लकडाउनयता उद्योगमा साढे ७६ अर्ब लगानीको प्रतिबद्धता, कुन क्षेत्रमा कति ?



काठमाडौं । लकडाउनका कारण सबैभन्दा बढी असर परेको क्षेत्र हो अर्थतन्त्र । कोरोना महामारीले स्वास्थ्य सुरक्षामा जति जोखिम थपेको छ त्यत्ति नै ठूलो जोखिम अर्थतन्त्रमा पनि पारेको छ ।

रोजगारी कटौतीसँगै जीडीपीको वृद्धिदर संकुचित भइरहेको छ भने यही महामारीमा उद्योगहरुमा भने केही आशा अझै देखिएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार चैत ११ गतेदेखि लकडाउन शुरु भएयता हालसम्म साढे ७६ अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता विभिन्न उद्योगमा आएको छ ।

स्वदेशी र विदेशी दुबै लगानी गरी हालसम्म ७६ अर्ब ४५ करोड १८ लाख ९२ हजार रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।

यस अवधिमा स्वदेशी र विदेशी लगानीमा स्थापना हुने उद्योगहरुले ५ हजार ४०४ जनाले रोजगारी पाउने उल्लेख छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो पर्यटन । विश्लेषकहरु पर्यटन क्षेत्र रिभाइभ हुनका लागि कम्तीमा २ वर्ष लाग्ने बताएका छन् ।

अन्य क्षेत्र लकडाउन हटेसँगै विस्तारै खुल्दा गए पनि पर्यटन क्षेत्र अझै पनि खुल्न सकेको छैन ।

हाल एभरेष्ट ट्रेकिङमा जानेका लागि र फाट्टफुट्ट मार्दी हिमालको यात्रामा जानेका लागि खुला भए पनि अन्य क्षेत्रहरु अझै पर्यटकका लागि खोलिएको छैन । जसले गर्दा पर्यटन क्षेत्र कहिलेदेखि सञ्चालन हुने हो यकिन छैन । हाल पर्यटकीय नगरी पोखरामा पर्यटकको चहलपहलले केही आशा भने देखिएको छ ।

पर्यटन क्षेत्रमा मात्रै यस अवधिमा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

ठूला लगानी
ठूला लगानीमा ३ वटा केबुलकार कम्पनी छन् । बुटवलमा सिद्धार्थ केबुलकार प्रालि, काठमाडौंमा नागार्जुन केबुल कार प्रालि र ललितपुरमा फुलचोकी केबुलकार प्रालि छन् ।

त्यसैगरी विदेशी लगानीमा ३ अर्ब रुपैयाँमा पोखरामा होटल स्थापनाका लागि लगानीको प्रतिबद्धता आएको छ ।

कृषि क्षेत्रमा जनकपुर एग्रो फार्म नामक कम्पनी पनि दर्ता भएको छ । जसमा कुल १ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी हुनेछ । यो कम्पनीले १२ करोड ९४ लाख वटा अण्डा, रिटायर्ड बर्डको मासु २ लाख ५० हजार केजी बिक्री गर्ने र अर्गानिक फर्टिलाइजर ८७ लाख २० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले ३५० जनालाई रोजगारी दिनेछ ।

त्यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ८ मा ६६ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको लगानीमा मेक्सो टाइल्स प्रालि नामक कम्पनी स्थापना हुनेछ । जसले १ करोड ६० लाख वटा फ्लोर टाइल्स र १ करोड २५ लाख वटा वाल टाइल्स उत्पादन गर्नेछ ।

साथै नेपाल सेरामिक इन्डष्ट्रीले कम्पनीले पनि बारा जिल्लाको जीतपुर सिमरामा ६६ करोड २० लाख रुपैयाँ लगानीमा फ्लोर टाइल्स उत्पादन गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी उद्योग वाणिज्य राज्यमन्त्री मोतिलाल दुगडले पनि लकडाउन शुरु भएपछि जेठ २१ गते १५ करोड रुपैयाँ लगानीमा स्थापना हुने उद्योग दर्ता गराएका छन् ।

दुगड इडिबल्स प्रालि नामक कम्पनीको फिक्स्ड क्यापिटल १२ करोड रुपैयाँ र वर्किङ क्यापिटल ३ करोड रुपैयाँको हुनेछ ।

मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका वडा नम्बर ३ मा स्थापना हुने उक्त कम्पनीमा ९० जनाले रोजगारी पाउनेछन् ।

टोमाटो केचअप २०० मेट्रिकटन, फ्रुट जाम १२० मेट्रिकटन, कर्न फ्लेक्स ५०० मेट्रिकटन, रोस्टेड नट्स ३० मेट्रिकटन, अचार ५५० मेट्रिकटन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कुन क्षेत्रमा कति लगानी ?

उद्योग विभागका अनुसार सबैभन्दा धेरै उर्जा क्षेत्रमा ६० अर्ब रुपैयाँ, उत्पादनमुलक उद्योगमा ६ अर्ब रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ ।

त्यसैगरी पर्यटन क्षेत्रमा ३ अर्ब ८५ करोड रुपैयाँ, सेवामुलक क्षेत्रमा ३ अर्ब ३७ करोड रुपैयाँ, कृषि क्षेत्रमा ्र२ अर्ब ३७ करोड रुपैयाँ र सूचना तथा प्रविधि क्षेत्रमा ५५ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।


क्लिकमान्डु