लकडाउनयता १ लाख ६५ हजार घरजग्गा किनबेच, असोजको २ सातामै २९ हजार, कुन महिना कति ?



काठमाडौं । धेरैले भन्ने गर्छन् कोरोनाले घरजग्गा व्यवसाय ठप्प छ । अब घरजग्गाको भाउ घट्छ । तर यथार्थमा त्यस्तो होइन । कोरोना कहरकै बीच पनि घरजग्गा किनबेच बढेको तथ्यांकले देखाउँछ ।

असोज महिनाको दुई सातामा देशभर २९ हजारभन्दा बढी घरजग्गा किनबेच भएका छन् ।

तर कोरोना नियन्त्रण गर्न सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण मालपोत कार्यालय बन्द भएको अवस्थामा भने घरजग्गा किनबेच ठप्प भएको थियो । अरु महिना किनबेच कम भएको भएपनि बैशाख महिनामा भने देशभर एउटा पनि घरजग्गा किनबेच नभएको सरकारी तथ्यांकले देखाउँछ ।

सरकारले जब लकडाउन र निषेधाज्ञा खुलाएपछि घरजग्गाको किनबेच बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलख विभागको तथ्यांकअनुसार असोजको पहिलो साता झन्डै १३ हजार र दोस्रो साता १६ हजार २३२ घरजग्गा किनबेच भएका छन् । उक्त कारोबारबाट २ अर्ब ३४ करोड लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।

विभागका अनुसार चैतमा १७ हजार, बैशाखमा शून्य, जेठमा २४, असारमा ४१ हजार ६ सय ५२, साउनमा ३७ हजार ९ सय ७० र भदौ महिनामा १४ हजार ९ सय ८५ घरजग्गा किनबेच भएका थिए ।

विभागका अनुसार असोजको पहिलो साता १४ हजार घरजग्गा रोक्का र ८ हजार घरजग्गा फुकुवा भएका छन् भने दोस्रो हप्ता १५ हजार ३१७ घरजग्गा रोक्का भएका छन भने ९ हजार ३३० घरजग्गा फुकुवा भएका छन् ।

घरजग्गा रोक्का र फुकुवामा भने बैंकहरुको योगदान बढी छ । बैंकबाट कर्जा लिँदा धितो राखेक घरजग्गा ऋण तिर्न नसकेपछि बैंकहरुले रोक्का गर्ने गरेका छन् । र, ऋण तिरेपछि वा बैंकले लिलामी वा गैरबैंकिङ सम्पत्तिको रुपमा स्वीकार गरेपछि पनि रोक्का भएको सम्पत्ति फुक्का हुन्छ ।

लकडाउन र निषेधाज्ञा खुलेपछि बैंककहरु ऋण असूलीमा आक्रमक भएका छन् । बैंकहरुले दैनिकजसो कर्जा तिर्न आउने र धितो लिलामीका सूचना निकालेका सूचनाले पनि ऋण असूलीमा आक्रमक भएको पुष्टि गर्छ ।


पुष्प दुलाल