लकडाउन खुकुलो भएसँगै साइकलको बिक्री बढ्यो, कस्तो साइकलको कति पर्छ मूल्य ?



काठमाडौं । केही वर्षयता काठमाडौं उपत्यकाका सडकमा साइकल यात्रीहरुको संख्या बाक्लो हुन थालेको छ । विशेष गरी सार्वजनिक विदाका दिन साइकल यात्रीहरुको संख्या बढेको देख्न सकिन्छ ।

सार्वजनिक विदा सदुपयोग गर्न साइकल लिएर उपत्यका वरिपरीका डाँडा चहार्नेका तस्बिर र भिडियोहरु पनि सामाजिक सञ्जालमा उत्तिकै देख्न सकिन्छ ।

वातावरणीय हिसाबले मात्रै नभइ, आर्थिक र स्वास्थ्यका हिसाबले पनि साइकलको प्रयोग राम्रो मानिन्छ । त्यसैले पछिल्लो समयमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको विकल्पका रुपमा साइकलको प्रयोग गर्ने बढेका छन् ।

साइकलप्रेमीहरुले उपत्यकाका सडकमा साइकलको रुट माग गर्न थालेको लामो समय बितिसकेको छ । यसका लागि सरकारले योजना नबनाएको पनि होइन । तर प्रभावकारी रुपमा केही पनि हुन सकेको छैन ।

यद्यपि केही समूहहरु साइकल सिटीको रुपमा काठमाडौंलाई विकास गर्न सकिने भन्दै अभियानमा निरन्तर छन् । तिनै अभियन्ताको अभियानसँग जोडिएर ललितपुर महानगरपालिकाले साइकल लेनको शुरुवात नै गर्यो ।

यद्यपि त्यो हालसम्म उद्घाटनमै मात्रै सीमित भएको छ ।

लकडाउन र निषेधाज्ञामा बिक्री बढ्यो
लकडाउन र निषेधाज्ञाले गर्दा बजारमा साइकलको माग बढ्दो छ । सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै बजारमा साइकलको माग बढेको हो ।

साथै बढ्दो साइकलको मागले गर्दा बजारमा साइकलको अभाव हुन थालेको साइकल व्यवसायीहरूले बताएका छन् ।

बजारमा विभिन्न कम्पनीका विभिन्न प्रकारका साइकल पाइन्छ । तर, नेपाली बजारमा सबैभन्दा बढी २० देखि ५० हजार रुपैयाँसम्म मूल्यको बढी खपत भएको उनीहरूको भनाइ छ ।

तस्बिरः लेनिन बञ्जाडे

पछिल्लो समय बाध्यताले होस् वा रहरले सडकमा धेरैले साइकल चलाएको देख्न पाउँछौं । कतिपय मानिसको साइकल चलाउने रहर हुन्छ भने कतिपय मानिसले रहर तथा स्वास्थ्यको लागि पनि साइकल चलाउने गर्दछ ।

साथै, कतिपय मानिसहरूको ‘हबी’ नै साइकल चलाउने भएकाले सानादेखि ठूलाहरुले पनि साइकलमा रुचि देखाउन थालेका छन् ।

व्यापार ५० प्रतिशतले बढ्यो
लकडाउन र निषेधाज्ञाले गर्दा बजारमा विगतको भन्दा ५० प्रतिशतले साइकलको व्यापार भएको व्यवसायीहरुको भनाइ छ ।

आरके साइकल स्टोरका सञ्चालक राकेश शाहीले लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै साइकलको माग बढेको बताए ।

‘विगतको दिनभन्दा लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै ५० प्रतिशतले साइकलको व्यापार भइरहेको छ,’ उनले भने, ‘बजारमा बढ्दो माग भए आयातमा कठिनाइ भइरहेको छ ।’

सरकारले लागू गरेको जोरबिजोर प्रणालीले गर्दा पनि साइकलको खपत भएको उनको बुझाइ छ ।

‘पहिले २० हजारभन्दा माथिको साइकल बढी खोज्थे तर अहिले लगभग १० हजारदेखि २० हजारसम्मको साइकल किन्न थालेका छन्,’ उनले भने ।

बजारमा साइकलको माग बढेसँगै अभाव हुन थालेका व्यवसायीहरुको भनाइ छ । बजारमा साइकलको खपत हुने बेलामा नै साइकलका आयात कम भएर व्यापार गर्ने उनको गुनासो छ ।

साथै, विगतको भन्दा ३० प्रतिशतसम्म व्यापार वृद्धि भएको उनले बताए । लकडाउन र निषेधाज्ञाको समयका उनको स्टोरमा ३० हजारभन्दा बढी मूल्य पर्ने साइकलमा बढी आकर्षण देखेको उनको भनाइ छ ।

लकडाउनभन्दा अगाडि साइकलको व्यापार कम थियो । दुई महिनापछि लकडाउन खोल्ने वित्तिकै व्यापार ह्वात्तै बढेको बालकिशोर चौधरी साइकल स्टोरका सञ्चालक बालकिशोर चौधरीले जानकारी दिए ।

तस्बिर साैजन्यः लेनिन बञ्जाडे

उनका अनुसार व्यापार ५० प्रतिशतले वृद्धि भए पनि बजारमा आफ्नो ग्राहकलाई पुर्याउनका लागि सीमित मात्रामा साइकल बेचिरहेको बताए ।

‘बजारमा साइकलको अभाव हुन थालेको छ,’ उनले भने, ‘एकैचोटी बेच्दा बजारमा समस्या हुन्छ भनेर ग्राहकलाई पछि कुनै अभाव नहुने हिसाबले सीमित मात्रमा बिक्री गरिरहेका छौं ।’

विगतका दिनमा माउन्टेन ट्रेकिङमा जाने मानिसले मात्रै महंगा साइकल किन्थे भने अहिले सामान्य मानिसले पनि साइकल किन्न थालेको उनको बुझाइ छ ।

कति पर्छ साइकलको मूल्य ?
साइकल किन्दा कुन प्रयोजनको लागि कस्तो र कति बजेटको किन्नेमा भर पर्छ । नेपाली बजारमा साइकल सामान्यतया ४ हजारभन्दा माथि मूल्यको पाइन्छ । जसमा न्यूनतम ५ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मका साइकल बजारमा पाइन्छ ।

साथै, साइकल किन्दा ब्रान्ड र गुणस्तरमा भर पर्छ । सामान्यतया बालकदेखि वृद्ध मानिस लक्षित विभिन्न प्रकारका पाइन्छन् । जसमा ३ देखि ५ वर्ष उमेरका बालबालिकालाई कम्तीमा ४ हजार ५ सयदेखि ५ हजार ५ सम्ममा १२ इन्चको साइकल किन्न सकिन्छ ।

त्यसैगरी, ५ वर्षदेखि ८ वर्ष उमेरका बालबालिकाका लागि १६ इञ्चको साइकल किन्न सकिन्छ । जसको मूल्य ६५ सय देखि ८ हजार पाइन्छ । साथै १० देखि १५ वर्ष उमेरसम्म बालबालिकाका लागि १८ इञ्चको ७ हजारदेखि १५ हजारसम्मको साइकल बजारमा किन्न पाइन्छ ।

यस्तै, २४ इञ्चको युवायुवतीलगायत बुढा मानिसहरूले चलाउने साइकलमा कुनै पनि सहायक नहुने भएकाले बालबालिकाले चलाउन नसक्ने बालकिशोरका सञ्चालक चौधरी बताउँछन् । जसको मूल्य सामान्यतयाः मूल्य ७ हजारदेखि १२ हजारसम्म पर्दछ ।

माउन्टेन ट्रेकिङ तथा साइकलिङ गर्ने साइकलहरू २६ इञ्चको गियर तथा नन–गियर बजारमा पाइन्छ । जुन साइकल गियरसहित १० हजार ५ सयदेखि माथिको मूल्यमा किन्न सकिन्छ ।

साइकल किन्दा कति हाइटको किन्ने र कति वटा गियर भएको साइकल किन्ने अनुसारमा मूल्य फरक पर्दछ ।

सामान्य गियर भएको साइकल १० हजार ५ सय रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा बढी मूल्यको साइकल बजारमा पाइन्छ ।

त्यसैगरी २७ इञ्चको साइकलको पनि २६ इञ्चको जस्तै विशेषता भएता पनि त्यसको मूल्य १४ हजार ५ सयदेखि अधिकतम ४ लाखसम्म पर्ने चौधरीको भनाइ छ ।

विशेषगरी मानिसले २६ इन्चको साइकल धेरै चलाउने भएकाले त्योभन्दा माथि इञ्चको साइकल कम चलाउने गरेको उनको दाबी छ ।

बजारमा २९ इञ्चको गियर साइकल पाइन्छ । यसको मूल्य ८ हजारभन्दा माथिको मूल्यमा किन्न सकिन्छ ।

सबैभन्दा बढी बिक्री हुने साइकल
नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने किङ्स, केटीएम, जायन्ट र जीटिए कम्पनीका साइकल छन् । त्यस्तै सबैभन्दा बढी बिक्री हुने साइकलको मूल्य करिब १० हजारदेखि ५० हजारको रेञ्जमा छ ।

हाल नेपालमा रोड रोबर, एभर्सन, किङ्स, केटीएम, पोलिगन, ट्रेक, जायन्ट, जीटिएलगायत अन्य ब्राण्डको साइकल पाइन्छ ।

-तस्बिरः श्रीधर पाैडेल


क्लिकमान्डु