सातामा लाख बढी कोरोना संक्रमित बढ्दा अमेरिकाका अस्पतालमा बेड पाउन छाड्यो
काठमाडौं । संसारभर नै कोरोना भाइरस विरुद्धकोखोपको बारेमा चर्चा चलीरहेको र सफलताका कथाहरु सार्वजनिक भइरहेको बेला अमेरिकाका अस्पतालमा भने अब बेड पाउन छाडिएको छ । हरेक दिन नै कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य बढोत्तरी देखिएपछि बिरामीलाई बेड पाउन मुस्किल भएको हो ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएपछि सरकारी तथा निजी सबै खालका अस्पतालमा बेड अभाव भएको छ ।
संसारभर नै कूल ५ करोड ६५ लाख बढी संक्रिय संक्रमित भइसकेका छन् । त्यसमध्ये कूल १३ लाख ५३ हजारले ज्यान गुमाइसकेका छन् । यस्तै कूल ३ करोड ९३ लाख भने कोरोना संक्रमित ठिक भइसकेका छन् । अमेरिकामा मात्रै कूल १ करोड १८ लाख बढी संक्रमित भएका छन् । हालसम्म कूल २ लाख ५६ हजारको ज्यान गइसकेको छ ।
नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका डोनाल्ड ट्रम्पको गलत नीतिका कारण प्रभावितको संख्यामा उल्लेख्य वृद्धि भएको बताइन्छ । निर्वाचन अभियानमा ठूलो समूह परिचालित भएका कारण पनि कोरोना प्रभावितको संख्यामा वृद्धि भएका हुन् ।
अमेरिकका कयौं राज्यको हालत सबैभन्दा खराब अवस्थामा पुगेको छ । जुन काबु बाहिर जान लागेको छ । प्रभावितको आँकडामा समेत लगातार वृद्धि भएपछि सरकारी अधिकारीलाई व्यवस्थापन गर्न समेत गाह्रो परिरहेको छ ।
यस्तै मृत्यु हुनेहरुको संख्यामा समेत वृद्धि हुँदा अधिकारीहरुलाई हायलकायल बनाइदिएको छ । विवरणअनुसार हाल ७७ हजार बढी कोरोना प्रभावित अस्पतालमा रहेका छन् ।
नाभेदा, मिसिगन जस्ता राज्यको अवस्था असाध्यै खराब अवस्थामा रहेको छ । नाभेदामा अस्पतालमा बेड नभएपछि अस्पतालको कार पार्किङस्थलमा समेत अस्थायी बेड बनाइएको छ । अस्पतालका कर्मचारीले बिरामीलाई उपचार समेत गर्न सक्ने अवस्थामा छैनन् ।
ट्रम्प व्यवस्थापन पूर्ण रुपमा असफल भएका कारण ठूलो संख्यामा मानिसहरुको ज्यान गएको हो । कोरोना भाइरसलाई गम्भीरतापूर्वक नलिएका कारण एक सातामा मात्रै १५ लाख बढी संक्रमित देखिएको हो ।
नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले असाध्यै कठिन दिनहरु ऋगाडि आएको बताएका छन् । उनले कोरोना प्रभावितको संख्यामा उल्लेख्य वृद्धि हुने बताएका छन् । अमेरिकामा संसारभरकै सबैभन्दा बढी नागरिक प्रभावित मात्रै भएका छैनन्, ज्यान समेत गुमाएका छन् । पछिल्लो दुई सातामा मात्रै औसतमा १ लाख नयाँ केश देखा परेको छ ।
न्यूयोर्क शहरमा त लकडाउन नै गर्नुपर्ने अवस्था आएको त्यहाँको स्थानीय प्रशासनले बताएको छ । स्कूल, रेष्टुरेन्ट बन्द गरिएको छ । मिनेसोटामा त लकडाउन गर्ने घोषणा गरिएको छ । यस्तै ब्राजिलमा समेत कोरोना प्रभावितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
त्यस्तै यूरोपमा कोरोनाको दोस्रो लहर फैलिएका कारण समस्या बढ्दै गएको छ । भारतमा समेत अवस्था उस्तै रहेको छ । राजधानी नयाँ दिल्लीमा मात्रै उच्चदरको संक्रमण देखा परेको छ । बुधबार मात्रै १३१ जनाको ज्यान गएको छ । यसले अब कोरोनाको दोस्रो लहर शुरु भएको सहजै अनुमान गर्न सकिन्छ ।