बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोनाको जोखिम बढ्यो, मापदण्ड पालना नगरेको आरोप



काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएसँगै सर्वसाधरणमा समेत संक्रमणको जोखिम बढेको छ । दैनिक सयौं सेवाग्राहीलाई सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेपछि यतिबेला जोखिम अझ बढेको छ ।

हाल उपत्यका तथा उपत्यकाका बाहिरका १० वटा वाणिज्य बैंक र २ वटा विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसले गर्दा दैनिक सेवा लिन जाने ग्राहकहरुमा समेत जोखिम बढेर गएको छ ।

हालसम्म राष्ट्रिय वाणिज्य, ग्लोवल आइएमई, कृषि विकास, मेगा, सनराइज, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई कोरोना पुष्टि भइसकेको छ । यस्तै, एभरेष्ट, लक्ष्मी बैंक, गरिमा विकास बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकका कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

दैनिक लाखौँ मानिसले बैंक तथा वित्तीय संस्थाका कार्यालयमा नै पुगेर बैंकिङ कारोबार गर्छन् । कुनै पनि प्रकारको सेवा दिने कुनै एक कर्मचारीलाई कोरोना संक्रमण हुँदा सेवाग्राहीमा संक्रमणको जोखिम उच्च हुन्छ ।

मापदण्ड पालना भएन
बैंक तथा वित्तीय संस्था तथा तीनका एटीएम बुथहरु कोरोना संक्रमणको केन्द्र बन्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । त्यहाँ कार्यरत कर्मचारीसँगै समूदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै जाँदा धेरै मानिसहरु भिड हुने बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सम्बन्धि तोकिएको मापदण्ड पूर्णरुपमा पालना नगरेको उनीहरुको तर्क छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था कोरोना संक्रमण फैलने केनद्रका रुपमा चित्रित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

‘उपत्यकाभित्रका एटीएम बुथहरुमा बैंक तथा वित्तीय संस्थाले सम्बन्धित निकायले तोकेको मापदण्ड पूरा नगर्दा कोरोना संक्रमण फैलने केन्द्रका रुपमा चित्रित हुँदै गएको छ । यसमा सम्बन्धित संस्थाका साथै सरकारी निकायले पनि ध्यान दिन जरुरी छ । त्यसमा थप आवश्यक समन्वय प्रशासनले पनि गर्नेछ,’ दाहालले भने ।

क्लिकमाण्डूले उपत्यकाका केही बैंक तथा वित्तीय संस्थामा जाँदा कतिपय शाखा कार्यालयका सुरक्षा गार्डको हातमा भएका थर्मल गन बिग्रिएको पाइएको छ भने कतिपयमा शाखा र एटीएम बुथमा समेत सेनिटाइजरको व्यवस्था गरिएको छैन ।

कतिपय संस्थामा त सेनिटाइजरको खाली भाँडो मात्रै राखिएको छ ।

बैंकको कर्मचारीलाई कोरोना संक्रमण हुँदा त्यसले समुदायस्तरमा फैलिने सम्भावना रहने नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी बताउँछन् ।

‘यसमा बैंक व्यवस्थापनसँगै सरकारले समेत जोखिम व्यवस्थापन गर्ने तर्फ ध्यान दिनुपर्ने छ,’ अध्यक्ष रेग्मीले क्लिकमाण्डूसँग भने, ‘बैंकमा निक्षेप जम्मा गर्ने र झिक्ने वा अन्य कारोबार गर्नेभन्दा बढी राजस्व बुझाउने तथा सरकारी कारोबार गर्ने ग्राहकको भिड बढी हुन्छ ।’

सरकारले राजस्व बुझाउने समय तोकिदिएको कारण जरिवाना तिर्नुपर्छ भनेर सेवाग्राही कर बुझाउन जाँदा बैंकको राजस्व काउन्टरमा भिड लागेका दृश्यले स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा नभएको बुझ्न गाह्रो नहुने उनको तर्क छ । यसले चिन्ता अझ थपेको उनको भनाइ छ ।

‘एकातिर राजस्व बुझ्नलाई भए पनि बैंकले जोखिम लिएर कर्मचारी खटाउनुपर्ने बाध्यता छ,’ उनले भने ।

सरकारले बैंकबाट हुने कोरोना संक्रमण रोक्नका लागि कर प्रणालीलाई डिजिटल बनाउनुपर्ने र सोही माध्यमबाट तिर्ने तथा यस अवधिभर जरिवाना नलाग्ने व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

सरकारले साउन ७ गतेदेखि लकडाउन हटाएको घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्थामा ग्राहकको भिड लाग्न थालेको छ ।

‘संक्रमण न्यूनिकरणका लागि बैंकको तर्फबाट गर्न सक्ने काम अनिवार्य गर्न÷गराउन हामीले माग राखेका छौं,’ उनले भने, ‘कोरोना संक्रमित कर्मचारीको उपचार तथा मृत्यु भएमा त्यसको क्षतिपूर्ति बैंकले नै दिन हामीले व्यवस्थापनलाई दबाब दिएका हौँ ।’

कर्मचारीलाई आइसोलेसन, क्वारेन्टिनमा लाग्ने सम्पूर्ण खर्चलगायत स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने अन्य सामग्रीको खर्च समेत बैंकले नै उपलब्ध गराउने व्यवस्था गर्न संघले दबाब दिएको उनले जानकारी दिए ।

उच्च व्यवस्थापनको लापरबाहीले गर्दा बैंकका कर्मचारीलाई कोरोना संक्रमण बढेको स्वमय् कर्मचारीको गुनासो छ । दैनिक हजारौँ व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउने बैंकका तल्लो तहका कर्मचारीको स्वास्थ्य सुरक्षामा बैंक व्यवस्थापनले बेवास्था गरेको एक बैंकका कर्मचारीले बताए ।

‘न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड बैंक व्यवस्थापनले देखावटी मात्र पालना गराएको छ,’ ती कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘कर्मचारी र सेवाग्राहीबीचको सामाजिक दुरी हरेक बैंकमा पालना भएका छैनन् ।’

एक शाखाले न्यूनतम १ हजारदेखि २ हजार जनालाई सेवा दिने हुँदा बैंकमार्फत हुने कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि बैंक व्यवस्थापन र सरकार थप संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।

अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाले सेवा दिँदा न्यूनतम स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि जरुरी रहेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम् स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र कार्यालय सञ्चालन गर्न आधा दर्जन बढी निर्देशन जारी गरिसकेको छ ।

केन्द्रीय बैंकले बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष रहने कर्मचारी तथा सेवाग्राहीको सुरक्षा र संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका उपाय सेनिटाइजर, माक्स, किटनाशक निर्मलीकरण पञ्जालगायतको प्रयोग गर्न निर्देशन दिइरहेको छ ।

यस्तै, कार्यालयमा प्रवेश गर्ने प्रत्येक कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम अनिवार्य परीक्षण गर्न समेत सुझाव दिएको छ । सामाजिक दुरी कायम गर्दै ग्राहकको चाप नहुने गरी सेवा प्रवाह गर्ने र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने सुझाव राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकले मात्र नभएर नेपाल बैंकर्स संघले समेत यस्ता सुझाव संघसम्वद्ध बैंकहरुलाई दिँदै आएको संघका सीईओ अनिल शर्माले बताए ।

‘हालसम्म बैंकहरुले तोकिएको मापदण्ड पूरा गरेर नै सेवा दिएको जानकारी दिएका छन्,’ सीइओ शर्माले क्लिकमाण्डूसँग भने, ‘पछिल्लो समय कर्मचारीमा संक्रमण बढेपछि संघले पुनः बैंकहरुलाई तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न÷गराउन सुझावसहित पत्र पठाउने तयारी गरिरहेको छ ।’

संघले बैंकहरुलाई कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षाका लागि हरेक छलफलमा सचेत गराइरहेको उनको भनाइ छ ।


क्लिकमान्डु