पर्यटन क्षेत्र पुरानै लयमा फर्कन ५ वर्ष लाग्छ, खर्च कटौतीको विकल्प छैनः पर्यटन व्यवसायी



काठमाडौं । कोरोनाका कारण अत्यन्तै प्रभावित पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन कम्तीमा ५ वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएको अवस्थामा पर्यटक आउने वतावरण बनाउन निकै समय लाग्ने भएकाले तत्कालै रिभाइभ नहुने उनीहरुको तर्क छ । त्यसैले तत्कालका लागि खर्च कटौतीको विकल्प नभएको उनीहरुको तर्क छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले सोमबार आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको सम्भावना विषयक भिडियो कन्फरेन्समा बोल्दै सरोकारवालाले पर्यटन क्षेत्र स्वास्थ्य, अर्थ र समाजसँग जोडिएकाले तत्काल लयमा फर्कन अवस्था नहरेको तर्क गरे ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्र लगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए ।

‘अब मास टुरिजमको युग तत्कालका लागि हट्यो,’ पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘२० लाख पर्यटक ल्याउन लक्ष्य लिएका हामीले अब डेढ लाख मात्रै ल्याउन पनि गाह्रो हुने अवस्था आएको छ ।’

उनले पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुनु पर्छ जहाँ कुनै विषेश इन्ट्रेस्टका आधारमा सेवा दिन सकियोस, अनि मात्रै पर्यटक भित्र्याउन सकिने बताए । उनले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भित्र्याउन सकिने समेत तर्क गरे ।

कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ ।

‘अहिले पर्यटकमा कोरोनाको डलर छ, त्यसलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘नेपालको पर्यटन क्षेत्रले पर्यटकका लागि के–के दिन सक्छन् भन्ने निस्थिचत पनि गर्नुपर्छ ।’

कोभिडबाट बच्न गरेको प्रोटोकल तथा कामहरुको प्रचारप्रसार र नेपालमा अहिलेसम्म गर्न नसकेको प्याकेज जस्तो निकुञ्जलगायतका क्षेत्र बन्द अवस्थामा रहेको भन्दै त्यस्तो क्षेत्रमा अहिलकति लचकता अपनाउनुपर्ने उनले सुझाव समेत दिए ।

नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठले तर्क समेत गरे । त्यसका लागि पर्यटकको स्वासथ्य सुरक्षा तथा बीमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यस्तर्फ ध्यान पु¥याउनुपर्ने बताए ।

उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याएको भएपनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

‘कार्यान्वयन नहँदा स्टिमुलस प्याकेज पनि प्रभावकारी भएको छैन, त्यस्तै फरक स्वार्थ भएका पर्यटन व्यवसायीहरुको स्वार्थलाई समन्वय गर्न सके पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने ।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकोको उल्लेख गर्दै यउसबाट रिभाइभ हुनका लागि कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने बताए ।

‘सन् २०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न,’ संयोजन शाक्यले भने, ‘पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी क्षेत्र दुबैको क्षेत्रको समन्वयनको आश्यकता पर्छ ।’
त्यस्तै, पर्यटन भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको संयोजनक शाक्यको भनाइ छ ।

कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजस्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए ।

त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायतका खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई रिभाइभ गर्नका लागि खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताए । पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत् ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु