अर्थमन्त्रीको नाममा सेयर बजारमा खेल्ने निस्तेज, दोहोरो अंकको गिरावट



काठमाडौं । विगत साढे २ वर्ष यता सेयर बजारमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा चलखेल गर्नेहरुको शक्ति अहिले कमजोर भएको छ ।

यो अवधिमा जब सेयर बजारमा गिरावट आउँछ तब मन्त्री खतिवडाको नाम लिने र उनले बोलेको शब्द ‘सेयर बजार अनुत्पादक क्षेत्र हो’लाई चर्चामा ल्याउने गरिएको थियो । धेरै समयदेखि लगानीकर्ताहरुले अर्थमन्त्रीको कारण बजार घटेको उनले मन्त्रालय छोडेपछि बजार बढछ भनेर तर्क गर्दै आएका थिए ।

मन्त्री खतिवडाले शुक्रबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछिको पहिलो कारोबारमा नै दोहोरो अंकको गिरावट देखिएको छ । धेरै लगानीकर्ताहरुले आइतबार बजारमा सर्किट लाग्छ, मन्त्री खतिवडाको बिदाईलाई स्वागत गर्छ भनेर बसेको थिए, लगानीकर्ताको त्यो सोचाईलाई बजारले गलत साबित गरिदिएको छ ।

आइतबार नेव्से सूचक १०.४५ अंकले घटेर १४९९.९७ बिन्दुमा रोकिएको छ । १९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता सेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा टे«डिङ समुहको उपसूचक २२.६३ अंकले बढ्दा बैंकिङ ८.१४, विकास बैंक २०.८, निर्जीन बीमा २५.६१, उत्पादन तथा प्रशोधन ४०.४३, जीवन बीमा २६.३३, माइक्रोफाइनान्स १०.२७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ४० करोड १३ लाख १० हजार ८४ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु