भैरहवा विमानस्थलको भौतिक प्रगति ९२.५ प्रतिशत, अब के काम बाँकी छ ? (फोटोफिचर)



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९२.५ प्रतिशत भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । सन् २०१९ को डिसेम्बरमा पूरा हुने लक्ष्य लिए पनि उक्त समयमा पूरा हुन सकेको थिएन ।

त्यसपछि सन् २०२० को मार्च महिनासम्म निर्माण सम्पन्नको मिति तोकिएको थियो । तर उक्त समयमा पनि कोरोनाका कारण काम रोकिँदा हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । मन्त्रायले आगामी डिसेम्बर महिनामा निर्माण सम्पन्न हुने लक्ष्य लिएको छ ।

के-के काम भए ?
हालसम्म विमानस्थलमा ३००० मिटरको धावनमार्ग, ट्याक्सी वे एवंम् एप्रोनको सिभिल निर्माण तर्फको कार्य सम्पन्न भई विद्युतीकरण सम्बन्धि कार्य चालु छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन एवम् कन्ट्रोल टावर सम्वन्धि कार्यको संरचना निर्माणको कार्य सम्पन्न भई हाल उपकरण जडान, फिनिसिङ्ग, आन्तरिक काम भइरहेको छ ।

ल्यान्डस्केपिङ, भित्रि तारवार एवंम् नाला बनाउने कार्यहरु अन्तिम चरणमा छ भने आइसीबी-०२ अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडान पूर्व तयार हुनुपर्ने भौतिक संरचनाहरु निर्माण भइरहेको छ ।

यसरी हेर्दा हालसम्म भौतिक प्रगति ९२.५ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत पूरा भएको छ ।

लकडाउन समयमा भएका मुख्य मुख्य कार्यहरु
धावन मार्ग र जहाज पार्किङ्ग क्षेत्र जोड्ने लिंक ट्याक्सी वे ‘सी’ को निर्माण कार्य सम्पन्न भइसकेको छ । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावन मार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य लकडाउनमा शुरु भइ हाल चालु अवस्थामा छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, इन्टेरियर वर्क्, पानीको वितरण, फायर डाइड्रेन्ट एवम् अन्य उपकरण जडान, धावन मार्गमा विद्युतीय कार्यका लागि आवश्यक पूर्वाधार सम्बन्धि कार्य पनि भइरहेको छ । साथै पेरिमिटर सडकका लागि आवश्यक नदीजन्य निर्माण सामग्री संकलन एवम् ढुवानी, टर्मिनल भवनमा मार्बल, टाइल र आल्मुनियम एवम् रंगरोगन सम्वन्धि कार्य सम्पन्न भइसकेको छ ।

त्यसैगरी चीनमा तयार भएको कन्भेयोर बेल्ट, धावनमार्ग एवंम् ट्याक्सी वेको विद्युतीय सामग्रीमध्ये केही आयोजना स्थलमा आइपुगेको साथै केही आउने क्रममा बाटोमा रहेको विमानस्थलले जानकारी दिएको छ ।

हाल उपकरण जडानका लागि ३५ जना चिनियाँ दक्ष प्राविधिक÷इन्जिनियर जनशक्ति ल्याउनका लागि आवश्यक कागजात सहित सम्वन्धित निकायमा पत्राचार गरिएको छ । लकडाउनको अवधिमा चिनियाँ २९ सहित औसतमा करिब २७५ जना कामदारले दैनिक कार्य गरिरहेका थिए । लकडाउनको अवधिमा भौतिक प्रगति ४.५ प्रतिशत भएको छ ।


क्लिकमान्डु