संसदलाई गभर्नरको ब्रिफिङः ढुक्क हुनुहोस्, मौद्रिक नीतिले कसैलाई निराश बनाउँदैन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर हाप्रसाद अधिकारीले मौद्रिक नीतिले कसैलाई पनि निराश नबनाउने बताएका छन् ।

संसदको अर्थसमितिको सोमबारको बैठकमा आगामी आवको मौद्रिक नीतिको प्राथमिकता पेश गर्दै उनले कोभिड–१९ का कारण वित्तीय क्षेत्रमा परेको प्रभावलाई न्यून गर्ने गरी सबैलाई खुसी बनाउने खालको नीति ल्याउने तयारीमा आफूहरु जुटेको बताए ।

उनले नीतिले समग्रमा अर्थतन्त्रको गति बढाउने र वित्तीय स्थायित्व दिने खालको वातावरण बनाउने उल्लेख गरे ।

कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भएको समेत बताए ।

‘लकडाउनको समयमा विद्युतीय कारोवार दोब्बर भएको छ । यो हाम्रा लागि खुसीको विषय हो,’ उनले भने ।

उनले कोभिड १९ महामारी र रोकथामका लागि विश्वव्यापी रुपमा अवलम्बन गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको प्रभाव नेपालमा समेत परेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले एशियाली अर्थतन्त्र इतिहासमा पहिलो पटक आर्थिक संकुचनमा जाने प्रक्षेपण गरेको हो ।

एशियाली अर्थतन्त्र सन् २०२० मा १.६ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ । सन् २०२० मा भारतको अर्थतन्त्र ४.५ प्रतिशतले संकुचन हुने र चीनको अर्थतन्त्र १ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ ।

सन् २०२० मा नेपालको आर्थिक वृद्धि १ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्राकोषको पछिल्लो प्रक्षेपण छ । विगत ३ वर्ष औसत आर्थिक वृद्धि ७.३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २.२८ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ ।

यद्यपि उक्त अनुमान नौ महिनाको तथ्याङ्कमा आधारित भएर गरिएको र पछिल्ला ३ महिनामा आर्थिक गतिविधि सहज रुपमा हुन नसकेको कारण चालु आर्थिक वर्ष आर्थिक वृद्धि सो भन्दा न्यून रहने देखिएको छ ।

यस्तै कोरोनाका कारण सिर्जना भएको विषम परिस्थितिको बाबजुद मुद्रास्फीति नियन्त्रित रहेको बैंकले जनाएको छ । गत बैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको १० महिनाको औसत मुद्रास्फीति ६.४६ प्रतिशत छ ।


क्लिकमान्डु