कोरोना बीमा दावी भुक्तानीमा ढिला हुनुको दोष बीमितलाई दिएर समिति र कम्पनीको पन्छिने खेल



काठमाडौं । कोरोना बीमामा हालसम्म २ अर्ब रुपैयाँ माथि दावी परिसकेको नेपाल बिमक संघले जानकारी दिएको छ । तर कम्पनीहरुले भने १६ करोड रुपैयाँ बराबरमात्रैको दावी रकम भुक्तानी गरेका छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीमार्फत् गत बैशाखदेखि शुरु गरेको कोरोना बीमालेख जारी गरेको थियो । जसमा हालसम्म १५ लाख बढीले बीमा गरेसकेका छन् ।

बीमा समितिले कोरोना बीमा निर्देशिका जारी गर्दा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्यावमा परीक्षण गराइएको रिपोर्टका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख गरेको थियो ।

जसकारण कम्पनीहरुले परेको कोरोना दावीमा सरकारी ल्यावमा परीक्षण गराएका रिपोर्टलाई मान्यता दिएर दावी भुक्तानी गर्दा ढिलाइ भएको हो ।

स्वास्थ्य मन्त्रालयबाट संचालनको अनुमति लिएका निजी ल्यावबाट आएको रिपोर्टलाई बीमा समितिले मान्यता नदिएको भन्दै सोको चौतर्फी बिरोध भएको थियो । त्यसपछि समितिले निजी ल्यावका रिपोर्टका दावी पनि भुक्तानी गर्न निर्देशन दिए पनि हालसम्म कम्पनीहरुले सरकारी ल्यावका रिपोर्टका दावीलाई मात्र भुक्तानी गरिरहेको नेपाल बिमक संकका प्रवक्ता चंकी क्षेत्रीले बताए ।

‘निर्देशिकामा उल्लेख गरिएका बुँदाले गर्दा भुक्तानीमा अन्योलता पहिले भएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘पछि समितिले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निजी ल्यावका रिपोर्टमा पनि भुक्तानी गर्ने भनिए पनि कम्पनीबाट हाल सरकारी ल्यावका रिपोर्टमा मात्र भुक्तानी भइरहेको छ ।’

पछिल्लो पटक गरिएको सहमति अनुसार कम्पनीहरुमा परेको दावी बीमा पुलमा पठाउने र त्यहाँबाट बीमा समितिले पठाइन्छ भने समितिले स्वास्थ्य मन्त्रालयमा रिपोर्ट प्रमाणिकरणका पठाउँछ ।

पछिल्लो पटक कोरोना दावी भुक्तानी बक्यौता बढ्नुमा समितिद्वारा जारी निर्देशिकमा उल्लेखित बुँदाले अन्योलता बढाएर भएको बीमा कम्पनीहरुको भनाइ छ ।

कम्पनीमा आएको दावी यदी सरकारी ल्यावको रिपोर्ट भएमा निर्देशिकामा उल्लेख गरेअनुसार नै दावी परेको ७ दिनभित्रै भुक्तानी भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

‘कम्पनीमा परेको दावी निजी ल्यावको रिपोर्ट भएमा कम्पनीले पछिल्लो पटक भएको दावी भुक्तानी सम्झौता अनुसार पुलमा र त्यहाँबाट समिति र स्वास्थ्य मन्त्रालय हुँदै प्रमाणिकरण भएका रिपोर्टको भुक्तानी कम्पनीले गर्छ’ उनले थपे, ‘निजी ल्यावबाट आएका रिपोर्टको भुक्तानी प्रक्रिया लामो भएको हुँदा ढिलाइ भइरहेको होे, सरकारी प्रक्रिया केही ढिलो नै हुन्छ यदी कोडिङ कम्पनीहरुलाई नै दिने मिल्ने हो भने दावी भुक्तानी अझ छिटो हुन्छ ।’

कोरोना बीमा दावी गर्ने बीमितले सम्पूर्ण कागतपत्र सहित दावी भुक्तानी नगर्दा समेत अपुरो काजतपत्र भएका बीमितको भुक्तानी रोकिएको उनले जानकारी दिए ।

यता, कोरोना बीमा दावी भुक्तानी ढिलाई हुनुमा स्वयमः बीमित नै जिम्मेवार भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘कोरोना लागेर कम्पनीमा जानकारी दिएपनि आवश्यक सम्पूर्ण कागतपत्र बुझाउन नै बीमितले समय लगाउँछन्,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘कम्पनीहरुले बीमितलाई पूरा कागतपत्र माग गरिरहेका छन्, मापदण्ड अनुसार कागतपत्र पूरा भएका करिब १ हजार ८ सय फाइल प्रमाणिकरण हुने क्रममा छ ।’

कम्पनीबाट आएको फाइल समितिमा आएपनि पुनः रिपोर्ट स्वास्थ्य मन्त्रालयले चेक गर्नुपर्ने हुँदा केही समय लागेको उनको भनाइ छ ।

‘स्वास्थ्यमा प्रमाणिकरण गर्ने प्रक्रिया छिटो गर्न हामीले समन्वय गरिरहेका छौं, यहाँबाट फाइल गएको करिब १ दिनभित्र स्वास्थ्यबाट प्रमाणिकरण भएर आउँछ,’ उनले थपे ।

बीमितले मापदण्ड अनुसारको कागतपत्रसहित दावी गरेमा अब भने स्वास्थ्यबाट प्रमाणिकरण चाँडै भइ भुक्तानी दावी पेश गरेको ७ दिनभित्रै हुने पौडेलको भनाइ छ ।

हालसम्म करिब २० हजार बीमितले दावी गरे पनि त्यसमा ४ हजार जनाले मात्र पूर्ण कागतपत्र पेश गरेका बीमक संघका प्रवक्ता क्षेत्रीले बताए ।

‘बीमितले आफूलाई कोरोना पोजेटिभ भएको कम्पनीमा जानकारी गराउँछन् तर पूर्ण कागतपत्र बुझाउन भने समय लगाउँछन्,’ क्षेत्रीले भने ।

कम्पनीहरुले पूर्ण कागतपत्रसहित परेका दावीलाई पुलमार्फत् समिति पठाउने र त्यहाँबाट प्रमाणिकरण भएर आएको दावी अब तुरुन्तै भुक्तानी गर्ने उनको भनाइ छ ।


क्लिकमान्डु