चाडवाड नजिकिँदै जाँदा चिनी अभावसँगै मूल्यवृद्धि, कहिले आउँछ टुंगो छैन



काठमाडौं । बजारमा चिनीको अभाव देखिएसँगै चिनीको भाउ बढेको छ । केही समय अघिसम्म ७३ रुपैयाँ प्रतिकेजीमा उपलब्ध चिनीको मूल्य यतिबेला प्रतिकेजी ९५ रुपैयाँसम्म बिक्री भइरहेको छ ।

यस्तो अवस्थामा छिट्टै चिनी आयात हुन सकेन भने दशैंमा चिनी नपाउने अवस्था आउन सक्ने देखिएको छ ।

दशैं र तिहार जस्ता चाड पर्व नजिकिँदै गरेको अवस्थामा बजारमा चिनीको माग अत्यधिक हुने अवस्थालाई ध्यानमा राख्दै सरकारले ३० हजार मेट्रिकटन चिनी आयतका लागि अनुमति दिइसकेको छ ।

चिनी आयातका लागि सरकारले साल्ट्र ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार विभागलाई ३० हजार मेट्रिकटन चिनी आयातका लागि अनुमति पाइसकेका छन् । जसमा कर्पोरेसनलाई २० हजार र कम्पनीलाई १० हजार मेट्रिकटन चिनी आयातको अनुमति सरकारले साउनको अन्तिम साता दिएको हो ।

तर ती कम्पनीले पनि दशैंसम्म चिनी आयात गर्न नसकेको अवस्थामा बजारमा चिनीको अभाव हुने र यसले मूल्य निकै बढ्ने निश्चित छ ।

हाल साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात जम्मा ३ सय टन मात्रै छ ।

कर्पोरेशनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार मौज्दात चिनीले केही दिन मात्रै धान्न सक्छ ।

‘हाल ३ सय मेट्रिकटन मात्रै चिनी साल्ट ट्रेडिङमा मौज्दात छ, अहिले हामीले खुद्रामात्रै बिक्री गरिरहेका छौं, ब्लकमा बिक्री गर्ने हो भने एक दिनमै सकिन्छ,’ उनले भने, ‘हामीले सरकारसँग चिनी आयातका लागि अनुमति माग गर्दा १४ हजार मेट्रिकटन चिनी मौज्दात थियो त्यसबेलादेखि नै खुद्रा बिक्री रोकेका हौं ।’

दशैं र तिहार जस्ता चाडवाडमा बजारमा चिनीको अभाव नहोस् र सहज आपूर्ती होस् भन्ने उद्देश्यले सरकारले दुई सरकारी कम्पनीलाई चिनी आयात गर्नका लागि अनुमति दिएको हो ।

‘हामीले ५० हजार मेट्रिक टन चिनी आयातका लागि लकडाउन शुरु हुनुभन्दा अघि नै अनुमति मागेका थियौं, जसमा २० हजार मेट्रिक टन आयातका लागि अनुमति पाएका छौं,’ साल्ट ट्रेडिङ कर्पोरेशनका सूचना अधिकारी राजभण्डारीले भने ।

त्यसैगरी पहिलो पटक चिनी आयात गर्न लागेको खाद्य तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी आयातको अनुमति मागेकोमा १० हजार नै आयात गर्न अनुमति पाएको छ ।

दोस्रो पटक टेन्डर आह्वान
साल्ट ट्रेडिङले आयात गर्न अनुमति पाएसँगै छिटो चिनी आयात गर्नका लागि पहिलो पटक १५ दिनको सर्ट टेन्डर आह्वान गरेको थियो । जसमा ४ वटा कम्पनीले आवेदन दिएका थिए । राजभण्डारीका अनुसार कुनैले पनि धरौटी रकम जम्मा नगरेकाले पुनः टेन्डर आह्वान गरिएको हो ।

दोस्रो पटक टेन्डर आह्वान गरिएको म्याद भदौ १५ गते सकिएको छ । जसमा ३ वटा कम्पनीले मात्रै आवेदन दिएका छन् । राजभण्डारीका अनुसार ३ वटा कम्पनीमध्ये २ वटाले धरौटी रकम जम्मा गरेका छैनन् । अब बाँकी एउटा कम्पनीले मापदण्ड पूरा गरेको भए कानूनी सुझावका आधारमा जिम्म पाउँछ । अन्यथा फेरि टेन्डर आह्वान गर्नुपर्ने हुन्छ ।

यसका लागि तीन वटा कम्पनीको मूल्यांकन हुन्छ । यसका लागि ३/४ दिनसम्म समय लाग्छ ।

राजभण्डारीका अनुसार यसपाली दशैं आउन केही समय अझै बाँकी रहेकाले सम्पूर्ण प्रक्रिया पूरा गरी समयै चिनी आयात गरी आपूर्ती सहज बनाउने समेत दाबी समेत गरे ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने तिहारसम्म चिनी आयात गर्ने जानकारी दिएको छ ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार कम्पनीले पहिलो पटक चिनी आयात गर्न लागेकाले प्रक्रिया लामो हुने भएकाले तिहारसम्म चिनी ल्याउने योजना रहेको बताइन ।
‘दशैंका लागि साल्ट ट्रेडिङले आयात गरेको चिनीले माग पूर्ती गर्नेछन्,’ सुवेदीले भनिन्, ‘तिहारमा पनि चिनीको खपत धेरै भएका कारण तिहारसम्ममा व्यापार कम्पनीले ल्याइसक्छौं ।’

यता चिनी उद्योगीले नेपालमै उत्पादित चिनीले पुग्ने र आयात गर्नु नपर्ने भन्दै आयात बन्द गर्नुपर्ने माग राख्दै आएका छन् । तर उद्योगीहरुले भने जस्तो स्वदेशी उत्पादनले पुग्दैन र, आयात गर्नैपर्छ ।

नेपालमा वर्षमा एक सिजनमा ४ लाखभन्दा बढी मेट्रिक टन चिनी उत्पादन हुने भनिए पनि चिनी उद्योगबाट एक लाख ३० हजारदेखि १ लाख ७० हजार मेट्रिकटन चिनी उत्पादन हुँदै आएको छ । जबकी नेपाली बजारमा २ लाख ५० हजार मेट्रिकटन चिनी माग छ ।

गत वर्ष मात्रै ७३ हजार मेट्रिक टन आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु