लगानी बोर्डको सीइओ अब को ? यी छन् अहिलेसम्मको दौडमा



काठमाडौं । मुलुकमा आन्तिरिक तथा बाह्य लगानी परिचालन गराउन जिम्मेवार निकाय हो लगानी बोर्ड । बोर्ड अहिले कार्यकारी अधिकृत (सीइओ) विहीन छ ।

बोर्डका निवर्तमान सीइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति भएसँगै यो पद खाली भएको हो । मुलुकमा आन्तरिक र बाह्य लगानीको वृद्धि गर्न बोर्डको सीइओ भूमिका अहम हुन्छ । सोही कारण बोर्डको भावी सीइओ नियुक्तिमा सरकार सम्वेदनशील हुन आवश्यक छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डका सीइओ नियुक्तिका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा ३ जनाको उपसमिति गठन गरेको थियो । जसले गत असार ५ गते बोर्डको सीइओमा आवेदन खुलाएको थियो ।

जसमा १२ जनाको आवेदन परेको थियो । हाल समितिले १२ जनाबाट ५ जनाको नाम संक्षिप्त सूची तयार गरेको छ । उपसमितिले छनोट गरेको व्यक्तिको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको समितिलाई बुझाइसकेको छ ।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, र अर्थविद् डा. गोविन्द नेपाल छन् । समितिले छनौटमा परेका व्यक्तिहरुको शुक्रबार अन्तर्वार्ता लिएर पुनः ३ जनाको नाम संक्षिप्त सूची तयार गर्नेछ ।

जुन सूची मन्त्रिपरिषद्मा पठाउनेछ । त्यसपछि मन्त्रिपरिषद्को आगामी बैठकले एकजनालाई बोर्डको सीइओमा ४ वर्षका लागि नियुक्त गर्नेछ ।

देश विकासका लागि निजी क्षेत्रमा लगानी भित्र्याउन सरकारले हरेक वर्ष लगानी सम्मेलनको आयोजना गर्छ । सम्मेलनको नेतृत्व, सरकारसँगको पहुँच, ठूलो रकम लगानी गर्न चाहने विदेशी लगानीकर्तासँगको सम्वन्य एवम् परार्मश, विश्वभरका लगानी स्रोतमा नेपालको बजारीकरणका लागि शतप्रतिशत जिम्मेवारी बहन गर्न सक्ने क्षमताको पहिचान उपसमितिले ५ जनालाई छनौट गरेर समितिमा पठाइसकेको छ ।

जसमा समितिले बोर्डको भावी सीइओका लागि छनौट भएका व्यक्तिमा राष्ट्रिय पुनः निर्माण प्रधिकरणका सीइओ सुशील ज्ञावली, राष्ट्रिय योजना आयोगको सदस्य सुशिल भट्ट, विद्युत् नियमन आयोगका सदस्य रामकृष्ण खतिवडा, प्रत्यक्ष वैदेशिक लगानीमा विद्यावारिधि गरेका डा. सरोज कोइराला र पूर्व सहसचिव लक्ष्मीविलाश कोइराला छनौटमा परेका हुन् ।

बोर्डको सीइओका लागि सटलिस्ट भएका व्यक्तिहरु

सुशील ज्ञवालीः
ज्ञवाली हाल राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । प्राधिकरणको सीइओको हैसियतले उक्त संस्था तथा भूकम्पछिको पुनर्निर्माणमा अहम भूमिका उनको छ । हालसम्म भूकम्पले क्षति गरेको संरचनाको पुनर्निमार्ण हाल पूर्णरुपमा सम्पन्न भइसकेको छैन् । जसमा कोभिड–१९ को कारणले पनि निर्माण सम्पन्न हुन केही समय लाग्ने देखिएको छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ ले समेत १ वर्ष प्राधिकरणको म्याद थप गर्न सक्ने व्यवस्था छ । जसकारण ज्ञावली बोर्डको सीइओमा नियुक्त भएपनि सरकारले उनलाई प्राधिकरणमा नै निरन्तरता दिई सम्पूर्ण पुनर्निर्माणको कार्य सम्पन्न गराउनु पर्ने हुन्छ ।

सुशिल भट्टः
परियोजना विकास तथा करार व्यवस्थापनमा १५ वर्षभन्दा बढीको अनुभव भएका सुशील भट्ट हाल राष्ट्रिय योजना आयोगको सदस्य हुन् । आयोगमा सदस्यको रुपमा आयोजना बैंक बनाउन तथा सोको कार्यान्वयनमा महत्वपूर्ण योगदान दिई रहेका भट्टको विज्ञतालाई योजना आयोगमा महत्वपूर्ण छ । साथै भट्टले ४ वर्ष विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज) मा काम गरेका थिए

रामकृष्ण खतिवडाः
रामकृष्ण खतिवडा हाल विद्युत् नियमन आयोगका सदस्य हुन् । खतिवडासँग वित्तीय क्षेत्र, पूर्वाधार लगानी, सार्वजनिक निजी साझेदारी, पुँजी बजार, लगानी प्रवद्र्धन, विकास तथा व्यवस्थापनका क्षेत्रमा १८ बर्ष भन्दा बढीको अनुभव रहेको छ ।

उनले लगानी बोर्डमा समेत करिब ३ वर्ष डीएफआडीकोे परियोजना विकास तथा व्यवस्थापनमा नेतृत्व प्रदान गरेका छन् । उक्त अवधिमा विभिन्न निकाय तथा प्रदेश सरकारसँगको सहकार्यमा परियोजनाको पहिचान, मूल्यांकन तथा अध्ययन गरी दुईवटा लगानी सम्मेलनमा परियोजना सो–केस गर्न तथा परियोजनाहरुको खरिद गर्न महत्वपूर्ण योगदान गरेका छन् ।

खतिवडासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकिङ तथा वित्तीय क्षेत्रका धेरै अनुभव छन् । रेमिट्यान्सलाई पूर्वाधार क्षेत्रमा लगानी बढाउन रेमिट हाइड्रो र ठूलो आयोजना प्रवर्द्धन गर्नका लागि विद्युत उत्पादन कम्पनी स्थापना गर्न र नेपालकै सबैभन्दा ठूलो सार्वजनिक निष्काशन गर्न महत्वपूर्ण योगदान खतिवडाको छ ।

उनले विभिन्न नियामकिय उपकरणको निर्माण तथा विद्युत महशुल निर्धारण गर्न नेतृत्व प्रदान गरेका छन् । निजले वित्त, लगानी तथा पूर्वाधारको क्षेत्रमा नेपाल सरकारका निकायहरुले गठन गरेको समितिहरुमा पनि योगदान पुर्याएका छन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि निवेदन दिनका लागि आयोगबाट हालै राजीनामा दिएका खतिवडाले व्यवस्थापनमा स्नातोकत्तर, चार्टर्ड फाइनान्सियल अनालिस्ट, चार्टर्ड इकोनोमिस्ट तथा सार्वजनिक निजी साझेदारीमा उपाधि हासिल गरेका छन् । र, हाल पूर्वाधार वित्तमा पीएचडी गरिरहेका छन् ।

लक्ष्मीविलाश कोइरालाः
नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलाश कोइराला हाल कुनै पनि संघ संस्था तथा निकायमा आवद्ध छैनन् । उनी सूचना विभागको महानिर्देशक समेत थिए । साथै उनले करिब २ वर्ष लोकसेवा आयोगमा रहेर सेवा दिएका हुन् ।

डा. सरोज कोइरालाः
प्रत्यक्ष वैदेशिक लगानीमा विद्यावारिधि गरेका डा. सरोज कोइराला प्रदेश नम्बर १ मा लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत हुन् ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा विद्यावारिधि गर्ने कोइराला पहिलो र एक मात्रै व्यक्ति हुन् । उनले यसअघि पनि लगानी बोर्डको कार्यकारी अधिकृतका लागि पनि प्रतिस्पर्धा गरेका थिए । छनौट समितिले कोइरालासहित तीन जनाको नाम सीईओ नियुक्तिका लागि सिफारिस गरेकोमा सरकारले महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।


क्लिकमान्डु