अर्थमन्त्री खतिवडालाई राजस्वको संसोधित लक्ष्यमा सफलता, ५ बजेसम्म ८ खर्ब २८ अर्ब संकलन



काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा राजस्वको संसोधित लक्ष्य भने सरकारले पुरा गर्ने भएको छ ।

पछिल्लो समय जेठ १५ मा आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउदा अर्थमन्त्री डा युवराज खतिवडाले ८ खर्ब २७ अर्ब यो वर्ष राजस्व उठ्ने संसोधित अनुमान गरेका थिए । महालेखा नियन्त्रक कार्यालय स्रोतका अनुसार अर्थमन्त्रालयको सिस्टममा बेलुका ५ बजेसम्म ८ खर्ब २८ अर्ब रुपैयाँ राजस्व उठेको छ ।

यो वर्षको लागि गरिएको संसोधित अनुमानमा ८ खर्ब २७ अर्ब ८३ करोड रुपैयाँको संसोधित अनुमानमा केन्द्र सरकारको संघीय कोषमा दाखिला हुने ७ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । १ खर्ब १८ करोड रुपैयाँ प्रदेश र स्थानीय तहलाई बाँडफाँड हुने छ ।

५ बजेसम्म संघीय कोषमा ७ खर्ब ४२ अर्ब रुपैयाँ दाखिला भएको छ ।

अघिल्लो पटक बजेट ल्याउदा अर्थमन्त्री डा युवराज खतिवडाले कुल राजस्वको लक्ष्य ११ खर्ब १२ अर्ब रुपैयाँको लक्ष्य थियो । जसमा संघीय कोषमा ९ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व उठ्ने लक्ष्य थियो भने प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको मध्यावधी समिक्षा र जेठ १५ गते गरेर दुई पटक चालु आर्थिक वर्षको बजेटको लक्ष्य संसोधन गरेका थिए । लकडाउनको कारण जेठ १५ राखिएको संसोधित लक्ष्यपनि पुरा नहुँने अनुमान गरिएको थियो ।

सर्बोच्च अदालतले लकडाउन नखुल्दासम्म राजस्व तिर्न नपर्ने फैसला गरेको थियो । अर्थमन्त्रालय अन्तरिम आदेश खारेज गर्नको लागि भ्याकेटमा गएपनि सर्बोच्चले अर्थमन्त्रालयको भ्याकेट नै खारेज गरेको थियो ।

सर्बोच्च अदालतले लकडाउन नखुल्दासम्म राजस्व नतिर्न भनेपछि अर्थसचिव र आन्तरिक राजस्व विभागका अधिकारीले व्यापारीहरुलाई फोन गरेर राजस्व तिर्न भनेका थिए ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सक्ने व्यवसायीलाई राजस्व तिर्न अनुरोध गरेका थिए । लकडाउन खुकुलो भएको कारण तथा विभिन्न कोषहरुको पैसा तानेपछि सरकारको संसोधित लक्ष्य भने पुरा भएको हो ।


क्लिकमान्डु