नेप्सेको अनलाइनमा चौतर्फी समस्या, धितोपत्र बोर्डले सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई वास्तविक सूचना नदिएको भन्दै धितोपत्र स्पष्टिकरण सोधेको छ ।

बुधबार कारोबार शुरु नहुँदै नेप्सेको सर्भरमा समस्या आएपछि निर्धारित समयभन्दा ४५ मिनेट ढिलो गरी कारोबार शुरु भएको थियो । बुधबार दिनभर वेबसाइट र टीएमएसको डाटा नमिलेका लगायत कैयन समस्या देखिएको भन्दै बोर्डले नेप्सेलाई प्रस्टिकरण सोधेको छ ।

सेयर कारोबार गर्ने अनलाइन प्रयोगकर्ताले टीएमएस प्रणाली (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम) प्रयोग गर्छ भने बाँकीले नेप्सेको आधिकारिक वेबसाइट नेपाल स्टक डटकममा प्राप्त तथ्यांकका आधारमा कारोबार गर्छन् । तर बुधबार भने नेप्सेको वेबसाइटमा एउटा र टीएमएस प्रणालीमा अर्को तथ्यांक देखिँदा लगानीकर्तामा अन्योलता देखिएको थियो ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुधबारको कारोबार समयमा शुरु हुन नसकेको भन्दै लिखित स्पष्टिकरण माग गरिएको जानकारी दिए ।

‘आज उत्पन्न समस्याबारे स्पष्टिकरणका लागि पत्र पठाएका छौं, भोलिसम्म नेप्सेले के भएको हो हेरेर खबर गरेपछि मात्रै हामी अघि बढने छौं,’ उनले भने ।

उनका अनुसार बोर्डले पठाएको पत्रमा समयमा किन कारोबार नभएको ? किन विवरण नमिलेको ? र, यसमा के भएको हो भन्ने विषयमा नेप्सेसँग प्रश्न गरिएको छ ।

नेप्सेको अनलाइन प्रणालीमा नियमितरुपमा समस्या आउँदा लगानीकर्ताले निकै सास्ती खेपिरहेका छन् । जसका कारण नेप्सेको अनलाइन प्रणालीबारे चौतर्फी आलोचना भइरहेको छ । त्यसबारे लगानीकर्ताले बोर्ड समक्ष गुनासो समेत गरिसकेका छन् ।

लगानीकर्ताको गुनासो र बोर्ड आफैले हेर्दा पनि अधिकांश समय समस्या आउन थालेपछि यसअघि नै बोर्डले नेप्सेलाई एक पत्र पठाएको थियो ।

सिस्टममा तलमाथि हुँदा को जिम्मेवार हुने हो ? त्यसमा के–के कारबाही हुने हो ? र, यसअघि यस्ता घटनामा के–के कारबाही भयो ? त्यसको जानकारी गराउनु भन्ने व्यवहोराको पत्र नेप्सेमा पठाइसकेको छ । तर त्यो प्रश्नको जवाफ नेप्सेले अहिलेसम्म बोर्डमा नपठाएको निकट स्रोतको दाबी छ ।

बोर्ड स्रोतका अनुसार नेप्सेले अब पठाउने जवाफपछि अनलाइनमा देखिएको समस्या र त्यसका लागि को जिम्मेवारी हुने हो निष्कर्ष निकाल्ने भन्ने सोचमा बोर्ड रहेको छ ।

नेप्सेका अनुसार कुल लगानीकर्ता १५ लाखभन्दा बढी छन् । जसमध्ये २ लाख ६४ हजार ६३३ जना सक्रिय लगानीकर्ता छन् । तर त्यसमध्ये पनि जम्मा ४७ हजार २६ जना लगानीकर्ता अनलाइन प्रणालीमा आबद्ध छन् । तर त्यति लगानीकर्तालाई समेत अनलाइन प्रणालीले थेग्न नसकेको प्रष्ट देखिएको छ ।


क्लिकमान्डु