टिएमएसमा समस्याः वाइको र नेप्सेको गम्भीर लापर्बाहीले लाखौं लगानीकर्ता मारमा, ब्रोकरलाई हाइसन्चो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा दैनिक नयाँ-नयाँ समस्या देखिएको छ ।

जसको कारण सेयर लगानीकर्ताले सहजै सेयर कारोबार गर्न पाएका छैनन् । टिएमएसमा के समस्या देखिएको हो भनेर नेप्से, सेबोन, नेप्सेको अनलाइन सिस्टम बनाएको वाइको कम्पनीले पनि निक्र्योल गर्न सकेको छैन ।

अहिलेसम्म वाइकोले ४ वटा समस्या देखाएको छ । तर त्यो भन्दा बढी नै समस्या हुनसक्ने देखिएको छ । टिएमएसमा नसोचेको खालको नयाँ-नयाँ समस्या आउन थालेपछि वाइको कम्पनीलाई पनि समस्या समाधान गर्न हम्मे हम्मे परेको छ ।

केही समय पहिले देखिएका समस्या ब्रोकरको टिएमएसमा रिसोर्स नपुगेर आएको थियो । तर पछिल्लो समस्या धेरै फरक खालका छन् । ब्रोकरले हार्डवेयर थप्दा पुराना समस्या समाधान भएपनि अहिलेको समस्या निकै गम्भिर खालको देखिएको छ ।

स्रोतका अनुसार नेप्सेले सोचेभन्दा लगानीकर्ता धेरै नै सक्रिया भएका छन् । १६ हजारले निरन्तर अर्डर हालेको समेत नेप्सेले जानकारी पाएको छ । उनीहरु सिस्टममा बसिरहेको देखिएको छ । यसअघि सिस्टमले १ लाखसम्मको अर्डर धान्ने भनिएको थियो ।

नेप्सेको सिस्टम अन्यत्र कतै पनि नजोडिकन काम गर्नुपर्नेमा एनसीएचएल, डिम्याट, ब्रोकर, बैंक इन्ट्रिग्रेसन सबैलाई सिस्टममा हाल्दा समस्या देखिएको बताउन थालिएको छ ।

स्रोतका अनुसार वाइको नेपाल लोकल भेन्डर भएका कारण जतिबेला जे थप भन्यो त्यही फुत्त फुत्त थपेका कारण अनावश्यक लोड बढी भएको हो ।

अहिले पनि सिडिएससीलाई केही थप्न परेमा लामो समय लाग्ने तर नेप्सेको लोकल भेन्डर भएका कारण भटाभट थप्दा समस्या भएको हो ।

एक्सचेन्जसँग हुने म्याचिङ इन्जिनले कुनै पनि तनाब व्ययभार नलिने गरेको पाइएको छ ।

ब्रोकरमा रहेको सिस्टमले सिडिएस र नेप्सेलाई ब्रिजिङ गर्ने र लगानीकर्ताको रिक्स म्यानेजमेन्ट गर्ने हुनुपर्नेमा ब्रोकरले बनाउनु पर्ने टिएमएस पनि नेप्सेले बनाएको कारण समस्या भएको हो ।

सिस्टममा लिमिटेड फिचर भएको र त्यसमा ब्रोकर, सेबोन, लगानीकर्ताका फरक फरक माग थप्दै गएका कारण सिस्टमले काम गर्न समस्या हुन लागेको हो । त्यसको कारण हार्डवयरमा थप भार परेको नेप्से निकट स्रोतको भनाइ छ ।
दैनिक नयाँ नयाँ समस्या देखिएको कारण त्यो समस्या समाधान कसरी गर्ने भन्ने अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

वाइकोले भेटेको ४ समस्या

स्रोतका अनुसार अहिले वाइको कम्पनीले टिएमएसमा ४ वटा समस्या देखिएको जनाएको छ ।

१.एक्सपोनेन्टियल इन्क्रिज अफ इन यूजर एससीटीसी रिसोर्स अर्थात लगानीकर्ताले धमाधम अनलाइन खाता खोलीरहेको छन् ।

खाता खोल्दा कुनै लगानीकर्ताले पासवर्ड आएन, कुनैले बिओआईडी मिलेन भनिरहेको हुन्छन् । विभिन्न लगानीकर्ताले आफ्ना समस्या राख्दा सिस्टम हिट हुने गरेको छ । लगानीकर्ता ब्रोकरको लिंकमा गएर आफ्नो काम नसकेसम्मको लागि पटक पटक क्लिक गर्ने गरेका छन् ।

२. मल्टिपल आइओ इन्टेन्सिभ प्रोसेस सच एज टिएमएस इन्टर्नल जब अर्थात कोल्याटरल अपडेट, इसीसी रिक्वेस्ट, बिओआईडी अनम्याटले समस्या देखाएको जनाएको छ ।

३. एनसिएचएल भेरिफिकेसन साइकलमा समस्या देखिएको भनिएको छ ।

क्लियरिङ हाउसले सेवाग्राहीलाई दिने विभिन्न सेवाका कारण पनि समस्या देखिएको बताइएको छ । त्यसमा लगानीकर्ताले धेरै रिक्वेस्ट गर्दा समस्या देखिएको हो ।

४. बैंकिङ एसएसटिपी बेस ग्रस वेर सिटिपी अटो रनिङ क्वाइट फ्रिक्वेन्टली अटो ब्लकिङ दि मेन फिड भनिएको छ । अर्थात बैकिङ इन्ट्रिग्रेसनले पनि समस्या देखिएको हुनसक्ने वाइकोको भनाइ छ ।

अहिलेसम्म वाइकोले यी समस्या देखिएको भएपनि टिएमएसमा अन्य पनि समस्या हुने तर्क गरिरहेको छ । यति समस्या देखिएपनि के गर्दा समस्याको समाधान गर्न सकिन्छ त भन्दा वाइकोसँग त्यसको जवाफ छैन ।

नेप्से स्रोतका अनुसार हार्डवेयरमा समस्या देखिएको कारण टिएमएसमा समस्या देखिएको हुनसक्छ । तर वाइको भने त्यो पत्याउन तयार छैन । अनि के भएको हो भनेर सोध्दा पनि जवाफ नदिएको नेप्सेका अधिकारीको भनाइ छ ।

अधिकारीका अनुसार नेप्सेले हार्डवेयर, सफ्टवेयरमा केही समस्या देखिएको भए त्यो समस्या समाधान गर्न पहल गर्ने, कर्मचारी कम भएको हो भने त्यो थप्न तयार रहेको जानकारी गराउँदा पनि वाइकोले केही प्रतिक्रिया नदिएको बताइएको छ ।

अहिलेको अवस्थामा ज्वरो आएको बिरामीलाई सिटामोलले निको पारेको जस्तो भएको छ वाइकोले टिएमएसको समस्या समाधान गर्नु । समस्याको जड पत्ता नगालेपछि टालटुल पारेर सिस्टम चलिरहेको छ । अहिलेसम्म वाइकोले रोग पत्ता लगाउन नसक्दा नेप्सेलाई समेत समस्या भएको ती अधिकारीको तर्क छ ।

यसको दीर्घकालिन समस्याको समाधान निस्कन सकेको छैन ।

नेप्सेको सन्की नेतृत्व, सुल्झेन समस्या

नेप्सेका उच्च तहका अधिकारीहरुको सनको कारण पनि अहिले लगानीकताहरुले समस्या भोगिरहेका छन् । सुरुमा अनलाइन बनाउने समयमा नै नेप्सेको केही अधिकारीहरुले समग्र अनलाइन सिस्टम बनाउने बेलामा कसलाई कसरी सहभागी गराउने, कसलाई कसरी जोडने भन्ने विषयमा सुझाव दिएका थिए ।

तर नेप्सेका सिइओ लगायत नेतृत्वले त्यो बेला कर्मचारीको भन्दा पनि अरुको कुरा सुनेर गरेको निर्णयका कारण अहिले समस्या देखिएको हो ।

कहाँबाट आयो बैकिङ ?

जब अनलाइन बन्ने बेलामा नेप्से र वाइको कम्पनीबीच सम्झौता भएको थियो । त्यो समयमा बैकिङ समूहलाई समावेश गराउने भन्ने उल्लेख नै थिएन । त्यो बेलामा सिडिएससीलाई पनि समावेश गराउने कुरा सम्झौतामा राखिएको थिएन । विश्वका कुनै पनि स्टकमा यसरी समावेश गराउने प्रचलन छैन । नेपालमा भएका कारण सिस्टममा समस्या देखिएको हो ।

ब्रोकर सेन्टिक सिस्टममा नेप्से हावी

अनलाइन प्रणाली बनाउँदा नै ब्रोकर कम्पनीलाई केन्द्रमा राखेर बनाउन सकिएको भए लगानीकर्ताले यो समस्या भोग्नु पर्ने थिएन ।

तर नेप्सेलाई केन्द्रमा राखेर सिस्टम बनाएको कारण अहिलेको समस्या आएको हो ।

लगानीकर्ताले सिधै डिल गर्ने ब्रोकरसँग नै हो । तर सिस्टम नेप्से केन्द्रित हुँदा समस्या भएको हो । ब्रोकरले लगानीकर्ताको सेयर किनबेच गर्ने, भुक्तानी दिलाउने, सेयर ट्रान्सफर गराउने हो । त्यसकारण नेप्सेले सिस्टम बनाउने बेलामा ब्रोकरलाई केन्द्रमा राखेर नबनाएको कारण अहिलेको समस्या आएको हो ।

अब नेप्सेले सिस्टमलाई परिमार्जन गरेर ब्रोकरले नेप्से, सिडिएससी, बैंकसँग समन्वय गर्ने गरी सिस्टम बनाउनु पर्ने नेप्सेका अधिकारीको तर्क छ ।

‘नेप्सेमा साउद सिइओ भएर आएपछि आफुले काम देखाउन सबै अधिकार नेप्सेमा केन्द्रिकृत गरेको कारण आज अनलाइन सिस्टममा समस्या आएको, लगानीकर्ताले समस्या भोग्नु परेको हो,’ ती अधिकारीले भने ‘अब यो समस्याको समाधान भनेको सिस्टममा ब्रोकरलाई केन्द्रमा राखेर परिमार्जन गर्नैपर्छ ।’

ती अधिकारीका अनुसार अनलानइमा जब समस्या देखियो त्यो बेलाबाट नै सिइओ साउदले अनलाइनमा सुमस्या आएपछि लगानीकर्ताले विरोध गर्दा पनि तपाईको समस्या समाधान गर्छु भनेर मौखिक आश्वासन दिने पठाउने गरेको कारण अहिले समस्या बढदै गएको हो ।

‘पहिला नै नेप्सेकै कर्मचारीको सुझावमात्रै मानेको थियो भने अहिले समस्या नै हुने थिएन’ ती कर्मचारीले प्रश्न गरे ‘अन्तर्राष्ट्रियस्तरको अनलाइन भन्न चैं भनिएको छ । ७५ हजार प्रयोगकर्ता हुँदा यस्तो छ, ५ लाख पुगे भने हालत के होला ?’
अहिलेसम्म वाइको कम्पनीले पनि नेप्सेले भनेको काम जेनतेन गरिमात्रै रहेको छ । भविश्यमा के समस्या आउने हो भनेर सोच्न सकेको छैन ।

यो समस्या समाधान गर्नको लागि अझै पनि उक्त अनलाइन सिस्टममा ब्रोकरलाई केन्द्रमा राखेर परिमार्जन गर्ने हो भने अहिलेको समस्या ९९ प्रतिशत समाधान हुने नेप्से निकट स्रोतको जाबी छ ।

यसको लागि नेप्सेको सिइओ, नेप्सेको सञ्चालक समिति, धितोपत्र बोर्ड, अर्थ मन्त्रालयले भनेको खण्डमा नेप्सेले ब्रोकरलाई केन्द्रमा राखेर सिस्टम बनाउनु पर्छ । त्यसको लागि अन्य निकायले ध्यान दिन आवश्यक देखिएको छ ।

बोर्डको निर्देशनले अर्को आपत

केही समयअघि धितोपत्र बोर्डले नेप्सेलाई सबै लगानीकर्ताको डिपी चेक गरेर मात्रै कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । नेप्सेका एक अधिकारीका अुनसार विश्वमा कही नभएको निर्देशन धितोपत्र बोर्डले दिँदा समस्या झनै थपिएको छ ।

बोर्डले लकडाउनपछि डिपी चेक गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ ।

बोर्डको यो निर्देशनसँगै लगानीकर्ताले अर्डर गरेपछि नेप्सेले लगानीकर्ताले भने अनुसारको सेयर छ कि छैन भनेर डिपी चेक गर्नुपर्छ । लगानीकर्ताको तोकिए अनुसारको सेयर भएमा मात्रै म्याचिङ इन्जिनमा जान्छ ।

‘नत्र जाँदैन, त्यसको कारण पनि सिस्टममा लोड बढी भएको हो,’ ती अधिकारीले भने ‘५० हजारले अर्डर हाले भने ५० हजारको डिपी चेक गरेर सेयर छ भने म्याचिङ इन्जिनमा पठाउने छैन भने सर्ट सेल नट अलाउड भनेर म्यासेज पठाउनु पर्छ, त्यसले पनि लोड बढी भएको हो ।’

लगानीकर्ताले अर्डर हालेपछि उसको खातामा सेयर छ कि छैन भनेर हेरेर बस्न नहुने ती अधिकारीको तर्क छ । आफूसँग सेयर भए नभएको लगानीकर्ता आफँै जिम्मेवार हुनुपर्ने उनको तर्क छ । नेप्सेले नै चेक गर्ने भएपछि लगानीकर्तालाई तनाब न्यून भएको छ ।

बोर्डको यो निर्देशन स्टक एक्सचेन्ज को विश्वब्यापी मान्यता विपरित रहेको छ ।

ब्रोकरलाई आनन्द, नेप्सेलाई गाली गर्यो बस्यो

नेप्सेलाई आफूलाई सर्वेसर्वा ठान्ने गरी बनाएको सिस्टमका कारण ब्रोकर कम्पनीहरुलाई भने निकै हाइसन्चो भएको छ । यतिबेला ब्रोकरको काम सिस्टममा समस्या आए नेप्सेलाई गाली गरेर बस्ने र सेयर कारोबारबाट आउने कमिशन खाएर बस्ने मात्रै भएको छ । नेप्सेले पुरै सिस्टम चलाउँदा शुन्य रिक्समा काम गरिरहेका छन् । अहिले ब्रोकर र लगानीकर्ता नै शुन्य रिक्समा काम गरिरहेका छन् ।

नेप्सेलाई केन्द्रमा राखेर सिस्टम बनाएको थियो भने लगानीकर्ताले जुनसुकै समयमा पनि अर्डर गरेमा त्यो ब्रोकरको तहसम्म मात्रै हुने गर्दछ । त्यसपछि मात्रै स्टकको सिस्टममा जान्छ । अन्य देशको सिस्टमले पहिला ब्रोकर चिनेर लगानीकर्ताहुँदै स्टक चिन्छ ।

नेपालको सिस्टमले पहिलो स्टक चिनेर मात्रै लगानीकर्ता ब्रोकरलाई चिन्दा समस्या भएको हो । अहिलेको सिस्टममा स्टक हावी हुँदा ब्रोकरको खासै काम देखिएको छैन ।

बोर्डले नेप्सेलाई डिपी चेक गर्ने निर्देशन दिएपछि ब्रोकरलाई लगानीकर्तासँग विवाद गर्ने दिन सकिएको छ । अहिले पहिलाको जस्तो क्लोज आउटको समस्या पनि न्यून भएको छ ।

यो विषयमा नेप्सेका सिइओ साउदले कुरा बुझन नचाहने/नसक्ने र उनले यो कुरा बुझेर अर्थ मन्त्रालय धितोपत्र बोर्ड र वाइकोलाई नभनेसम्म समस्याको समाधान नहुने देखिएको छ ।

अहिले नेप्सेका सिइओको नेतृत्वदायी क्षमता र अडान नभएका कारण सबै क्षेत्रको चेपुवामा नेप्से रहेको स्वयम नेप्सेका कर्मचारी वृत्तमा चर्चा शुरु भएको छ ।


पुष्प दुलाल