बैंकहरुबीच कर्जा खोसाखोस, कुन बैंकको कति कर्जा स्वाप ? राष्ट्र बैंकको नीतिले विकृति बढ्यो



काठमाडौं । कोरोना भाइरसको कारण सरकारले गरेको लक डाउन र विभिन्न स्थानीयतहले गरको निषेधाज्ञाले नयाँ परियोजनाहरु विस्तार हुन सकेका छैनन् ।

जसकारण बैंक तथा वित्त कम्पनीहरुमा कर्जाको माग हुन सकेको छैन । यद्यपि निक्षेप भने बढिरहेको छ । जसकारण बैंक तथा वित्त कम्पनीहरुको कर्जा र निक्षेपबीचको असन्तुलन बढ्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले २ खर्बभन्दा बढी लगानी योग्य पुँजी (अधिक तरलता) छ । कर्जा प्रवाह गरेर बैंकहरुले आम्दानी गर्छन् भने निक्षेप संकलन गर्दा खर्च हुन्छ ।

यसरी बैंकहरुले खर्च गरेर लिएको २ खर्ब रुपैयाँभन्दा बढी निक्षेप कर्जाको रुपमा प्रवाह गर्न नसक्दा त्यसको असर नाफामा समेत पर्ने आँकलन सहजै गर्न सकिन्छ ।

यसरी नयाँ परियोजनामा खासै लगानी हुन नसकिरहेको अवस्थामा पनि बैंकहरुको कर्जा प्रबाह भइरहेको तथ्यांकले देखाउँछ । यसका पछि एउटा कारण छ त्यो हो एक बैंकको कर्जा अर्को बैंकले स्वाप गर्नू ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार असोज पहिलो सातासम्म वाणिज्य बैंकहरुले ३५ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

‘नयाँ कर्जाको माग अहिले छैन, पुरानै कर्जा एक बैंकबाट अर्को बैंक सरिरहेको हुँदा केही बैंकको कर्जा बढेपनि केहीको घटेको छ, तोकिएको क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमासम्म प्रवाहित कर्जासमेत अर्को बैंकमा स्वाप भइरहेका छन्,’ ज्ञानेन्द्र ढुंगानाले  भने ।

संस्थागत ऋणीले बढी कर्जा स्वाप गरे

प्रणालीमा लगानीयोग्य रकम पर्याप्त हुनु र नयाँ कर्जाको माग नहुँदा बैंकहरुले एक अर्कासँग भएको पुरानै कर्जा खोसाखोस अर्थात् स्वाप गर्न थालेका छन् ।

बैंकहरुमा पर्याप्त पैसा हुँदा र केन्द्रीय बैंकले स्वाप गर्दा लाग्ने शुल्क घटाएपछि यस्तो प्रचलन बढेको राष्ट्र बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले बताए ।

‘यसअघिसम्म बैंकहरुले कर्जा स्वाप गर्दा ऋणीसँग ३/४ प्रतिशतसम्म शुल्क लिने गरेका थिए, अहिले राष्ट्र बैंकले ०.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ,’ कार्यकारी निर्देशक क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘बैंकहरुसँग अहिले अधिक तरलता छ, जसबाट उनीहरुको शुन्य आम्दानी हुन्छ, त्यसको साटो बैंकहरुले ५/६ प्रतिशत ब्याजदरमै कर्जा दिइरहेका छन् ।’

विपन्न वर्ग तथा लघु कर्जा आधारदरभन्दा तल गएरपनि प्रवाह गर्न पाउने हुँदा अहिले प्रयाजसो बैंकहरुले लघुवित्तलाई आधारदरभन्दा तल कर्जा दिएका उनले बताए ।

‘यसअघि एक बैंकबाट आधारदरमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा लिएका लघुवित्तलाई अर्को बैंकले आधारदरभन्दा तल रहेर कर्जा अफर गर्ने बित्तिकै स्वाप गर्छन्,’ उनले भने, ‘अहिले व्यक्तिगत र ठुला परियोजना कर्जाभन्दा लघुवित्त संस्थाहरुमा प्रवाहित कर्जा स्वाप बढी भएका छन् ।’

‘अहिले लघु वित्तहरुलाई बैंकहरुले सस्तो ब्याजदरमा कर्जा लिन फोन गरेर नै बोलाउन थालेका छन्,’ ‘त्यसकारण अधिकांश लघु वित्तहरुले एक बैंकमा भएको कर्जा अर्को बैंकबाट थोरै ब्याजदरमा कर्जा लिएर तिरिरहेका छन्,’ लघुवित्त संघका अध्यक्ष बसन्त लम्सालले भने ।

साउनको दोस्रो साता केन्द्रीय बैंकले एकिकृत निर्देशिका-२०७६ लाई संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै अग्रिम भुक्तानी शुल्क तथा कर्जा स्वाप हुँदा लिने स्वाप शुल्कको हकमा बैंकहरुले ०.१५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ ।

गत असारयता प्रायजसो वाणिज्य बैंकहरुको आधारदर समेत एकल अंकमा झरिसकेको छ । राष्ट्र बैंकले स्पावको शुल्क घटाएपछि उच्च ब्याजदरमा कर्जा लिएका संस्थागत ऋणीहरुले नयाँ ऋणीलाई सस्तो ब्याजदरमा कर्जा दिने बैंकमा स्वाप गरेको उनको भनाइ छ ।

‘राष्ट्र बैंकले स्वापको शुल्क घटाएयता यदि कुनै बैंकको कर्जा घटेको र कुनैको बढेको छ भने त्यो कर्जा स्वाप भएको नै हो,’ कार्यकारी निर्देशक क्षेत्री भने, ‘प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमामा प्रवाह भएका कर्जासमेत अर्को बैंकमा स्वाप भएको देखिन्छ ।’

तोकेको सीमामा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाहित कर्जा स्वाप हुँदा बैंकहरु कारवाहीमा समेत पर्ने उनले जानकारी दिए ।

‘राष्ट्र बैंकले तोकेको सीमामा कर्जा पुर्याएर बसेको बैंकको कर्जा अर्को बैंकमा स्पाव हुँदा कर्जाको पमिाण घट्छ,’ क्षेत्रीले भने, ‘कर्जा स्वाप भएको बैंक तोकिएको सीमामा कर्जा नपुर्याएर नै राष्ट्र बैंकको कारवाहीमा पर्छ ।’

प्राथमिकाता प्राप्त क्षेत्रमा राष्ट्र बैंकले तोकेको समयसीमा कर्जा प्रवाह नगरे बैंकहरुले हर्जाना तिर्नु पर्ने उनले जानकारी दिए ।

केन्द्रीय बैंकले साउनको दोस्रोसाता स्वाप शुल्क सम्बन्धी नयाँ व्यवस्था गरेको थियो । त्यसअघि गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले २८ खर्ब ८८ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेका कारण नयाँ परियोजना अहिले कर्जाको माग न्यून भएको नेपाल बैंकर्स संघका सीइओ अनिल शर्माले बताए ।

‘साउनदेखि केही बैंकहरुमा कर्जाको परिमाण केही बढेको छ तर नयाँ कर्जाको मागसँगै पुरानै कर्जा स्वाप हुने पनि बढ्दो छ,’ शर्माले क्लिकमाण्डूसँग भने, ‘ठुला परियोजनाहरुका साथै नयाँ कर्जाको समेत माग अहिले कर्जाको माग न्यून नै छ ।’

बैंकहरुको आधारदर कम हुँदा र राष्ट्र बैंकले स्वाप शुल्क घटाएपछि पुराना ऋणीहरुले एक बैंकबाट अर्को बैंकमा कर्जा स्वाप गरेको उनले बताए ।

कुन बैंकको कति कर्जा स्वाप ?

राष्ट्र बैंकले स्वाप शुल्कमा नयाँ व्यवस्था गरेयता अर्थात् असार मसान्तदेख असोज २ गतेसम्म २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले २८ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने असोज २ गतेसम्म २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

उक्त अवधिमा बैंकहरुले गरेको कर्जा प्रवाहको परिमाण हेर्दा १५ वटा बैंकहरुको कर्जा घटेको छ भने १२ वटा बैंकको बढेको छ । बैंकहरुले यस अवधिमा नयाँ ऋणी खोजेर कर्जा प्रवाह गर्नु भन्दा अर्को बैंकमा भएको पुरानै ऋण खोसाखोस गरेको तथ्यांकले प्रष्ट पार्छ ।

कर्जा स्वाप गर्नेे बैंकहरु

असार मसान्तदेखि असोज २ गतेसम्म सबैभन्दा बढी एनआइसी एशियाको कर्जा प्रवाह बढेको छ । एनआइसी एशियाले असार मसान्तसम्म १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । असोज २ गतेसम्म बैंकले १९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह बढाएर १ खर्ब ९२ अर्ब रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा एनएमी बैंकले ९ अर्ब १७ करोड रुपैयाँले कर्जा बढाएको छ । असार मसान्त्सम्म बैंकले १ खर्ब २० अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा असोज २ गतेसम्म १ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

त्यसैगरी, प्रभु बैंकले ७ अर्ब ९८ करोड, नेपाल इन्भष्टमेन्ट बैंकले ६ अर्ब ३ करोड, नविल बैंकले ५ अर्ब ९८ करोड र सेञ्चुरी बैंकले ४ अर्ब १६ करोड रुपैयाँ कर्जा बढाएका छन् ।

‘राष्ट्र बैंकले स्वापको शुल्क घटाएयता यदि कुनै बैंकको कर्जा घटेको र कुनैको बढेको छ भने त्यो कर्जा स्वाप भएको नै हो,’ कार्यकारी निर्देशक क्षेत्री भने, ‘प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमामा प्रवाह भएका कर्जासमेत अर्को बैंकमा स्वाप भएको देखिन्छ ।’

यसैगरी, असार मसान्तदेखि असोज २ गतेसम्म मेगा बैंकले ३ अर्ब ६ करोड रुपैयाँ, सिभिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ, सन्राइज बैंकले ९५ करोड रुपैयाँले र माछापुच्छ्रे बैंकले ८९ करोड रुपैयाँले कर्जा बढाएका छन् ।

साथै, प्राइम बैंकले ४० करोड रुपैयाँ र नेपाल बैंकले १२ करोड रुपैयाँले सो अवधिमा कर्जा प्रवाह बढाएका हुन् ।

कर्जा स्वाप भएका बैंकहरु

सो अवधिमा छ भने सबैभन्दा बढी नेपाल एसबिआइ बैंकको कर्जा घटेको छ । एसबीआईले गत असार मसान्तसम्म ९४ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । असोज २ गतेसम्म बैंकको कर्जा ६ अर्ब २१ करोड रुपैयाँले घटेर ८८ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै, सो अवधिमा कुमारी बैंकको ४ अर्ब ६५ करोड रुपैयाँले कर्जा घटेको छ । बैंकले गत असार मसान्तसम्म १ खर्ब १९ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । असोज २ गतेसम्म बैंकले कर्जाको परिमाण १ खर्ब १० अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, असार मसान्तदेखि असोज २ गतेसम्म एभरेष्ट बैंकको ३ अर्ब ६५ करोड, कृषि विकास बैंकको ३ अर्ब २७ करोड, हिमालयन बैंकको ३ अर्ब १३ करोड र नेपाल बंगलादेश बैंकको २ अर्ब २९ करोड रुपैयाँले कर्जा घटेको छ ।

साथै, लक्ष्मी बैंकको २ अर्ब ८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकको २ अर्ब ३ करोड, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ९४ करोड र सिटिजन्स बैंकको १ अर्ब १३ करोड रुपैयाँले कर्जा घटेको छ ।

असार मसान्तदेखि आसोजको २ गतेसम्ममा सिद्धार्थ बैंकको १ अर्ब १ करोड, एनसीसी बैंक र बैंक अफ काठमाण्डूको ७५ करोड र सानिमा बैंकको ११ करोड रुपैयाँले प्रवाहित कर्जाको परिमाण घटेको छ ।

बैंकर्स भन्छन्- नियमकको नीतिले कर्जाको खोसाखोस बढ्यो

नियाकम निकायको नीतिकै कारणले बैंकहरुमा कर्जा खोसाखोस बढेको नेपाल बैंकर्स संघका पुर्वअध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए ।

‘नयाँ कर्जाको माग अहिले छैन, पुरानै कर्जा एक बैंकबाट अर्को बैंक सरिरहेको हुँदा केही बैंकको कर्जा बढेपनि केहीको घटेको छ,’ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘तोकिएको क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमासम्म प्रवाहित कर्जासमेत अर्को बैंकमा स्वाप भइरहेका छन् ।’

चैतयता बैंकहरुमा निक्षेप संकलनको तुलनामा नयाँ कर्जाको माग घट्दाँ बैंकहरुले थोरै ब्याजदर वा आधारदरभन्दा तल गएरपनि कर्जा प्रवाह गर्न थालेको हुँदा पुराना ऋणीहरु मोलमोलाइ गर्दै कर्जा स्वाप गर्ने अग्रसर भएको शर्माको भनाइ छ ।

बैंकहरुको बेसरेट कम हुँदा र राष्ट्र बैंक बैंकले कर्जा स्वाप गर्दा लिने शुल्क घटाएपछि स्वाप हुने कर्जाको परिमाण बढेको उनले बताए ।

‘यसरी स्वाप भएको कर्जाले अर्थतन्त्रमा केही फरक पार्दैन’ ढुंगानाले थपे, ‘तर बैंकहरुको आन्तरिक व्यवस्थापन योजनामा भने असर पार्छ ।’

चैतयता बैंकहरुमा निक्षेप संकलनको तुलनामा नयाँ कर्जाको माग घट्दाँ बैंकहरुले थोरै ब्याजदर वा आधारदरभन्दा तल गएरपनि कर्जा प्रवाह गर्न थालेको हुँदा पुराना ऋणीहरु मोलमोलाइ गर्दै कर्जा स्वाप गर्ने अग्रसर भएको उनको भनाइ छ ।

कर्जा स्वाप गर्दा लघुवित्तको ब्याजदर घट्दो

नेपालका अधिकांस लघुवित्त संस्थाहरुले वाणिज्य बैंकहरुबाट कर्जा लिएर केही प्रतिशत मार्जिन राखी सदस्यहरुलाई कर्जा वितरण गर्छन् । हाल लघुवित्तहरुले करिब १ खर्ब ४० अर्ब रुपैयाँ बैंकहरुबाट कर्जा लिएका छन् ।

पछिल्लो बैंकहरुले ब्याजदरमा बैंकहरुले कर्जा दिन अनुरोध गरेका लघु वित्त संस्था बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले बताए ।

‘अहिले लघु वित्तहरुलाई बैंकहरुले सस्तो ब्याजदरमा कर्जा लिन फोन गरेर नै बोलाउन थालेका छन्,’ अध्यक्ष लम्सालले क्लिकमाण्डूसँग भने, ‘त्यसकारण गर्दा अधिकांस लघु वित्तहरुले एक बैंकमा भएको कर्जा अर्को बैंकबाट थोरै ब्याजदरमा कर्जा लिएर तिरिरहेका छन् ।’

बैंकहरुमा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा नै लघुवित्तले कर्जा पाएकै कारणले लघु वित्तहरुले समेत मार्जिन घटाएर ब्याजदर ब्याजदर कायम गरेको उनले जानकारी दिए ।

‘बैंकहरुमा अहिले नयाँ कर्जाको माग नहुँदा लघुवित्तहरुलाई सस्तो ब्याजदरमा नै कर्जा दिएका हुन्,’ उनले भने ‘केही समयपछि अन्य क्षेत्रबाट कर्जाको माग बढ्यो भने हामीले तिर्नुपर्ने ब्याजदर अवश्य नै बढ्छ ।’

अहिलेको अवस्था अल्पकालिन भएको हुँदा भोलिका दिनमा त्यो समयमा भने लघुवित्तहरु समस्यामा पर्ने उनको भनाइ छ ।

‘राष्ट्र बैंकले लघुवित्तले दिने ब्याजमा १५ प्रतिशतको क्याप लगाएको छ तर लिने ब्याजदरमा भने सीमा तोकेको छैन,’ अध्यक्ष लम्सालले भने, ‘भोलिको दिनमा बैंकहरुले अहिले दिएको ब्याजदर नै बढाए भने लघुवित्तहरु चल्न नै नसक्ने अवस्थामा पुग्न सक्छन् ।’
राष्ट्र बैंकले लघुवित्त संस्थालाई बैंकहरुले लिने कर्जाको ब्याजदरलाई स्थिर गर्नतर्फ सोच्नु पर्ने उनको भनाइ छ ।

अहिले बैंकहरुले लघुवित्तका प्रमुखहरुलाई दिनहूँ फोन गर्दै कर्जा स्वाप गरी आफ्नामा आउनुस् भन्ने गरेको एक लघुवित्तको सीइओले बताए ।

‘हिँजोका दिनमा १२/१३ ब्याजदरमा कर्जा लिने बैंकहरु आज ५/६ प्रतिशतमा नै कर्जा लिनुस् भनेर आग्रह गरिरहेका छन्,’ ती सीइओले क्किमाण्डूसँग भने, ‘अहिले बैंकहरुले पुराना ऋणीलाई ब्याजदर नघटाउने तर लघुवित्तका नयाँ ऋणीलाई बेसरेट भन्दा तल गएर कर्जा दिइरहेका छन् ।’

बैंकहरुले यसरी ३/४ महिनासम्म सस्तो ब्याजदरमा कर्जा दिने हो भने लघुवित्तको ब्याजदर १/२ प्रतिशत अझै घट्न सक्ने उनको अनुमान छ ।


पुष्प दुलाल