सनराइज बैंकका सञ्चालकको बयानः सीइओले हामीलाई टेरेनन्, राष्ट्र बैंकले सम्झाएर पठायो



काठमाडौं । सञ्चालक समितिमा भएको विवादका कारण सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेललाई समस्या परेको छ । सञ्चालक समितिमा भएको गुटबन्दी चुलिँदै गएपछि सीइओ पौडेलको राजीनामा मागिएको थियो ।

बैंकका ६ जना सञ्चालकहरुले आइतबार (आज) सम्ममा सीइओले राजीनामा नदिए अध्यक्षलाई नै हटाउने चेतावनी दिएका थिए । सञ्चालकहरुले यस्तो चेतावनी दिएको समाचार क्लिकमाण्डूले शुक्रबार सम्प्रेषण गरेको थियो ।

सनराइज बैंकमा भएको लफडाबारे मिडियामा समाचार आएपछि गभर्नर महाप्रसाद अधिकारीले शनिबार नै सरोकारवालाहरुलाई बोलाएर छलफल गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकाललाई निर्देशन दिएका थिए ।

गभर्नरको निर्देशनअनुसार नियमन विभाग प्रमुख ढकालले आइतबार बिहान ११ बजे सनराइज बैंकका सबै सञ्चालकलाई राष्ट्र बैंक बोलाएर छलफल गरेका थिए । छलफलमा बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री पनि सहभागी थिए ।

सीइओ नियुक्तिमा बखेडा झिक्दा शैलेन्द्रलाई युवराज खतिवडाले यस्तो ‘ट्रिट’ गरेका थिए

उक्त छलफलमा सीइओ पौडेललाई भने बोलाइएको थिएन ।

एक घन्टासम्म भएको छलफलमा अधिकांश सञ्चालकहरु सीइओ पौडेलमाथि खनिएका थिए ।

‘अधिकांश सञ्चालकहरुले सीइओ पौडेलले आफूहरुलाई रिकगनाइज नगरेको असन्तुष्टि व्यक्त गर्नुभयो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

सीइओले आफूहरुलाई रिकगनाइज नगरी आफूखुसी बैंक चलाएको आरोपसमेत लगाएका थिए । जबकि सञ्चालक समितिलाई नटेरी सीइओले काम नै गर्न सक्दैन ।

तर सनराइज बैंकको समस्या सञ्चालक समितिलाई सीइओले नटेरेको भन्ने होइन । केही सञ्चालकहरुले लगाएका काम सीइओले नगरेको हो । सञ्चालकहरुले सीइओमाथि त्यसको आक्रोश पोखेका हुन् ।

बैंकमा अहिले मोतिलाल दुगड अध्यक्ष छन् । अध्यक्ष दुगड र सीइओबीच अत्यन्तै सुमधुर सम्बन्ध छ ।

तर मालचन्द्र दुगड मोतिलाल दुगडलाई हटाएर आफू अध्यक्ष बन्न चाहन्छन् । दुगड दाजुभाईको झगडाको शिकार सीइओ पौडेल बनेका हुन् ।

यो विवादमा छिरेका अर्का पात्र हुन् सञ्चालक शैलेन्द्र गुरागाईं । शैलेन्द्र मालचन्द्र दुगड पक्षका हुन् ।

‘सञ्चालकज्यूहरुको कुरा सुन्यौं, अब सीइओको कुरा पनि सुन्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘आज हामीले उहाँहरुको कुरा सुन्यौं मात्रै । र, हमीले उहाँहरुलाई मिलेर अघि बढ्न सन्देश दिएका छौं ।’

सञ्चालक समितिले भनेको नटेरी सीइओ एक मिनेट पनि बैंकमा बस्न नसक्ने तर केही सञ्चालकहरुको स्वाथ्र्य पूर्ति नभएकै कारण सीइओको जागिर जाने अवस्था आउनु चिन्ताजनक विषय भएको ती अधिकारीले जानकारी दिए ।

‘सीइओ राख्ने र हटाउने काम सञ्चालक समितिको हो, राष्ट्र बैंकले हस्तक्षेप गर्न मिल्दैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘आन्तरिक विवाद मिडियामै आएपछि हामीले चासो देखाएका हौं । हामीलाई विश्वास छ उहाँहरु मिलेर अघि बढ्नुहुन्छ ।’

आफूहरुले उनीहरुका कुरा सुनेको र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले जानकारी दियो ।

‘सञ्चालकज्यूहरुले हामीसँग गरेको कुराकानी अनुसार बाहिर हल्ला भएजस्तो ठूलो समस्या रहेनछ भन्ने हाम्रो बुझाइ रह्यो, उहाँहरु आपसमा बसेर मन माझेको भए राष्ट्र बैंकसम्म आइपुग्नुपर्ने विषय नै रहेनछ,’ स्रोतले भन्यो, ‘ आफैं बसेर मिलाउनुहोस् भनेका छौं । बरिष्ठ व्यक्तिहरुको विवाद अब बढ्दैन भन्ने हाम्रो अनुमान छ, उहाँले निक्षेपकर्ताको हित हेर्दै परिपक्क निर्णय लिनुहुन्छ ।’

अब सञ्चालकहरुले सीइओको राजीनामा माग्ने कामलाई निरन्तरता दिन्छन् कि दिँदैनन् । त्यो भने प्रष्ट भएको छैन ।

‘अबको सञ्चालक समितिको बैठक नबसेसम्म यस विषयमा केही भन्न सकिँदैन,’ एक सञ्चालकले भने ।

सनराइज बैंकमा धेरै लफडा भएका कारण सीइओहरु टिक्न सक्दैनन् । राष्ट्र बैंकबाट अवकास पाएपछि सनराइज बैंकको सीइओ भएर आएका सुरेन्द्र प्रधान र रत्नराज बज्राचार्यबाहेक अरु सीइओ कार्यकाल बाँकी रहँदै बाहिरिए ।

त्यतिमात्रै होइन गत वर्ष सीइओ नियुक्ति भइसकेका निरज श्रेष्ठ हाजिर नहुँदै बाहिरिए ।

यस्तो छ १३ महिनाअघिको लफडा

सनराइज बैंकको सञ्चालक समितिले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरी सीइओ नियुक्ति गर्ने प्रस्ताब गर्यो । शैलेन्द्र गुरागाईंले फेरि श्रेष्ठको इतिहास गतिलो नभएको भन्दै उनलाई नियुक्ति गर्न नहुने अडान राखे । ७ जना सञ्चालकमध्ये गुरागाईं र मालचन्द दुगडले विरोध गरे ।

तर, सञ्चालक समितिको बहुमतले श्रेष्ठलाई ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्ति गर्यो ।

सञ्चालक समितिको निर्णयबाट असन्तुष्ट बनेका गुरागाईं र दुगडले सार्वजानिकरुपमै सीइओ नियुक्ति प्रक्रियाको विरोध गरे । त्यतिमात्रै गरेनन् राष्ट्र बैंकमा उजुरी समेत गरे ।

जसकारण असार २ गतेदेखि सिइओको कार्यभार समाल्नुपर्ने श्रेष्ठले संचालक समितिमा देखिएको विवादका कारण सीइओको पदभार सम्हालेनन् ।

बैंकले तत्कालका लागि कामूको जिम्मेवारी आशा राणा अधिकारीलाई निरन्तरता लियाो । र, पछि मालचन्द्र दुगड र सञ्चालक शैलेन्द्र गुरागाईंको प्रस्तावमा जनक शर्मा पौडेललाई सीइओ नियुक्ति गरियो । अहिले उनीहरु नै सीइओ पौडेललाई हटाउन लागि परेका छन् ।

राष्ट्र बैंकले के गर्न सक्छ ?

यसरी विवाद बढ्दै गयो भने राष्ट बैंकले सञ्चालक समिति भंग गरी टेकओभर गर्न सक्छ । टेकओभर गरेर राष्ट्र बैंकले विवाद साम्य भएपछि नयाँ सञ्चालक समितिको गठन गरेर आफू बाहिरिन सक्छ ।

यसअघि पनि राष्ट्र बैंकले विवाद साम्य नभएमा संचालक समितिनै भंग गर्न सक्नेसम्मको चेतावनीसमेत दिएको थियो ।


पुष्प दुलाल