चार दशकको व्यवसाय छाडेर दिपक मलहोत्रा कृषिमा सिफट्, तत्कालै १० अर्ब लगानी गर्ने



कठमाडौं । साउन पहिलो साता व्यवसायी दिपक मलहोत्राले छोरा दिकेशसहित साझेदारलाई बैठकमा बोलाए ।

यो त्यो बैठक अरु बेलाजस्तो नियमित बैठक थिएन ।

व्यवसायमा एक दशकभन्दा बढी समयदेखि सक्रिय भइसकेका छोरा दिकेशसहित साझेदारसामू मलहोत्राले घोषणा गरे, ‘अब म अहिलेको व्यवसायमा सक्रिय हुँदिन, अब मलाई रिपोर्टिङसमेत नगर्नू, नेतृत्वको लागि तयार रहनू ।’

मलहोत्राले आइएमएस समुह अन्तर्गत लगानी रहेका व्यवसायको संचालन गर्ने अधिकार विकेन्द्रीकरण गर्ने भन्दै आफुले असजिलो स्थितिमा बाहेक अन्य समयमा व्यवसाय नहेर्ने योजना बनाएको बताए ।

असजिलो हुने सरकारी टेण्डरका काम अब नगर्ने योजनासमेत बनाएको उनले सुनाए ।

४१ वर्षदेखि व्यवसायमा सक्रिय रहेका मलहोत्राले अब पूर्णरुपमा कृषि पेशामा लाग्ने निर्णय लिएका छन् ।

‘कृषि क्षेत्रमा लाग्ने मेरो ३० वर्षदेखिको इच्छा हो, अब यसमा लाग्ने समय आएको हुँदा अहिलेको व्यवसायीक कामबाट पूर्णरुपमा विदा लिएर कृषिमा लाग्ने निर्णय गरेको छु,’ मलहोत्राले आफ्नो आगामी दिनको योजना सुनाउँदै भने, ‘अबको ३ देखि ६ महिनाभित्र अहिलेको व्यवसायको जिम्मेवारी बाँडफाँड गरी आफू पूर्णरुपमा कृषिमा केन्द्रिछ हुन्छु ।’

कृषिमा काम गर्नका लागि उनले आइएमइस एग्रो नामक कम्पनी स्थापना गरिसकेका छन् ।

‘भविष्यमा कृषिमा ठूलो लगानी गर्ने लक्ष्य छ,’ मलहोत्राले भने, ‘तत्कालका लागि म १ अर्ब रुपैयाँ निकाल्न सक्छु, बाँकी ८÷९ अर्ब बैंकबाट ऋण लिएर लगानी गर्छु ।’

उनले भविष्यमा गर्ने लगानीबारे उल्लेख नगरे पनि १ खर्बको हाराहारीमा लगानी गर्ने सोच रहेको संकेत गरे ।

मलहोत्राको घरजग्गामा पनि ठूलो लगानी छ । अब घरजग्गामा लगानी नबढाउने र त्यहाँ भएको लगानी विस्तारै झिकेर कृषिमा लगानी गर्ने उनले सुनाए ।

‘रियलस्टेटमा गरेको लगानी विस्तारै झिक्दै जान्छु र कृषिमा लगानी गर्छु,’ उनले भने ।

अहिलेसम्म आफू जुन व्यवसायमा केन्द्रित भयो त्यो व्यवसायमा सफलता हासिल गरेको सुनाउँदै कृषिमा पनि सफल भएरै छाड्ने उनको दाबी छ ।

‘म जुन बिजनेशमा एक्टिभ भएर हेर्छु त्यहाँ सफल भएको छु, अहिलेको बिजनेशका कारण कृषिमा एक्टिभ हुन पाएको छैन, अब सबै छाडेर कृषिमा केन्द्रित हुन्छु । मलाई विश्वास छ कृषिमा अवश्य सफल हुन्छु ।’

दिपक मलहोत्रा नेपाली व्यवसायिक जगतमा चर्चित नाम हो । सामसङको मोबाइलको बिक्रेताकोरुपमा चिनाएको व्यवसायिक यात्रामा दुई दर्जनभन्दा बढी क्षेत्रमा उनको लगानी छ ।

‘हामी सबैले इजी मनिमा ध्यान दिँदा कृषि पूर्णरुपमा ओझेलमा पर्यो, नेपालमा कृषिमा धेरै ठूलो सम्भावना छ,’ मलहोत्राले भने ।

मलहोत्राले व्यवसायिक कृषिको काम भने थालिसकेका छन् । ३० वर्ष अगाडि सिसौ खेती गरे ।

उनले आजभन्दा ३० वर्षअघि २५ बिगाह जग्गा सिसौ रोप्नको लागि जग्गा किनेका थिए । रोग लागेर सिसौ खेती राम्रो नभएको जग्गामा केही समय उनले उखु खेतीका लागि लिजमा दिए ।

सो जग्गामा उनले कागती खेती, मेवा, मलेसियन साल, सयपत्री फुल, स्ट्रबेरी खेती गर्न शुरु गरिसकेका छन् । यसबाहेक चन्द्रौटामा उनको ८ बिगाह जग्गा छ । त्यहा उनले अम्बा लगाएका छन् ।

आफुले कृषिको लागि लिएको लक्ष्य पुरा गर्नको लागि अहिलेको जग्गाले नपुग्ने यसको लागि पूर्वी नेपालमा जग्गा लिजमा लिने र खरिद भएरपनि कृषिमा काम गर्ने योजना उनले सुनाए ।

‘पूर्वी नेपालमा हामी सयौं बिघाह जमिन किनेर वा लिजमा रहेर नरिवलदेखि विभिन्न प्रकारका फलफुलहरु लगाउने छौं,’ उनले भने ।

मलहोत्राको योजना कृषिका लागि चाहिने कृषि औजार आयात गर्ने र यहाँ नै एसम्बल उद्योग चलाउने योजना समेत छ ।

‘कोभिडले हामीलाई आत्मनिर्भर अर्थतन्त्रमा जानुपर्छ भनेर सिकाएको छ, म कृषिमा बढीभन्दा बढी रोजगारी सिर्जना गरेर आत्मनिर्भर बनाउने सोचमा लाग्ने छु,’ मलहोत्राले आफ्नो योजना सुनाउँदै भने ।

कोरोना भाइरस नेपालमा आइसकेपछि माक्सको अभाव भयो । माक्समा ब्यापक कालोबजारी भयो । मलहोत्राले माक्समा हुने कालोबजारी रोक्न विदेशबाट सामान ल्याएर नेपालमै सुलभ मूल्यमा माकसको उत्पादन गरी बिक्री वितरण गरे ।

‘माक्सको कालोबजारी रोक्न यो पटम मेरो भूमिक ठूलो रह्यो, कोरोना भाइरसका बेला मैले लगाएको गुन समाजले विर्सिने छैन,’ उनले भने ।

आफू १ रुपैयाँ कमाएमा ९० पैसा खर्च गर्ने स्वभावको भएको भन्दै देशको लागि केही गर्ने सोचले कृषिमा केन्द्रित हुन थालेको मलहोत्रा बताउँछन् ।

‘कृषिजन्य सामाग्री हामी आयात गर्छौं, कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य छ,’ उनले भने, ‘हाम्रो विदेशी मुद्राको आम्दानी घट्दै गएको छ, यसका लागि पहिला आयातलाई रोक्नसकेपछि मात्र निर्यात बढाउन सकिन्छ ।’

उनले उच्च मूल्य पर्ने कृषि वस्तुको निर्यातको बजार खोज्ने काम समेत थालिसकेका छन् । यसको लागि केही दुतावाससँग कुरा गरेको र त्यहाँबाट सकारात्मक जवाफ आएको उनले बताए ।

मलहोत्राको योजना कृषि क्षेत्रको लागि सातै प्रदेशमा कोल्डस्टोर बनाउने बृहत लगानी गर्ने छ । यसको लागि आफु अहिले तयारीमा रहेको र आफ्नो योजना समय मिलेमा कृषिमन्त्री, प्रधानमन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीलाई सुनाउने योजनामा छन् ।

‘कृषिमा लगानी गर्नको लागि जग्गा चाहिन्छ, सरकारले आफ्नो जग्गामा लिजमा दिएर हुन्छ या पछिल्लो समय आएको भूमि बैंकको योजना आएको छ, त्यसबाट पनि खेती गर्नको लागि जमिन दिनुपर्छ,’ मलहोत्राले भने ।

पछिल्लो समय केन्द्रिय बैंकले कृषि क्षेत्रमा कर्जा प्रवाहलाई अनिवार्य गरेको छ । ब्याजदर समेत सस्तो छ ।

केहीले मलहोत्रालाई कृषिको लागि सस्तो ब्याजदरमा ऋण लिएर अन्यत्र लगाउनको लागि काम गर्न खोजेको भनेर आरोप समेत लगाएपनि आफुले कृषिमा लिएको ऋण कृषिमा नै प्रयोग गर्ने बताए ।

‘कृषिमा सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने नीति छ, हामीले कृषिको लागि लिएको ऋण कृषिमा नै प्रयोग गर्ने छौ,’ उनले भने ।

केन्द्रिय बैंकले कृषिमा लगानीलाई प्रोत्साहन गर्न गर्न अनिवार्य कृषि कर्जादेखि बण्डसम्मको कुरा ल्याएको छ ।

अरु व्यवसायमा अत्याधिक प्रतिस्पर्धा भएपनि कृषिमा भने प्रतिस्पर्धा नहुँने अनुमान मलहोत्राको छ ।

‘हामीले पछिल्लो समय ल्याएको प्रोडक्ट सेलपेमा नै अत्याधिक प्रतिस्पर्धा छ, लगानीमात्र भएपनि रिर्टन आउन सकेको छैन, कृषिमा यस्तो अवस्था आउने छैन,’ उनले भने ।

जति बढी कृषिमा लगानी भयो देशलाई फाइदा हुने क्षेत्र हो । पछिल्लो समय अरु व्यवसायिक घरानाहरुले पनि व्यवसायिक कृषिमा लगानी गरेका छन् । त्यसमा आफुपनि थपिएको मलहोत्रा बताउँछन् ।

नेपालको कृषि परम्परागत खालको भएको हुँदा विकास हुन नसकेको भन्दै मलहोत्राले आफुले कृषिमा प्रविधिलाई आत्मसाथ गरेर अगाडि बढाउने बताउँछन् ।

इजरायल सानो देश भएपनि प्रविधिको प्रयोगले कृषिमा अगाडि छ । आफुले त्यही प्रविधि कृषिमा ल्याउन खोजेको मलहोत्रा बताउँछन् ।

तस्बीरमा हेर्नुहोस् मलहोत्राको कृषि फार्म


पुष्प दुलाल