नियमित अनुगमन हुनेछ,’ उनले क्लिकमान्डूसँग भने, ‘यस प्रणालीमार्फत नै बसमा कति यात्रु छन्, कहाँसम्मका लागि यात्रा गर्दै छन्, कति भाडा तिरेलगायत यात्रुको समेत जानकारी लिन सकिन्छ ।’

ओटिएमएसको यस्तो छ फाइदा

ओटिएमसले यात्रुलाई मात्रै होइन सेवा प्रदाय सार्वजनिक यातायात कम्पनीले पनि फाइदा लिन सक्नेछन् । सर्वप्रथम सबैभन्दा बढी सहज यात्रुलाई हुनेछ ।

विगतको दिनमा यात्रुहरूले काउन्टरमै गएर टिकट काट्नुपर्ने, तोकेकोभन्दा बढी भाडा तिर्नेलगायत अन्य समस्यामा भने अब घरमै बसीबसी एप्लिकेसनको प्रयोग गरेर तोकेको मूल्यअनुसार टिकट काट्न सक्नेछन् । प्रवक्ता भुसालका अनुसार अब एअरलाइन्सको जस्तै घरमा बसेर एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) को प्रयोगबाट टिकट काटी यात्रा गर्न सक्ने बताए ।

त्यसैगरी, विभिन्न यातायात व्यवासायीहरूले महंगो टिकटको मूल्य लिने भएकाले अब उक्त समस्याको अन्त्य भएको भुसाल बताउँछन् ।

त्यसैगरी, यातायात व्यवसायीहरूले उक्त प्रणालीको प्रयोगबाट धेरै लाभ लिने सक्ने उनको भनाइ छ ।

उनका अनुसार यातायात व्यवसायीले टिकट खरिद-बिक्री गर्दा बिचौलियाको सामान गर्नु नपर्ने र टिकट काटे अनुसारको रकम पाउने बताए । साथै, ओटिएमएसले लगानिकर्ताहरुको सञ्चालन खर्च घटाई मुनाफा बृद्धि गराउन टेवा पु¥याउने उनले बताए ।
कम्पनी यसरी आबद्ध हुन सक्नेछन्

सरकारले ल्याएको ओटिएमएस प्रणालीमा सबैभन्दा अगाडि सार्वजनिक यातायात कम्पनी आबद्ध हुनुपर्नेछ । प्रणालीमा आबद्ध हुनका लागि कम्पनीले प्रयोग गर्ने अनलाइन टिकेटिङ प्रणालीलाई एपिआई मार्फत विभागले निर्माण गरेको ओटिएमएससँग लिंक गर्नुपर्नेछ ।
हालसम्म अनौपचारिक रुपमा ३७ जना कम्पनी आबद्ध भएको विभागले जनाएको छ ।

तर, अब बिस्तारै सबै खालको माध्यम तथा लामो दुरीमा यातायात कम्पनीलाई पत्र काटेर प्रणालीमा आबद्ध हुन अनुरोध गरेको उनको भनाइ छ । विभागले अहिले ओटिएमएसको प्रणाली सञ्चालनमा ल्याइसकेको छ ।

साथै, विभागले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघलाई जानकारी दिई सबै कम्पनी अनलाइन प्रणालीमा जानुपर्नेमा जोड दिएको बताए । यसले गर्दा यात्रु तथा यातायातको पूर्ण विवरण उपलब्ध हुनेका साथै नीति निर्माणमा पनि सहज बनाउने विभागले विश्वास लिएको छ ।


पुष्प दुलाल