बिग्रिएको कर्जा स्वाप गरी असल वर्गमा राख्दै बैंकहरु, राष्ट्र बैंक भन्छ- बदमास बैंक कारवाहीमा पर्छ



काठमाडौं । पछिल्लो केही महिनायता बैंक तथा वित्तीय संस्थामा नयाँ परियोजनामा कर्जाको माग न्यून छ । कर्जाको माग नभएपनि बैंकहरुमा निक्षेपकर्ताले पैसा जम्मा भने गरिरहेको छन् । सोही कारण बैंकिङ प्रणालीमा हाल २ खर्ब १ अर्ब रुपैयाँ छ । जसमा वाणिज्य बैंकहरुमा मात्र करिब १ खर्ब ९० अर्ब अधिक तरलता छ ।

बैंकमा लगानी योग्य रकम थ्ुप्रिएर बसेपछि बैंकहरुले वर्गिकृत कर्जा नै खोसाखोस गरेर आफ्नो बैंकको तरलता सल्टाउन थालेको छन् । कोभिडका कारण साँवा ब्याज समयमा नै भुक्तान नभएर वाच लिस्ट वा कमसल वर्गमा वर्गिकृत भएका कर्जा समेत बैंकहरुले अरु बैंकबाट ल्याएर असल वर्गमा राखेको बैंकरहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकको कर्जा सम्बन्धी व्यवस्थाअनुसार बैंकहरुले कर्जा लगानी गरेपछि त्यसलाई असल वर्गमा राखी कर्जाको १ प्रतिशत प्रोभिजन गर्नु पर्छ । त्यसपछि ऋणीले ३ महिनासम्म कर्जाको साँवा, ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जामा बैंकले वाचलिस्टमा राखि कर्जाको ५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्म साावा ब्याज भुक्तानी नभएमा त्यो कर्जालार्ई कमसल कर्जामा वर्गिकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नु पर्छ । साथै, ६ महिनादेखि एक बर्षसम्म सावाँ ब्याज भुक्तानी नभएको कर्जालाई शंकास्पद कर्जामा वर्गिकर गरी कर्जाको ५० प्रतिशत प्रोभिजन गर्नु पर्छ ।

त्यसैगरी, एक बर्षभन्दा बढी अवधिमा साँवा ब्याज नउठेमा त्यस्तो कर्जालाई खराब कर्जामा वर्गिकरण गर सोमा कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने निर्देशन राष्ट्र बैंकको छ ।

बैंकहरुमा लगानी योग्य रकम बढी भएपछि आत्तिएर उनीहरुले प्रिपेमेन्ट गरेर आएका वाच लिष्ट वा कमसल वर्गका कर्जालाई समेत आफ्नो बैंकमा असल वर्गमा राखेको बैंक वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘वाच लिस्ट, कमसल वा अन्य वर्गमा वर्गिकृत कर्जा भएको कर्जालाई प्रिपेमेन्ट गरेर आएपनि त्यसलाई असल कर्जामा राख्नु मिल्दैन,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘तर वाच लिस्टमा वर्गिकृत ५ प्रतिशत प्रोभिजन भएका कर्जालाई भने आफ्नोमा आउँदा असलमा राखी १ प्रतिशत प्रोभिजन धेरै बैंकहरुले गरेको हुन सक्छन् ।’

अरु बैंकहरुमा कमसल कर्जामा वर्गिकरण गरी २५ प्रतिशत प्रोभिजन भएका कर्जालाई समेत केही बैंकहरुले आफ्नो ल्याएर असल वर्गमा राखेको उनले जानकारी दिए ।

‘कहिले काँही बैंकहरुले कर्जाको पास सर्टिफिकेट नभएका कारणले पनि त्यसो गरका हुन तर सामान्य तर एक ठाँउमा बिग्रिसकेको कर्जालाई अर्को ठाँउमा बिग्रिएकै वर्गमा राख्नु पर्ने हो,’ अध्यक्ष दाहालले थपे, ‘लगानी योग्य रकम धेरै भएका कारण बैंकहरुले अहिले कर्जा नीतिमा सम्झौता नै गरिरहेको देख्छु ।’

प्रणालीमा अधिक तरलता भएकै कारणले सरकार, राष्ट्र बैंकले पनि पैसा बजारबाट खिचिरहेको छ ।

संघले पनि सरकार र राष्ट्र बैंकसँग बाँकी रकम व्यवस्थापको बारेमा पनि छलफल भइरहेको हुँदा बैंकहरुले आत्तिएर कर्जाको गुणस्तर नहेरी कमसल कर्जा गरेर जोखिन नबढाउन उनले आग्रह गरेका छन् ।

बैंकहरुमा नयाँ परियोजनामा कर्जाको माग नभएपनि कोभिड सुरु हुनपूर्वका सुरु भएका परियोजना र धेरै सवारी र घर कर्जा बैंकहरुले कर्जा प्रवाह गरेको अध्यक्ष दाहालले बताए ।

‘पहिले नै शुरु भएमा हाइड्रो र केही अन्य परियोजनामा कर्जा गइरहेको छ,’ उनले थपे, ‘पछिल्लो समय भने बैंकहरुबाट गएको लोनमा सबैभन्दा बढी हिस्सा अटो लोन र होम लोनको छ ।’
पछिल्लो समय निर्माणाधिन परियोजनामा समेत बैंकहरुले कर्जा प्रवाह गर्न थालेको उनले जानकारी दिए ।

बिग्रिएको कर्जालाई असल बनाएको भेटिएमा कारवाही हुन्छ– राष्ट्र बैंक

पछिल्लो समय बैंकहरुमा कर्जा स्वाप गर्ने प्रवृति बढेपनि बैंकहरुले कर्जाको गुणस्तर हेरेर मात्र स्वाप गर्ने नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले बताए ।
‘पुरानो कर्जा रिपेमेन्टबाट लाने भएमा बैंकहरुसँग सोध्छन् कर्जाको अवस्था के कस्तो छ भनेर,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘एउटा बैंकले अर्को बैंकबाट जस्तो वर्गको कर्जा स्वाप गरेको छ, त्यही वर्गमा नै आफ्नो बैंकमा ल्याएर प्रोभिजन गर्नु पर्छ ।’

अर्को बैंकमा भएको कमसल कर्जालाई आफ्नामा ल्याएर गुड भनेर १ प्रतिशतमात्र प्रोभिजन गर्नु नपाउने उनले बताए ।

‘स्वाप गरेपनि कमसल कर्जालाई स्वाप गर्दा २५ प्रतिशत र वाचलिस्टमा भएको कर्जालाई ५ प्रतिशत नै प्रोभिजन गर्नु पर्छ,’ उनले थपे, ‘सुपरिवेक्षणबाट बैंकहरुद्वारा प्रवाहित कर्जाको अध्ययन विष्लेशण तथा अनुगमन गरिरहेका हुन्छौँ, यदी नियत बस कुनै बैंकले बिग्रिएको कर्जालाई पनि असल कर्जामा वर्गिकरण गरको भेटिएमा कारवाही हुन्छ ।’

नियत बस नै कर्जाको गुणस्तरअनुसार स्वाप भएका कर्जालाई वर्गिकरण नगरी प्रोभिजन गर्ने बैंकहरुलाई कर्जाको गुणस्तर अनुसार प्रोभिजन गर्नु लगाउने उनले बताए । बदमासी गरी गुणस्तर बिग्रिएको कर्जालाई असल वर्गमा राख्ने बैंकलाई साथै राष्ट्र बैंकले दफा १०० बमोजिम कारवाही गर्ने कार्यकारी निर्देश क्षेत्रीले जानकारी दिए ।


क्लिकमान्डु