एक महिनामै १०.५८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार, शुल्कका कारण अन्य विद्युतिय कारोबार घट्यो



काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइसरले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । तर विद्युतिय भुक्तानीको क्षेत्रमा भने यसको प्रभाव सकारात्मक देखिएको छ ।

फिजिकल नगद भुक्तानी भन्दा डिजिटल भुक्तानीमा सुरक्षित हुने हुँदा पछिल्लो समय मोबाइल बैंकिङ कारोबार बढ्दो छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा नै मोबाइल बैंकिङ १०.५८ प्रतिशत बढेको हो ।

गत असार मसान्तसम्म सरकारले कोरोना भाइसरको रोकथाम तथा नियन्त्रणको लागि चैतदेखि साउन ६ गतेसम्म लकडाउन घोषणा गरेको थियो । सो अवधिमा बैंक तथा वित्त कम्पनी तथा भुक्तानी प्रदायक संघ संस्थाहरुले विद्युतिय कारोबारको निशुल्क गरेका थिए । तर लकडाउन समाप्त भएपछि विद्युतिय कारोबारमा पुनः शुल्क लाग्न थालेको थियो ।

तर फिजिकल नगद कारोबारमा कोरोना संक्रमणको जोखिम बढी हुँदा मानिसहरुले भदौमा भने शुल्क तिरेर नै भएपनि २० अर्ब ३४ करोड रुपैयाँ बढी मोबाइल बैंकिङ कारोबार गरेका छन् । जुन असार महिनाकोभन्दा १ अर्ब ५० करोड १० लाख रुपैयाँ र साउन महिनाको भन्दा १ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बढी हो ।

गत असार महिनामा १८ अर्ब ८३ करोड ९० लाख बढीको मोबाइल बैंकिङ कारोबार भएको थियो । चैतदेखि निशुल्क गरिएको डिजिटल बैंकिङको शुल्क साउनदेखि पुन शुल्क लाग्न थालेपछि सो महिनामा कारोबार ४४ करोड ६० लाख रुपैयाँले घटेर १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो ।

यसैगरी, लकडाउनपछि विद्युतिय भुक्तानी कारोबारमा पुनः शुल्क लाग्न थालेपछि असार महिनाको तुलनामा साउनमा २० प्रतिशत र र भदौ महिना ४३ प्रतिशतले कुल कारोबार घटेको देखिन्छ । असार महिनामा कुल २७ खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ बढीको विद्युतिय भुक्तानी कारोबार भएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार एटीएम, मोबाइल, इन्टरनेट बैंकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पीओएस, क्यूआरकोड, डेविटकार्ड, क्रेडिटकार्ड, प्रिपेडकार्ड, शाखारहित बैकिङ्ग र वालेटमार्फत् चालु आर्थिक वर्षको २ महिनामा ३७ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ बराबरको विद्युतिय भुक्तानी कारोबार भएको छ ।

जसमा साउन महिनामा २१ खर्ब ८९ अर्ब २७ करोड रुपैयाँ र भदौ महिनामा १५ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ बढीको विद्युतिय भुक्तानीका कारोबार भएको हो ।

साउन महिनाबाट राष्ट्र बैंकले क्यु.आर.मा आधारित, पिओएस र ई कमर्सबाट भएको कारोबारको विवरण समेत संकलन गर्न शुरु गरेको थियो । साउनमा क्यु.आर.मा आधारित कारोबार ५८ अर्ब ९० करोड रुपैयाँ, पिओएसमार्फत् १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ र ई कमर्समार्फत् १ अर्ब २० करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको थियो ।

भदौ महिनामा क्यु.आर.मा आधारित कारोबार ६४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

भदौ महिनामा आइपुग्दा पिओएस र ईकर्मसमार्फतको कारोबार घटेको छ । भदौ महिनामा पिओएस मार्फत् १ अर्ब २२ करोड ३० लाख रुपैयाँ र ईकमर्समार्फत् ५ करोड ६१ लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु