क्लिनफिड लागू गर्न व्यवसायी तयार, सरकारको तयारी छैन



काठमाडौं । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण गराउने समय नजिकिदै जाँदा सरकारी निकायले नै त्यसको तयारी नगर्दा थप अन्यौलता सिर्जना भएको छ ।

आगामी कात्तिक ८ गतेदेखि नेपालभित्र प्रसारण हुने विदेशी च्यानल विज्ञापनरहित बनाउने लक्ष्य राखिएको छ । अर्थात् नेपालभित्र क्लिनफिड लागू गर्नुपर्ने वाध्यकारी व्यवस्था छ ।

सो समय आउन अब झण्डै १ महिना बाँकी रहँदा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले कुनै तयारी नगरेको सम्वद्ध व्यवसायीको आरोप छ ।

नेपालमा विदेशी च्यानल ल्याएर बिक्री वितरण गर्ने व्यवसायी क्लिनफिड लागू गराउन तयार छन् । उनीहरुले त्यसका लागि आवश्यक तयारी समेत गरेका छन् ।

तर, सरकारी निकायले नै अनुमति नदिँदा भारत र सिंगापुरबाट ल्याउनुपर्ने उपकरण ल्याउन समस्या भएको छ ।

डिजिटल राउण्ड वाउण्डका तर्फबाट ३१ डिसेम्बर २०२० मा क्लिनफिडका लागि आवश्यक उपकरण नेपाल ल्याउने अनुमति दिन सरकारलाई पत्र लेखेको छ ।

उसले क्लिनफिडका लागि डिआरएल २० नामक उपकरण र त्यसका लागि आवश्यक पर्ने अन्य सामग्री नेपाल भित्र्याउन दिन अनुमतिका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र पठाएको हो ।

नेपालमा विदेशी च्यानल ल्याएर बिक्री वितरण गर्दै आएको डिएसएनका प्रबन्धक गणेश निरौलाका अनुसार विगतमा व्यवसायी तयार नहुँदा क्लिनफिड लागू हुन सकेको थिएन । अहिले सरकारी निकायले आवश्यक तयारी नगर्दा क्लिनफिड लागू हुँदैन कि भन्ने आंशका पैदा भएको छ ।

डिएसएनले गत साउन १६ गते नै डिजिटल स्याटेलाइट रिसिभर आयात गर्न अनुमति दिन भन्दै सूचना तथा प्रसारण विभागलाई पत्र लेखेको छ ।

उक्त पत्रमा सोनी पिक्चर्स नेटवर्क इन्डिया अन्तर्गतका विभिन्न च्यानलको नेपालका लागि आधिकारिक वितरक भई बिक्री वितरण गरिरहेको विभिन्न सशुल्क च्यानल नेपाल सरकारले लागू गरेको विदेशी च्यानल विज्ञापन रहित नीति, २०७६ बमोजिम प्रसारण गराउन तयार रहेको जनाएको छ ।

डिएनएनले त्यसका लागि आवश्यक पर्ने उपकरणहरु डिजिटल राउण्ड अवाउट प्रालि सिंगापुरबाट आयात गर्नुपर्ने भएकाले आवश्यक प्रक्रियाका लागि वाणिज्य विभागलाई पत्राचार गरिदिन आग्रह गरेको छ ।

डिजिटल राउण्ड अवाउटका प्रमुख कार्यकारी अधिकृत दीपकजित सिंहले ३१ अगस्ट २०२० मा डिजिटल सिष्टम नेपालका प्रबन्धक निरौलालाई लेखेको पत्रमा समेत नेपाल सरकारको नीति अनुसार आफूहरु नेपालमा क्लिनफिड लागू गर्न तयार रहेको र त्यसका लागि अत्यावश्यक सामान आपूर्तिको वातावरण बनाइदिन भनेको उल्लेख छ ।

यस्तै गत असार १ गते सूचना तथा प्रसारण विभागले विज्ञापन ऐन, २०७६ को दफा ६ बमोजिम विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन भन्दै सम्वद्ध पक्षलाई सार्वजनिक सूचनामार्फत् नै जानकारी गराइसकेको अवस्था छ ।

पछिल्लो समय हामी क्लिनफिड लागू गर्न तयार भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी नगरिँदा कोरोनाको बहाना बनाएर अन्यौलता खडा गर्न खोजिएको व्यवसायीको दावी छ ।

यस्तै, इन्डियाकाष्ट मिडिया डिस्ट्रिव्यूसनले पनि ३ जुलाई २०२० मा नै डिएसएनलाई पत्र पठाई आफूहरु नेपाल सरकारको नीति अनुसार आफूहरुले प्रसारण गर्ने च्यानलमा विज्ञापनरहित बनाउन तयार रहेको जनाएको छ ।

‘हामी विदेशी च्यानल ल्याउने तयार छौं, च्यानल दिने विदेशी संस्था तयार छन्, यही बेला सरकारी निकायले पनि तदारुकताका साथ काम गरिदिनुपर्ने थियो, तर सो अनुसार हुन सकेन’ डिएसएनका प्रबन्धक निरौलाले भने ‘सरकारी निकायले ध्यान नदिँदा क्लिनफिड लागू गर्न सकस परेको छ ।’

क्लिनफिड लागू हुँदा नेपालको विज्ञापन बजार वृद्धि हुने, नेपालका कलाकार र प्राविधिकले काम पाउने वातावरण तयार हुनेछ ।

विज्ञापन ऐनले क्लिनफिड मात्रै नभई डबिङ भएका भारतीय विज्ञापन समेत प्रसारण प्रसारण गर्न नपाउने व्यवस्था गरेको छ ।

गत असार १ गते सूचना तथा प्रसारण विभागले सार्वजनिक गरेको सूचनामा समेत सोही कुरा उल्लेख छ । तर, तयारी हेर्दा कुनै पनि काम अगाडि बढेको छैन ।

क्लिनफिडका सन्दर्भमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवश्यक छलफल गर्ने बताएको भएपनि अरु काम अगाडि बढेको छैन ।

केही समय पहिले सञ्चार मन्त्रालय समेत सम्हालेका डा युवराज खतिवडाले क्लिनफिडका लागि आवश्यक तयारी भइरहेको जनाएका थिए । मिडिया सोसाइटी, नेपाल विज्ञापन संघलगायतका निकायसँगको भेटमा उनले विज्ञापन बोर्ड गठन गर्ने र क्लिनफिडका लागि आवश्यक तयारी भइरहेको र छिट्टै प्रक्रियामा प्रवेश गर्ने बताएका थिए ।

उनले त्यसो भनेको समेत लामै समय भयो । उनी पदबाट समेत हटिसकेका छन् । तर सूचना तथा सञ्चार प्रविधि मनत्रालय र मातहतका निकायले कुनै तयारी गरेका छैनन् ।

यहीबीचमा नेपालमा विदेशी च्यानल ल्याएर वितरण गर्दै आएका सेवा प्रदायकहरु क्लिनफिड लागू गर्न तयार भइरहेको बेला भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले ६ महिना थप गर्न समय माग गरेको पत्र सार्वजनिक भएको छ ।

सरकारले आगामी कात्तिक ८ गतेदेखि क्लिनफिड लागू गर्ने तयारी गरेको बेला भारतीय पक्षको पत्र सार्वजनिक भएको छ ।

नेपालका सबै जसो केवल सेवा प्रदायक, विदेशी च्यानल वितरक तथा सम्वद्ध सबै संस्था क्लिनफिड लागू गर्न तयार भएको बेला भारतीय पक्षबाट आएको पत्रले थप अन्यौलता उत्पन्न गरिदिएको छ ।

भारतीय पक्षले कोरोनाको कारण देखाउँदै नयाँ तयारी गर्न नपाएको भन्दै समय थप गर्न माग गरेको पत्रमा उल्लेख छ ।

नेपालका सबै जसो सम्वद्ध निकाय तयार भइरहेको बेला सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवश्यक तयारी नगर्नु तथा सूचना तथा प्रसारण विभागले सो बारेमा प्रक्रिया अगाडि नबढाएको बेला भारतीय पक्षले नै समय थप गर्न भनिदिएको छ ।

भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले सूचना तथा सञ्चार सचिव हरि बस्याललाई पत्र पठाई समय सारिदिन भनेको छ ।

कोरोना महामारीका कारण प्राविधिक एवं व्यवस्थापकीय काम गर्न समस्या पैदा भएको भारतीय पक्षले पठाएको पत्रमा उल्लेख छ ।

नेपालमा लामो समयदेखि व्यापारी तथा व्यवसायी एवम् सम्वद्ध पक्षले समेत क्लिनफिड लागू गर्न माग गर्दै आएका थिए । सोही मागका आधारमा सरकारले विज्ञापन नीति नै ल्याएको हो ।

तर, कानून कार्यान्वयनमा जाने तयारी भइरहँदा कोरोनाको महामारी देखाएर वर्षौदेखिको माग कार्यान्वयन हुने चरणमा पुगेको बेला पुनः समय थप गर्नुपर्ने माग जायज नभएको एक विदेशी च्यानल वितरकले जानकारी दिए ।

ती वितरकले भने, ‘हामीले आवश्यक तयारी गरिसकेका छौ । हाम्रो तर्फबाट सबै तयारी पूरा भएको छ । प्राविधिक तयारी समेत सकिएको बेला सरकारले नै चासो नदेखाउँदा भारतीय पक्षले खेल्ने मौका पाएका छन् ।’

उनले कोरोनाको संक्रमण फैलन नदिने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर भएपनि थप तयारीका लागि आउन भारतीय पक्षलाई आग्रह गर्न सकिने बताए ।

मौका आएको बेला काम गर्न छाडेर अरुले के भन्छ भन्ने तर्फ ध्यान दिनु जरुरी नभएको ती च्यानल वितरकको भनाइ छ । क्लिनफिड लागू भए नेपालको विज्ञापन बजार बिस्तार हुने विश्वास लिइएको छ ।

क्लिन फिड लागू हुन एक महिना भन्दा बढी समय बाँकी रहेको बेला सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई भारतीय ब्रोकास्टिङ फाउन्डेसनका सचिव राधाकृष्णनले पत्र पठाएका हुन् ।

अघिल्लो संघीय संसद अभिवेशनबाट विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ कात्तिक ८ गते प्रमाणीकरण भएको थियो । ऐनको परिच्छेद २ को ६ (१) मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रावधान समेटिएको छ ।

ऐन प्रारम्भ भएको एक वर्षभित्र विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

क्लिनफिडका लागि टेक्नोलोजिकल सोलुसन्स, डिकोडर्सको खरिद एवं परीक्षण, डिकोडर्सको डेलिभरी, वितरण तथा डिप्लोइमेन्टलगायतका कार्य अगाडि बढाउन नसकेको भारतीय पक्षले पठाएको पत्रमा उल्लेख छ ।

तर नेपालका व्यवसायी तथा सरोकारवालाले भने आफूहरु क्लिन फिडका लागि तयार रहेको बताएका छन् ।

शुरुमा क्लिनफिडमा आउन नमानेको विदेशी च्यानल प्रसारक सरकारको नीति अनुसार क्लिनफिड दिन तयार भएका छन् । सूचना तथा प्रसारण विभाग समक्ष प्रतिवद्धता पत्र पठाई डाउनलिंक नविकरण समेत भइसकेको छ ।

समय घर्कदै जाँदा क्लिनफिड निर्धारित समयमा लागू हुन सकेन भने प्रसारक तथा वितरक जिम्मेवार नहुने र सरकारको कारण आफ्नै कार्यmत्रम कार्यान्वयन भएन भन्ने गलत सन्देश जाने व्यवसायीको भनाइ छ ।

क्लिनफिड लागू गराउन तयार व्यवसायी समयसीमा भित्र जसले उक्त नीति कार्यान्वयन गर्न तयार छैन, उसको डाउनलिंक अनुमति रद्द गर्ने चेतावनी दिनुपर्ने बताउँछन् ।


क्लिकमान्डु