असार मसान्तसम्म ऋणको ७०% मात्र साँवा ब्याज उठ्यो, समयमै नतिर्नेको ब्याजमा ब्याज लाग्ने



काठमाडौं । चालु आर्थिक वर्षमा वक्यौता रहेको साँवा ब्याज तिर्ने समय अब १ दिन मात्र बाँकी छ । तर लकडाउनले कारोबारमा पारेको असरका कारण बैंक तथा वित्तीय संस्थाले शतप्रतिशत साँवा ब्याज उठाउन सकिरहेका छैनन् ।

राष्ट्र बैंकको नीतिगत सहुलियतमा रहेर हालसम्म बैंकहरुले ब्याज छुट दिएको भए पनि अब भने भुक्तानी नभएको ब्याजमा थप ब्याज लाग्ने भएको छ ।

राष्ट्र बैंकले असार मसान्तसम्म साँवा ब्याज भुक्तानी गर्ने भाका बैशाख १६ गते नै असार मसान्तसम्मलाई सरिदिएको थियो । जसकारण बैंक तथा वित्तीय संस्थाहरुले बैशाख र जेठ महिनामा किस्ता तिर्न भाका पुगेका ऋणीलाई पनि तिर्नका लागि दवाब दिएका थिएनन् ।

तर अब सक्नेले समयमा नै साँवा ब्याज भुक्तानी नगरे ब्याजमा पनि थप ब्याज लाग्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘अहिले नतिरे पनि ब्याजमा ब्याज लाग्छ, त्यसकारण अहिले तिर्दा नै सबैभन्दा राम्रो हुन्छ, समय रहँदा नै भुक्तानी गर्दा सबैको लागि फाइदाजनक हुन्छ, अहिले तिर्दा ब्याज छुटपनि पाउँछन्,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘सक्नेले समयमा नै तिर्नुभए राम्रो, तीन महिना राष्ट्र बैंकले छुट दिनु भनेको हुँदा सबैले छुट पाएका थिए, तर अब नआएको ब्याजमा भने साउनदेखि बैंकहरुले ब्याजमा ब्याज राख्छन् ।’

राष्ट्र बैंकले नै असार मसान्तसम्मको समय निर्धारण गरको हुँदा सक्नेले समयमा नै भुक्तानी गर्न संघका अध्यक्ष दाहालले आग्रह गरेका छन् । गत वर्षको तुलनामा अहिले धेरै थोरै साँवा ब्याज भुक्तानी भएता पनि चैत, बैशाख र जेठको भन्दा केही मात्रामा साँवा ब्याज भुक्तानी गर्ने बढेको उनले जानकारी दिए ।

‘अझै पनि सयम छ, नेपालीहरुको बानी अन्तिम क्षणमा काम गर्नेपनि हुन्छ,’ उनले भने, ‘असार अन्तिमसम्म धेरै ऋणीहरुले तिर्नु हुन्छ भने अपेक्षा गरेका छौँ ।’

कोरोनाको प्रभाव कै कारण सक्ने ऋणहरुले साँवा ब्याज भुक्तानी गरेपनि गत वर्षको तुलनामा २/३ गुणा नै कम हुने उनको भनाइ छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरको छ । लकडाउनपछि ऋणीले साँवा ब्याज भुक्तानी गर्न सकिरहेका छैनन् ।

असार मसान्तसम्म साँवा ब्याज ७० प्रतिशत आएको बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवल गोल्यानले बताए ।

‘करिब ३० प्रतिशतमात्रै समस्यामा देखिन सक्छ,’ उनले क्लिकमाण्डूलाई भने, ‘समस्या सानो भयो भने बैंकको तहबाटै मिलाउन सकिन्छ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिलाई साउनमा लैजानुको मुख्य कारण पनि के कति रिकभर हुन्छ भनेर हेर्ने र सोही अनुसार नीति ल्याउनका लागि भएको उनको भनाइ छ ।

‘अहिलेसम्म पनि रिकभरी भएन भने वास्तवमै समस्या रहेछ भनेर बुझ्नुपर्छ’ उनले भने, ‘सहजरुपमा सहुलियत दिँदा पैसा भएकाले समेत ऋणको ब्याज र साँवा तिरेनन् ।’

राम्रो गरिरहेको क्षेत्रले पनि क्षमता हुँदा समयमा नै ऋण तिरेनन् भने समस्या हुने र समस्याको सावधान बैंक र राष्ट्र बैंक मिलेर गर्नुपर्ने उनको भनाइ छ । लकडाउनले गर्दा सबैभन्दा प्रभावित भएको हुँदा ंअसार मसान्तसम्म कुल वक्यौता रहेको साँवा ब्याजमा एसएमइ क्षेत्रले मात्र सबै भुक्तानी गरेका बैंकरहरुको भनाइ छ ।

पर्यटन र हायर पर्चेज क्षेत्रमा गएको ऋणको साँवा ब्याज भुक्तानीमा अहिले सबैभन्दा बढी समस्या आएको नेपाल डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष गोविन्द ढकालले बताए ।

‘आजको दिनसम्म ६० प्रतिशतभन्दा बढी आइसकेको छ, भोलिसम्ममा ७० प्रतिशत माथि नै साँवा ब्याज भुक्तानी होला,’ उनले क्किमाण्डूसँग भने, ‘भुक्तानीमा समस्या भएको पयर्टन र हायर पर्चेजका क्षेत्रमा गएका कर्जामा छ ।’

हालसम्म ठुला ऋणीभन्दा साना तथा मझौला ऋणी अर्थात् एसएमई कर्जाको नै साँवा ब्याज भुक्तानी सहज रुपमा भइरहेको उनले जानकारी दिए । अहिलेसम्मको प्रवधानअनुसार बैंकहरुले नउठेको कर्जामा प्रोभिजिङ गर्नुपर्ने हुँदा राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् यसको सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकको कोरोनाको कारणले अर्थतन्त्र प्रभावित भएको भन्दै चैतबाट नै सहुलियत दिएका हुँदा अब पनि थप सहुलियत पाउने आशामा क्षमता भएका ऋणीहरु मौद्रिक नीतिको पर्खाइमा रहेका नेपाल वित्त संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।

‘नतिर्नेलाई कोभिड नै आउनु पर्दैन थियो, जे भएपनि बाहना बनाइ हाल्थे,’ उनले क्लिकमाण्डूसँग भने, ‘त्यस्तै प्रकारका ऋणीहरु यसअघिको राहत प्याकेजलाई हेरेर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् के दिन्छ भनेर पर्ख र हेरको अवस्थामा छन् ।’

सार्वजनिक यातायात, पयर्टन क्षेत्र, शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रका सक्दा तिर्नुपर्छ भन्ने मानसिकता भएका ऋणीहरुले समयमा नै बुझाइरहेको उनले जानकारी दिए । सक्दा पनि बाहना बनाएर भोलिका दिनमा सहुलियत पर्खेर बस्ने ऋणीलाई थप ब्याजको भार पर्ने हुँदा समय हुँदा नै तिर्दा २ प्रतिशत भएपनि ब्याज छुट बैंकहरुले दिने उनको भनाइ छ ।


पुष्प दुलाल