कोरोना संक्रमणको भयले बढायो सवारीको बिक्री, भदौसम्म बैंकले १ खर्ब ७१ अर्ब बढी ऋण दिए



काठमाडौं । दशैं स्किम र कोरोना भाइरस संक्रमण जोखिमको भयले सवारी साधान बिक्री बढाएको छ । अघिल्ला बर्षहरुमा चाडपर्व अफरमा सामान्य अवस्थामा भन्दा सवारी साधानको बिक्री बढ्ने गरेको थियो ।

तर यसपालीको भने सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमण हुने भयले चार्डपर्व अफरमा दुइपांग्रे सवारीको बिक्री बढेको नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

‘साउन र भदौको तुलनामा असोज लागेपछि सवारीको बिक्री अत्याधिक बढेको छ,’ अध्यक्ष दुलालले क्लिकमाण्डुसँग भने, ‘अहिले सवारी खरिद गर्ने प्राय ग्राहक पहिलो पटक सवारी खरिद गर्नेहरु जसमा दुइ पांग्रे र सस्तो मुल्यका ४ पांग्रे सवारी खरिद गर्ने बढी छन् ।’

अघिल्लो बर्षको तुलनामा सवारी आयात असोजमा घटेतापनि स्टकमा रहेका सवारीको बिक्री पनि असोज लागेपछि शतप्रतिशतले बढेको उनले जानकारी दिए ।

लकडाउनपछि साउनदेखि नै विभिन्न सवारी साधान बिक्रेता कम्पनीहरुले ४ पांग्रे र ४ पांग्रे सवारीसाधनमा बिक्रेता भारी छुटको आकर्षक योजना सार्जनिक गरेका थिए ।

अहिले चाडपर्व अफरमा पनि शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमै ग्राहकले सवारी साधान खरिद गर्न सक्ने अफर ल्याएका छन् ।

बैंक तथा वित्त कम्पनीहरुमा अहिले तरलता सहज हुँदा र अन्य क्षेत्रबाट कर्जाको माग नहँदा सवारी र घर कर्जामा सहुलियत दिएर ग्राहक अर्कषित गरेका छन् ।

नेपालमा बिक्री हुने सवारी साधान अधिकांश फाइनान्सिङ नै हुने नाडाका अध्यक्ष दुलाल बताउँछन् ।

‘पहिलेको तुलनामा अहिले अझ बढी फाइनान्समा सवारी खरिद गर्ने ग्राहक बढेका छन्,’ उनले थपे ।

राष्ट्र बैंककोे तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको २ महिनासम्म प्रवाहित कर्जाको ५.२ प्रतिशत कर्जा हायर पर्चेजका क्षेत्रमा प्रवाह गरेको छन् ।

भदौ महिनासम्म बैंक तथा वित्त कम्पनीले कुल ३२ खर्ब ७४ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा बैंक तथा वित्त कम्पनीहरुले व्यवसायीक प्रयोजन र व्यक्तिगत प्रयोजनका सवारी खरिदका लागि मात्रै १ खर्ब ७१ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छन् ।

दुई महिनासम्म बैंक तथा वित्त कम्पनीहरुले व्यवसायीक प्रयोजनका सवारी खरिदका लागि १ खर्ब १४ अर्ब ३८ करोड रुपैयाँ र व्यक्तिगत प्रयोजनका लागि ५७ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरको राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नैपर्ने भएपछि सार्वजनिक सवारीको साटो निजी सवारीको प्रयोग गर्न पर्ने सोचको विकास भएसँगै दशै स्किममा दुइपांग्रे र ५० लाखभन्दा तलको चारपांग्रे सवारी खदिर गर्ने ग्राहक बढेको नाडाले जनाएको छ ।

यसैगरी, बैंक तथा वित्त कम्पनीहरुले साउनयता सवारीसँगै घर जग्गा खरिद गर्ने ग्राहकलाई पनि विभिन्न छुट तथा सहुलियतका ब्याजदर तोकेका थिए । बैंक तथा वित्त कम्पनीबाट आकर्षक सेवा सुविधा सहित सस्तो ब्याजदरमा घर कर्जा पाएपछि १ खर्ब २१ अर्ब १५ करोड यसमा जाने कर्जाको परिमाण समेत बढेको छ ।

राष्ट्र बैंकको अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरुले २ खर्ब ९२ अर्ब ९२ करोड रुपैयाँ घर जग्गा खरिद गर्न कर्जा प्रवाह गरेका थिए ।

चालु आवको २ महिनासम्म बैंक तथा वित्त कम्पनीले घर जग्गा खरिद गर्न ४ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जसमा आवासीय प्रयोजनका लागि घर किन्न वा आवास निर्माणका लागि घडेरी (जग्गा) खरिदका लागि प्रवाह हुने १ करोड ५० लाख रुपैयाँसम्मको कर्जा २ खर्ब ५४ अर्ब १८ करोड रुपैयाँ प्रवाह गरेको हुन् ।

साथै व्यक्तिगत प्रयोजनका घर घरेडी (जग्गा) खरिद गर्नका लागि २ महिनामा १ खर्ब ५९ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल