तिहारमा चलहपहल बढे पनि विगतमा जस्तो छैन ढाका टोपीको माग



काठमाडौं । तिहारमा दाजुभाइलाई दिदीबहिनीले उपहारस्वरुप ढाका टोपी दिने प्रचलन पुरानो हो । त्यसैले पनि टाढा टोपीको व्यापार अन्य समयमा भन्दा तिहारको समयमा बढी नै हुन्छ ।

त्यसमा पनि घरेलु उद्यमीबाट उत्पादन भएका ढाका टोपीको प्रयोग बढ्न थालेको छ । यसरी उत्पादन भएका अधिकांश ढाका टोपी तिहारको माहोलमै व्यापार हुने गरेको व्यवसायीहरुको भनाइ छ ।

तर, यो वर्ष कोरोनाले गर्दा विगतमा झैं ढाका टोपीको व्यवसायमा उत्साह भने छैन । लामो समयको बन्दाबन्दीले गर्दा पनि बजारमा बिक्री तथा उत्पादन गर्न नपाएको र तिहारको माहोलमा पनि मानिसको भिड निकै कम छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो ख्याति कमाएको ढाका टोपी यो वर्ष भने कोरोनाले गर्दा उत्पादन तथा बिक्री गर्ने व्यवसायी भने धरापमा परेको व्यवसायीहरू बताउँछन् ।

बन्दाबन्दीले घरभित्रै राखे पनि तिहारको माहोलमा भने व्यापार हुने अपेक्षा व्यवसायीहरूले गरेका थिए ।

तर, तिहार नजिकिँदै गर्दा पनि बजारमा माग नहुँदा निराश भई बस्न बाध्य भएका छन् ।

बजारमा हातबाट बुनेका पाल्पाली ढाका टोपीको मूल्य करिब १ हजारदेखि ४ हजार रुपैयाँ पर्दछ । तर, बजारमा तिहारका लागि बढी मेसिनबाट उत्पादन भएको १ सयदेखि ५ सय रुपैयाँमा ढाका टोपी पाउने गर्दछ ।

तिहारमा महंगोभन्दा सस्तो बढी बिक्री हुने भएकाले त्यही अनुसार तिहारका लागि तयारी हुन्थ्यो । तर, कोरोनाले गर्दा बजारमा ढाका टोपीको माग ठप्पै रहेको व्यवसायीहरू बताउँछन् ।

विगतको दिनमा यतिबेला पसलमा ढाकाटोपी बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । तर यो वर्ष पसल खोलेर बस्ने मात्रै भएको तेह्रथुम ढाकाका संस्थापक भगिमान नेम्बाङ बताउँछन् ।

उनका अनुसार गत वर्षको तुलनामा तिहारको माहोलमा करिब १० प्रतिशत मात्रै व्यापार हुने अनुमान गरेको बताए ।

‘विशेषगरी ढाका टोपीको खोजी गर्ने भनेकै तिहार र ढाका टोपी दिवसमा हो,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, यो वर्ष कोरोनाले गर्दा व्यापार हुने समयमै पसल खोल्नु र नखोल्नु एउटै अवस्था रहेको छ ।’

गत वर्ष नेम्बाङले तिहारमा मात्रै करिब ३ लाखको व्यापार गरेको थियो । तर, यो वर्ष पसलमा हालसम्म ढाका टोपी किन्नका लागि ग्राहक नआएको उनले गुनासो पोखे ।

लामो समयको लकडाउन गर्दा आफै उद्यमी बनेका व्यवसायीले कच्चा पदार्थ भएसम्म उत्पादन गरेका छन् । त्यसले गर्दा बजारमा ढाका टोपीको भने अभाव नहुने उनको बुझाइ छ ।

यस्तै, गत वर्ष तिहारमा राम्रो व्यापार गरेको लाङघाली ह्यान्डीक्राफ्ट प्रालिका प्रबन्धक शेरबहादुर थापामगरका अनुसार यो वर्ष बजारको माहोल हेर्दा करिब ५० प्रतिशतले मात्रै व्यापार हुने बताए ।

यस्तै, अन्य जिल्लामा उत्पादन भएका विभिन्न ठाउँबाट पनि आयात गरी बजारमा बिक्री गर्दै आएको उनले बताए ।

बजारमा पाल्पा, झापा तथा तेह्रथुमबाट सबैभन्दा बढी बजारमा आयात हुने गर्दछ ।

‘ढाकाटोपीको मुख्य व्यापार हुने मौसम नै अहिले हो,’ उनले भने, ‘कोरोनाले गर्दा लामो समयको बन्दाबन्दीले गर्दा व्यापार ठप्प थियो । त्यो बेलादेखि भाडा खप्टिएकाले तिहारमा व्यापार गरी तिरौंला भन्ने थियो । तर त्यो पनि भएन । यसले गर्दा हामी एकदम मारमा परेका छौं ।’

उनले विगतका दिनमा गाउँ गाउँमा घरेलु कामदारले उत्पादन गरेको ढाकाका सामानहरू खरिद गरी बिक्री गर्दै आएकोमा यसपटक भने खरिद गरी बिक्री गर्न सक्ने माहोल नबनेको उनले दुखेसो पोखे ।

व्यवसायी संकटमा छन् – महासंघ
कोरोनाले ठूलो उद्योग मात्रै नभई साना तथा घरेलु उद्योगको व्यापार पनि ह्वात्तै घटेको छ ।

यस्तै, देश तथा विदेशमा घरेलु उत्पादनको नाममा चिनिने ढाका टोपी तिहारको माहोलमा करिब ५० प्रतिशतले घटेको घरेलु उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिङले जानकारी दिए ।

हाल कोरोनाले गर्दा तिहार नै भए पनि एक ठाउँबाट अर्को ठाउँमा जाने स्थिति नरहेको हुनाले व्यापार ह्वात्तै घटेको उनको बुझाइ छ ।

‘सरकारले नै घरमा रहेको सामानबाटै घर चलाउ भनेर आह्वान गरेकाले मानिस संक्रमणबाट बच्नका लागि बाहिर निस्किदैनन्,’ उनले भने, ‘यसले गर्दा घरेलु उत्पादन भएका सामान धेरैभन्दा धेरै बिक्री गर्ने चाहना राखेता पनि यो वर्ष भने उत्पादन तथा बिक्री दुबै घटेको छ ।’

प्रत्येक व्यवसायीले करिब वार्षिक ५ हजारभन्दा बढी पिस ढाका टोपी उत्पादन गर्ने गर्दछ ।

हाल बजारमा त्यति धेरै माग नभएका कारण उत्पादन भएका सम्पूर्ण ढाका टोपी उत्पादन गर्ने व्यवसायीहरूसँग मौज्दातमा नै रहेको छ । यसले गर्दा बजारमा अभाव भने नहुने उनको बुझाइ छ ।

ढाकाका लुगा तथा टोपी नेपाली बजारमा मात्रै नभई अन्तराष्ट्रिय बजारमा पछिल्लो समय माग बढेको छ ।

तर, कोरोनाले गर्दा विदेशमा माग भए पनि नेपालबाट पठाउन नसक्दा ठूलो घाटा व्यहोरेको उनको भनाइ छ ।

‘गत वर्ष करिब व्यवसायीहरूले उत्पादन गरेको करिब ९० प्रतिशत सामान सबै बिक्री भएको थियो,’ उनले भने, ‘तर, यो वर्ष भने बजारमा माग कम भएसँगै व्यवसाय संकटमा परेको छ ।’

उनका अनुसार उत्पादकहरूले वर्षभरी उत्पादन गरेर मौसम अनुसार बिक्री गर्ने गर्दछ । त्यसैगरी मौसम अनुसार नै व्यवसायीहरूले त्यसलाई ध्यानमा राखेर उत्पादन गर्दछ ।

तर, करिब ८ महिनादेखिको बन्दाबन्दीले व्यापार गर्न नपाएपछि व्यवसायी धारासायी भई सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।


क्लिकमान्डु