काका-भतिजको लडाइँः चिनी उद्योग चलाउँदा पुर्खौली सम्पत्ति समेत गुम्यो



काठमाडौं । मदिरा व्यवसायबाट उदाएको परिवार चिनी कारखाना खोल्दा पुर्खौली सम्पत्ति समेत गुमाउनुपर्ने अवस्थामा पुगेको छ ।

स्याङजा वालिङका अर्जुनकुमार श्रेष्ठ पुर्खादेखि नै व्यापारमा संलग्न थिए । वालिङबाट रुपन्देही झरेर मदिरा उद्योग मोहिनी हाइजिन प्रोडक्टस उद्योग खोलेका उनको उद्योग राम्रोसँग नै सञ्चालनमा थियो । भिजन ब्राण्डमा रक्सी उत्पादन गरेका श्रेष्ठले चिनी उद्योगमा लगानी गर्ने योजना बनाए ।

चिनी उद्योग सञ्चालन गर्ने योजना नै रुपन्देही क्षेत्रमा उदाउँदो व्यवसायीको छवी बनाएका श्रेष्ठलाई धक्का लाग्यो ।

अर्जुनकुमार श्रेष्ठले २०६६ सालमा नवलपरासी जिल्लामा मोहिनी सुगर एण्ड जनरल इण्डष्ट्रिजको नाममा उद्योग समेत खोले । उद्योग एकवर्ष चल्यो त्यसपछि चल्न सकेन ।

अर्जुनकुमार श्रेष्ठले काका हरि श्रेष्ठसँगको साझेदारीमा नै व्यवसाय गरेका थिए ।

मदिराबाट पैसा कमाएपछि चिनी उद्योग खोल्ने उनले योजना सुनाउँदा धेरैले नखोल्न सुझाव दिएका थिए ।

‘चिनी उद्योग चलाउन धेरै कठिन छ, यसतर्फ नलाग्नुहोस् भनेर हामीले सुझाव दिएका थियौ, पारिवारिक विवाद र चिनी उद्योगको लगानीले अर्जुन श्रेष्ठको परिवारलाई नै डुबायो,’ उनलाई राम्रोसँग चिन्ने भैरहवाका एक व्यवसायीले भने ।

मदिरा उद्योग तथा चिनी उद्योगका लागि लिएको ऋण नतिरेपछि बैंकले उनको उद्योग र पुर्खौली घर भएको वालिङको पनि घरजग्गा लिलामीको प्रक्रिया अगाडि बढाएको छ ।

उद्योग चलाउन नेपाल बंगलादेश (एनबी) बैंकबाट श्रेष्ठले ऋण लिएका थिए ।

‘लकडाउन घोषणा हुनु अगाडि नै अर्जुन श्रेष्ठको मोहिनी उद्योग ऋण नतिरेर खराब भइसकेको थियो, त्यही ऋण उठाउने प्रक्रिया शुरु भएको हो,’ बैंक स्रोतले भन्यो । श्रेष्ठले १५ वर्ष अगाडि ५ करोड रुपैयाँ ऋण लिएका थिए । यसमा साँवा र ब्याज भुक्तानी नियमित नै थिएन ।

पारिवारिक विवादको कारण अर्जुन श्रेष्ठको व्यवसाय धरासायी भएको एनबी बैंकका अधिकारीहरु बताउँछन् ।

बैंकले श्रेष्ठको मदिरा उद्योगको जग्गा तथा मेसिन तथा उनको र उनको परिवारको नाममा रुपन्देहीमा रहेका विभिन्न जग्गा र पुर्खौली सम्पत्ति स्याङजाको वालिङको सम्पत्ति लिलामी गर्नेछ ।
उद्योगले किसानलाई समेत रकम भुक्तानी गर्नुपर्ने छ ।

उद्योग सञ्चालनका लागि १५ वर्षअघि श्रेष्ठले नेपाल बंगलादेश बैंकबाट कर्जा लिएका थिए । आज उद्योग बन्द भइसकेको २ वर्ष बितिसकेको छ । तर बैंकबाट लिएको कर्जाको साँवा र ब्याज गरी हालसम्म ५ करोड रुपैयाँ अझै भुक्तानी भएको छैन ।

उद्योग बन्द भएपछि उद्योगले कर्जाको किस्ता भुक्तानी गर्न बन्द गर्यो । बैंकले पनि उद्योगीको अवस्था हेरी कर्जा डिफर गर्यो । तर लामो समयसम्म पनि किस्ता डिफर गर्दा समेत भुक्तानी नभएपछि बैंकले धितो लिलामीको प्रक्रिया शुरु गरेको एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘उद्योगका लगानीकर्ता श्रेष्ठको परिवारिक विवादका कारण उद्योग बन्द भएको हामीले जानकारी पाएका हौं, बैंकको लगानीको रिटर्न सुनिश्चितताका लागि हामीले धितो लिलामीको प्रक्रिया शुरु गरेका हौं,’ उनले भने ।

अहिले बैंकले धितो लिलामी बिक्रीका लागि ७ दिने सूचना समेत प्रकाशित गरेको छ । कर्जा सुरक्षणवापत राखिएको धितो मूल्यांकन न्यूनतम २५ करोड रुपैयाँ हुन सक्ने सीइओ ढुंगानाको भनाइ छ ।


क्लिकमान्डु