कस्ता ऋणीले कतिसम्म पुनरकर्जा पाउँछन् ? यस्तो छ प्रक्रिया



काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई पुनरकर्जा लिन बोलाइरहेका छन् ।

राष्ट्र बैंकले वर्गिकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन् । राष्ट्र बैंकले स्थापना गरेको पुनरकर्जा कोष बैंक तथा वित्तीय सस्थाद्वारा सञ्चालन भइरहको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कोरोना भाइरसले समस्यामा परेको व्यवसायलाई उकास्न राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ ।
गत आवको असार मसान्तसम्म ७ अर्ब ४९ करोड रुपैयाँ पुनरकर्जा बैंक तथा वित्तीय संस्थामार्फत् प्रवाह भएको छ ।

पुनरकर्जा कस्ता व्यक्तिले उपयोग गर्न पाउँछन् भन्नेबारेमा धेरैमा द्विविधा नै छ । ब्याजदर अनुदानमा बैंकले कर्जा लिनका लागि आवेदन दिन आह्वान नै गर्दा पुँजी अभाव भएका हरेकको चाहना हुन्छ पुनरकर्जा उपयोग गर्ने ।

राष्ट्र बैंकले आवेदनको लागि कर्जा छनौट गर्दा बैंक तथा वित्तीय संस्थाले प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपने उल्लेख गरेको छ ।

साथै चालु आवमा पुनरकर्जा वितरणको लागि प्राथमिकतामा कोरोना प्रभावित ऋणीलाई राखेर वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसकारण  राष्ट्र बैंक मार्फत ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाले दिने सो ऋण उपयोग गर्न हामी इच्छुक छौं ।

तर पुनरकर्जाको उपयोगबारे राम्रोसँग नबुझदा आवश्यतामा सहज र सस्तो ब्याजदरमा ऋण उपयोग गर्न बैंक तथा वित्तीय संस्था पुग्नेहरु निराश भएर खाली हात पनि फर्किनु परेको छ ।

पुनरकर्जा भनेको के हो ?

केन्द्रीय बैंकले बैंक विकास कोषबाट बैंक तथा वित्तीय सस्थामार्फत पुनरकर्जा कोष सञ्चालन गरेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले पुनः सोही कर्जा भुक्तानीको आधारमा राष्ट्र बैंकले दिने ब्याज अनुदानलाइ  पुनरकर्जा भनिन्छ । पुनरकर्जा राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थामार्फत आएको ऋणीको आवेदन अनुसार बैंकहरुलाई रकम वितरण गर्छ । बैंक तथा वित्तीय संस्थाले भने ऋणीले माग गरेको पुनरकर्जा अनुसार पुरानो ऋणमा ब्याज छुट दिन्छन ।
केन्द्रीय बैंक ब्याज अनुदानमा पुनरकर्जा लिनको लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पहिले नै कर्जा उपयोग गरिसकेको हुनु पर्छ । राष्ट्र बैंकले पुनरकर्जाको मागअनुसार बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध गराउछ। पुनरकर्जामार्फत प्राप्त रकमले बैंकमा थप तरलता उपलब्ध हुन्छ भने ऋणीले पुरानो ब्याजदरमा तोकिएको ब्याज निश्चित सययसम्मको लागि छुट पाउछ ।

सोही कर्जाको ब्याजलाई क्षेत्रगतरुपमा पुनरकर्जामा समाविष्ट गरिने हुन्छ । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी ३ प्रकारका पुनरकर्जा १ वर्षसम्मका लागि पाउने व्यवस्था गरेको छ ।

पुनरकर्जाको ब्याजदर कति ?

राष्ट्र बैंकले बैंक तथा वित्तीय पुनरकर्जाको माग अनुसार वितरण गरिरहको छ । जसको ब्याजदर अनुसार ऋणीले  पाउने हो ।

पुनरकर्जाको प्रकारअनुसार ब्याजदर फरक फरक छ ।

घरेलु तथा साना उद्यम पुनरकर्जा

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २ प्रतिशत ब्याजदरमा एकमुष्ट लघु, घरेलु तथा साना उद्यम पुनकर्जाको दिन्छ । बैंकले पुरानो ब्याज छुट ५ प्रतिशत ब्याजदर ऋणीलाई ब्याज छुट दिन्छ ।

बिशेष पुनरकर्जा

राष्ट्र बैंकले १ प्रतिशत ब्याजदर बैंक तथा वित्तीय संस्थालाई बिशेष पुनरकर्जा दिन्छ र बैंकले ३ प्रतिशत ब्याजदरमा ऋणीलाई छुट गर्छ ।

साधारण पुनरकर्जा

राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकलाई साधारण पुनरकर्जा दिन्छ र बैंकले ऋणीलाई ५ प्रतिशत ब्याजदर छुट गर्छ ।

कस्ताले ऋणीले पाउँछन् पुनरकर्जा ?

हालसम्म पुनरकर्जा सम्बन्धी भएको अन्यौल्ता भनेको नै  सस्तो ब्याजदरमा कस्ता व्यक्तिले पुनरकर्जा पाउँछन् भन्ने नै हो ।

मानौः तपाईंले एक वर्षअघि व्यापार व्यवसाय अथवा उद्योग सञ्चालन गर्न कुनै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनु भएको थियो ।

जसको साँवा/ब्याज किस्ता भुक्तानी तपाइले तोकिएकै समयमा गरिरहनु भएको छ । अथवा कोरोना काल शुरु हुनभन्दा अघिसम्म नियमित भुक्तान भइरहेको थियो र कोरोना कै कारणले तपाईले किस्ता भुक्तान गर्न सक्नु भएन ।

यस्तो अवस्थामा तपाईंले बैंक तथा वित्तीय संस्थामा पुनरकर्जाको लागि आवेदन दिनसक्नु हुन्छ । तर बैंक तथा वित्तीय संस्थाबाट हालसम्म कर्जा नै नलिएको व्यक्तिले भने पुनरकर्जा कोषबाट कर्जा उपयोग गर्न पाउँदैनन् ।

तपाईं यदी पुनरकर्जाको लागि योग्य ऋणी हुनभएमा तपाइले भुक्तान गरिरहनु भएको पुरानो ब्याजदरमा पुनरकर्जा अन्तर्गतबाट प्राप्त हुने कर्जाको ब्याजदरबाट छुट हुन्छ ।

मानौं तपाइले बैंक तथा वित्तीय संस्थाबाट लिनु भएको पुरानो कर्जाको ब्याजदर १२ प्रतिशत थियो । तपाइ बिषेश पुनरकर्जाको लागि योग्य हुन भएमा राष्ट्र बैंकले १ प्रतिशत ब्याजदरमा बैंकलाई दिन्छ र बैंकले पुरानो कर्जाको ब्याजदर तपाइलाई ३ प्रतिशत ब्याजदरमा छुट गर्छ ।

अर्थात् अब तपाईले लिएको कर्जाको ब्याजदर १ वर्षका लागि ३ प्रतिशतमात्र हुन्छ ।

एक वर्षसम्म तपाईंले कर्जाको ब्याजदर ३ प्रतिशतसम्म मात्र बैंकमा भुक्तानी गर्नुपर्छ । तर यदी कुनै कारणबस नियमित रुपमा कर्जाको साँवा ब्याज भुक्तान गर्न ढिलाइ भएमा तपाइले उपयोग गरिरहको पुनरकर्जा स्वत् खारेज हुन्छ ।

पुनरकर्जाको वितरण प्रक्रिया

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आह्वान गर्छ । सोपछि बैंक तथा वित्तीय संस्थाले तोकिएको दायरा खुलाएर आफ्ना ग्राहकलाई पुनरकर्जाको आवेदन दिन सुचना सार्वजनिक गर्छन् ।

हाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनरकर्जामा आवेदन दिन न्यूनतम १ वर्ष कर्जा भुक्तानी अवधि हुनुपर्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्राप्त आवेदनको छानबिन गरी केन्द्रीय बैंकले तोकेको मापदण्ड पुगेका ऋणीले गरेका पुनरकर्जाको मागको विवरण राष्ट्र बैंकमा पठाउँछ ।

त्यसमा राष्ट्र बैंकले थप छानबिन गरी योग्य ऋणीलाई आवश्यकता अनुसार पुनरकर्जा सम्बन्धीत बैंकमार्फत् वितरण गर्छ । केन्द्रीय बैंकले बैंकमार्फत् तोकिएको मापदण्ड पुरा भएको ऋणीलाई आवश्यकता हेरी पुनरकर्जा वितरण गर्छ । तर पुनरकर्जा उपयोग गर्नको लागि तोकिएको क्षेत्रमा अन्तर्गतकै हुनु पर्छ ।

पुनरकर्जा लिन आवश्यक कागजपत्र

बैंक तथा वित्तीय संस्थाले आवह्न गरेको पुनरकर्जा आवेदन दिन सम्बन्धीले बैंकले तोकेको समयावधि भित्रमा ऋण लिएको हुनु पर्छ । आदेदनमा यसअघि पुनरकर्जा उपयोग गरेको भएमा सोको सम्पुर्ण विवरण आवेदनमा नै उल्लेख भएको हुनपर्छ ।

पुराना ऋणीलाई नै पुनरकर्जा वितरण हुने भएकाले पुनरकर्जा लिन ऋणीको आवश्यक कागतपत्र बैंकले पुरानै विवरण प्रयोग गर्छ । जसमा कम्पनीको नाममा कर्जा लिनेभएमा लेखापरीक्षण गरिएको वित्तीय विवरण, कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र, कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण बैंकले हेर्ने गर्छ ।

यसका साथै, कोरोना प्रभावितका कारण पुनरकर्जाको आवेदन भएमा कोरोना अघिसम्मको वित्तीय विवरण र कर्जाको किस्ता भुक्तानीको अवस्थाको निगरानी गरिन्छ ।

निर्यात पुनरकर्जाको हकमा भने विगत फर्म तथा व्यवसायको सम्पुर्ण विवरण, व्यवसायीक रुपमा गरिएको निर्यातको विवरण, सो वापत विदेशी मुद्रा प्राप्त गरेकोे पुष्टि हुने कागजपत्र आवश्यक पर्छ ।

पुनरकर्जाको लागि कस्ता ऋणी योग्य ?
राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी ३ प्रकारका ३ प्रकारमा विभाजन गरेको छ । जसमा लघु, घरेलु तथा साना उद्यमका लागि निम्न मापदण्ड पुरा भएको हुनुपर्ने छ ।
१. सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरू
२. प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाख रुपैयाँसम्मका कर्जाहरू
३. प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू
४. वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु
५. कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु
६. कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण
७. बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू

विशेष पुनरकर्जाका लागि निम्न मापदण्ड पुरा भएको हुनुपर्ने छ ।

१. सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू
२. न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू
३. रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु
४. वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु
५. कोभिड-१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु

साधारण पुनरकर्जाका लागि निम्न मापदण्ड पुरा भएको हुनुपर्ने छ ।

१. जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग-व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू  ।

२. पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू  ।

३. कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू ।


दिलु कार्की