बैंकको ऋण तिर्न सक्नु भएन ? ऋणलाई सेयरमा परिणत गरेर यसरी जुटाउन सकिन्छ थप पुँजी



काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका करिब ४ महिना लकडाउन गर्यो । यसबीचमा अर्थतन्त्र चलायमान हुन सकेन । जसकारण अधिकांश क्षेत्रका उद्योग, व्यवसाय ठप्प भएका थिए भने अझैपनि केही बन्दजस्तै छन् । यसले गर्दा उद्योगी-व्यवसायीहरु आर्थिक संकटमा परेका छन् ।

बैंकबाट कर्जा लिएर व्यवसाय शुरु गरेका व्यवसायीहरुलाई त लकडाउनले अझ बढी समस्या भएको छ । उनीहरुलाई ठप्प भएको व्यवसाय पुनः सञ्चालन गर्न एकतिर समस्या भने अर्कातिर बैंकको किस्ता र ब्याज भुक्तानी गर्न ।

व्यवसायीहरुले सरकार तथा राष्ट्र बैंकसँग पुनरुउत्थानका लागि राहतको माग गरे । जसअनुसार सरकारले नीति गत सहजिकरण गर्दै राष्ट्र बैंकमार्फत् वित्तीय सहुलियत तथा राहतको केही व्यवस्था पनि गरेको छ ।

तर यस्ता राहतका व्यवस्था पुनरुत्थानका लागि अपुगनै रहेको व्यवसायीहरु बताउँछन् ।

ब्याजदरमा गरिएको छुट, पुुनसंरचना तथा पुनर्तालिकीकरणका व्यवस्थाले तत्काल व्यवसाय पुन सुचारु गर्नको लागि नभएर पुरानो कर्जा भुक्तानीका लागि मात्र हो ।

पुनरकर्जाको व्यवस्थामा व्यवसायीले लिइसकेको कर्जाको ब्याजमा अनुदान पाउँछन् भने ५० अर्ब रुपैयाँको राहत कोषको कार्यविधि हालसम्म बनिएको छैन ।

राष्ट्र बैंकले चैतअघिको व्यवसायको मुल्यांकल गरी पुराना ऋणीलाई २० प्रतिशतसम्म थप कर्जा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको छ ।

तर २० प्रतिशत कर्जाले शतप्रतिशत नोक्सानीमा रहेका व्यवसाय पुनः सुचारु गर्न ‘हात्तीको मुखमा जिरा’झैं हुन्छ ।

कोरोना प्रभावित व्यवसायीलाई वैकल्पिक उपाय

कोरोना प्रभावलाई न्यूनिकरण गर्दै आर्थिक पुनरुथानको लागि सरकारले नीति तथा कार्यक्रममार्फत् धेरै योजनाहरु बनाएको थियो ।

तर बजेटले धेरै कार्यक्रमलाई समेट्न सकेन ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका ऋणीलाई पनि राष्ट्र बैंकले किस्ता तथा ब्याज भुक्तानी गर्ने समय तोकिसकेको छ । जुन समयमा उनीहरुलाई बैंकमा बाँकी रहेको किस्ता ब्याज भुक्तानी गर्नै पर्ने बाध्यता छ ।

कतिपय व्यवयासीहरुको बैंकको किस्ता ब्याज सो समयमा भुक्तानी गर्ने क्षमता नै छैन भने कतिपयले व्यवसायलाई क्षमता बनाउन थप पुँजीको आवश्यकता पर्छ । जसको लागि उनीहरुले वैकल्पिक माध्यम अपनाउन सक्छन् ।

बैंकबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीले त्यस्तो कर्जालाई सेयरमा परिणत गरेर सो बराबरको साधारण सेयर (आइपीओ) जारी गर्न सक्छन् । साथै थप स्रोतको आवश्यकता भएका कम्पनीको पुँजी थप गरी आइपीओसमेत जारी गर्न सक्ने प्रावधान छ ।

कसरी हुन्छ त ऋण सेयरमा परिणत ?

मानौँ, १० अर्ब रुपैयाँ पुँजी भएको कुनै एक कम्पनीले बैंकबाट ४ अर्ब रुपैयाँ कर्जा लिएको थियो । लकडाउनको ५ महिना कम्पनी बन्द हुँदा बैंकको किस्ता/ब्याज तिर्न अहिले समस्या भएको छ ।

साथै पुनः व्यवसाय सञ्चालन गर्नको लागि पनि कम्पनीलाई थप रकमको आवश्यकता छ ।

यस्तो अवस्थामा कम्पनीले बैंकको कर्जालाई सेयरमा परिणत गरी पुँजी थप गरेर आइपिओ जारी गर्न सक्ने राष्ट्र बैंक अनुसन्धान विभायका कार्यकारी निर्देश तथा प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

‘कम्पनीले पुँजी थप गरी सो बराबरको सेयर जारी गर्न पाउँछन्,’ भट्टले क्लिकमाण्डूसँग भने, ‘यसमा बैंकबाट कर्जा लिएका वा नलिएका दुवैले पुँजी थपको लागि सेयर जारी गर्न सक्छन्, तर बैंकबाट लिएको कर्जालाई सेयरमा परिणत गर्ने हो भने सम्बन्धीत बैंकको पनि स्वीकृति चाहिन्छ भने राष्ट्र बैंकबाट पनि स्वीकृति लिनु पर्छ ।’

अन्य प्रक्रिया भनेको पब्लिक लिमिटेडले साधारण सेयर जारी गर्दा पुर्याउनु पर्ने प्रक्रिया नै रहेको उनले बताए ।

ऋणलाई सेयरमा परिणत गर्नको लागि पहिला कम्पनीले नै सञ्चालक समितिको निर्णयले कति पुँजी बढाउने तथा कति ऋणलाई सेयरमा परिणत गर्ने त्यसको प्रस्ताव बनाएर बार्षिक साधारण सभाबाट पास गर्नु पर्छ ।

कम्पनी रजिष्ट्रारमा के के गर्नुपर्छ ?

त्यसपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गराउनु पर्ने कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार राजेन्द्रकुमार दाहालले जानकारी दिए ।

‘तोकिएको पुँजी पुर्याएका कुनैपनि कम्पनीले पुँजी थप गर्नका लागि कम्पनी राजिष्ट्रारको कार्यालयमा केही जटिल प्रक्रिया छैन,’ उपरजिष्ट्रार राजेन्द्रकुमार दाहालले क्लिकमाण्डूसँग भने, ‘कम्पनीहरुले पुँजी वृद्धि गर्न नियमसंगत रहेर आएमा कम्पनी रजिष्ट्रारले अभिलेखमात्र राख्छ ।’

कुनैपनि कम्पनीले दर्ता गराएकोमा पुँजी थप गर्दा रजिष्ट्रार कार्यालयमा पहिला जानकारी गराएर नियमनकारी निकाय र धितोपत्र बोर्डबाट स्वीकृति लिनु पर्ने विवरण अभिलेखको प्रक्रिया कार्यालयमा गराउनु पर्ने उनले जानकारी दिए ।

धितोपत्रबोर्डमा के छ प्रक्रिया ?

हालसम्म ठुला ठुला परियोजनाले मात्र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणलाई सेयरमा परिणत गराएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डकाअनुसार बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा परियोजनाले तिर्न नसकेमा कर्जा बराबरको रकम मुल्यांकन गरी बैंक प्रमोटर भएर सेयर जारी गराउँछन् ।

यसप्रकारको सुविधा अन्य पब्लिक लिमिटेडहरुले पनि उपयोग गर्न पाउने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

‘बैंकबाट ऋणी लिएरका कुनै पनि कम्पनीलाई कर्जा तिर्न समस्या भएमा बैंकलाई प्रमोटर बनाएर ऋण बराबरको साधारण सेयर जारी गर्न सक्छ,’ अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘कर्जा तिर्न समस्या भएका कम्पनी स्यम वा बैंकले पनि ऋणलाई सेयरमा परिणत गर्न सक्छन् । तर त्यसमा स्वाप गर्ने मोडालिटी तयार गर्नुपर्छ ।’

धितोपत्र बोडको स्वीकृति लिएर बैंकहरुले इक्वीटी फण्ड खोल्न सक्ने र सो फण्डले वाणिज्य बैंकहरुको ऋण सिल गर्नुको साथै इक्वीटी होल्ड गर्छ ।

बैंकबाट प्रवाहित कर्जा नउठेको खण्डमा सेयरमा परिणत गर्ने हो भने राष्ट्र बैंकबाट अनुमति दिनुपर्ने वा बैंकले कर्जा दिँदा गरिएको सम्झौतामा अधिकार प्राप्त हुनु पर्ने उनले बताए ।

तर बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएका उद्योगी व्यवसायीलाई स्रोतको अभाव परेर पुँजी थप गर्न परेमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्दैन ।

मानौं, यदी १० अर्ब रुपैयाँ पुँजीमा स्थापना भएको कुनै कम्पनी छ । कम्पनीलाई पुनः व्यवसाय सञ्चालन गर्न २ अर्ब रुपैयाँ थप स्रोतको अभाव भएको छ । यस्तो अबस्थामा कम्पनीले बैंकबाट कर्जा नलिएर स्यमः पुँजी बढाउने प्रक्रिया पुरा गरी बजारबाट स्रोत संकलन गर्न सक्छ ।

यसकालागि कम्पनीले सञ्चालक समितिबाट पास गराएर कम्पनी रजिष्ट्रारको कार्यालयमा पुँजी दर्ता गराउनु पर्ने हुन्छ । थप पुँजी जारी गर्दा कम्पनीहरुले धितोपत्र बोर्डबाट एफपीओ जारीको स्वीकृति पाउँने बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिए ।

‘राम्रो नेटवर्थ भएको कम्पनीलाई बोर्डले एफपीओ जारी गर्न अनुमति दिन्छ तर यसका लागि कम्पनीले रेटिङ गराउनु पर्ने लगायतका अन्य प्रक्रिया पुरा गरेको हुनपर्छ,’ अध्यक्ष ढुंगानाले भने, ‘अहिलेसम्म कुनैपनि कम्पनीले पुँजी थप गर्न सेयर जारीको लागि निवेदन पनि आएका छैनन्, त्यसैले बोर्डले अहिले यसका लागि सेटिङ मिलाएको छैन् ।’

पुँजी थप गरी सेयर जारी गर्न कम्पनीहरुको निवेदन आएमा उपयुत्त, नीति र कार्याविधि बनाएर कार्यन्यवन गर्ने उनको भनाइ छ ।

‘तत्काल पुँजी बढाएर एफपिओ जारी गर्न कम्पनीले त्यसको मोडालिटी सहित आवेदन दिनुपर्छ,’ उनले भने, ‘प्रिमियममा, क्यास भ्यालुमा वा अन्य मोडालिटीमा जारी गर्ने धेरै विकल्पहरु हुन्छन् ।’

त्यसको लागि कम्पनीको अवस्था र नेटवर्थ राम्रो भएमात्र बोर्डले थप पुँजी बराबरको एफपिओ जारीका अन्य प्रक्रिया अघिबढाउने उनले बताए ।

कोरोनाका कारण अत्याधिक नोक्सानीमा गएका कम्पनीको नेटवर्थ समेत बिग्रिएको भएमा त्यसमा सेयर खरिदकर्ताको पनि नाफा सुनिश्चितता हुनुपर्छ ।

‘लगानीकर्ताको हित, कम्पनीले तिर्न सक्ने अवस्था, कुन मूल्यमा सेयर जारी गर्ने जस्ता विधिध विषयको मूल्यांकनबाट मात्र बोर्डले आनुमति प्रदान गर्छ,’ ढुगांनाले भने, ‘यदी कम्पनीले १ सय रुपैयाँ सेयर भ्यालु राखेर सेयर जारी गरे पनि कम्पनीको नेटवर्थ १० रुपैयाँमात्र रहेछ भने उसले सेयर जारी गर्न पाउँदैन, कम्पनी ऐनअनुसार पनि क्यास भ्यालुभन्दा तल रहेर डिस्काउण्टमा सेयर बिक्री गर्ने पाउने व्यवस्था छैन ।’

अहिलेको परिस्थितिमा भ्यालुभन्दा तल रहेर डिस्काउण्टमा सेयर बिक्री गर्नेको लागि कम्पनी ऐन शंसोधन गर्नु पर्ने र निवेदन आएमा यसको संशोधन हुनसक्ने उनको भनाइ छ ।

तर कोरोनाभन्दा अघि राम्रोसँग व्यवसाय गरिरहेका कम्पनीले स्रोत जुटाउन पुँजी थप गरी सेयर जारी चाहेमा बोर्डको तर्फबाट हुने सहयोग तत्काल गरिने उनको भनाइ छ ।

‘कम्पनीको बोर्डले निर्णय गरी कम्पनी रजिष्ट्रार कार्यालयमा पुँजी दर्ता गराएर बोर्ड आउँनु पर्छ,’ ढुंगानाले थपे, ‘बोर्ड पुँजी थपको उचित कारण खुलाएर एफपिओको लागि आवेदन दिनुपर्छ ।’

बोर्डले उपयुक्तताको आधारमा कम्पनीलाई पुँजी थप गरी सेयर जारी गर्न अवश्यक नीति बनाएर अनुमति दिने उनले बताए ।

तर कुनै कम्पनी ऋणमा ढुबेर उठ्नै नसक्ने भएको वा कोरोना भन्दा अघिबाटै कम्पनी घाटामा गएको भएमा बोर्डले त्यस्तालाई पुँजी थप गर्न र सेयर जारीको अनुमति दिँदैन ।

बैंक तथा वित्तीय संस्थाको कर्जा

राष्ट्र बैंको तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३१ खर्ब ७२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

लगानीमा रहेको कर्जामध्ये १५ लाखसम्मको कर्जा १५ प्रतिशत, १५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा २४.९ प्रतिशत, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १०.२ प्रतिशत छ ।

साथै लगानीमा रहेको कुल कर्जामध्ये १ करोडदेखि ५ करोड रुपैयाँसम्मको कर्जा २२.३ प्रतिशत र ५ करोड रुपैयाँमाथिको कर्जा २७.६ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु पुँजीको आधारमा ६ खर्ब ७७ अर्ब ८७ करोड ३९ लाख रुपैँया कर्जा प्रवाह गरेका छन् । जसमा उद्योगमा १ खर्ब ९२ अर्ब ७७ करोड १६ लाख रुपैयाँ, व्यापारी संस्थाहरुलाई ३ खर्ब ८ अर्ब ३९ करोड ५ लाख रुपैयाँ, सेवा मुलक संस्थामा ८६ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ, र अन्यमा ९० अर्ब २५ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले फागुन मसान्तसम्म कर्जा लगानी गरेका हुन् ।

यसैगरी, राष्ट्र बैंकले कोरोनाले अतिप्रभावित क्षेत्र भनेर पर्यटन क्षेत्रका उद्योग व्यवसायलाई वर्णिकरण गरेको छ । यी पर्यटन क्षेत्रका टे«किङ, रिसोर्ट, र्याफ्टिङ, क्यापेनिङ पर्वतारोहण लगायतमामात्र बैंक तथा वित्तीय संस्थाले २६ अर्ब ६७ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

साथै पर्यटन उद्योग अन्तर्गतका होटल क्षेत्रमा मात्र बैंक तथा वित्तीय संस्थाले गत आवको ११ महिनामा १ खर्ब ९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।


पुष्प दुलाल