शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द



काठमाडौं । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको जोखिम बढेको भन्दै अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी उपत्यकाका ३ जिल्ला र २०० भन्दा बढी संक्रमित भएका जिल्लामा सेवा प्रवाह गर्दा सकेसम्म घरबाटै व्यवस्था मिलाउन निर्णय भएको उनले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको भन्दै होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि होटल रेष्टुराँ, ट्राभल र ट्रेकिङ खोल्ने भनिएकोमा अब भने होटल तथा रेष्टुराँमा बसेर खान नपाइने तर प्याक गरेर मात्रै लैजाने पाउने (टेक अवे) निर्णय गरेको हो ।

खतिवडाले भने, ‘होटल तथा रेष्टुराँमा बसेर खान पाइँदैन, टेक अवे मात्रै पाइन्छ ।’

खतिवडाले होटल रेष्टुराँमा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्रै परिचालित हौं भन्दा भिडभाड गर्ने, मास्क नलगाउने र स्वास्थ्यको जोखिम बढाउने प्रवृति भएकाले उक्त निर्णय गरिएको जानकारी दिए ।

त्यसैगरी भदौ १ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड हुने गरी छोटो, मध्यम र लामो दूरीका तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यातायात सवारी साधन चल्ने दिने भनिएकोमा त्यसलाई संशोधन गरी भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी भदौ १ गतेदेखि शैक्षिक संस्था, सैलुन, स्वीमिङ, सभा सम्मेलन, पुस्तकालय खोल्ने भनिएकोमा अब भदौ १६ गतेपछि मात्रै खोल्ने निर्णय गरेको छ ।

बैंक, सहकारी, लघु वित्तीय, संस्था तथा जनतासँग प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने संघ संस्थाहरुले अनलाइनका माध्यमबाट वित्तीय सेवा प्रवाह गर्ने, ५० प्रतिशत कर्मचारीबाट मात्रै सेवा प्रवाहको व्यवस्था मिलाउने र बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने बैठकले निर्णय गरेको छ ।

त्यसै गरी बैठकले अत्यावश्यक बाहेकका सभा, बैठक गर्न पाउने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले अब १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकले गत जेठ १२ गतेको निर्णयमा २० वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्ने भनिएकोमा त्यसलाई संशोधन गरी १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ ।

नेपाल भारत सीमावर्ती १० वटा नाकामा काँकडभिट्टा झापा, रानी नाका मोरङ, माडर सिराह, गौर रौतहट, बीरगञ्ज पर्सा, बेहलिया रुपन्देही, कृष्णनगर कपिलवस्तु, जमुना बाँके, गौरीफन्टा कैलाली जिल्ला र गठ्ठा चौकी कञ्चनपुर जिल्लाका नाकाबाट मात्रै अब नेपाल प्रवेश गर्न पाइनेछ ।


क्लिकमान्डु