नबिल बैंकले शुरु गर्यो ‘डीजी बैंक’, सीइओ अनिल शाहले भनेः यो बैंकभित्रको अर्को बैंक हो



काठमाडौं । नबिल बैंकले नयाँ पुस्ताका लागि डीजी बैंकको शुरुवात गरेको छ । स्थापनाको ३६ वर्ष पुगेको अवसरमा बैंकिङ प्रणालीलाई डिजिटल बनाउने योजनाका साथ डीजी बैंकको शुरुवात गरिएको बैंकका सीइओ अनिल केशरी शाहले जानकारी दिए ।

बैंकले हुवावेसँग सहकार्यमा डीजी बैंकको शुरुवात गरेको हो ।

‘डिजी बैंक बैंकभित्रको पनि बैंक हो । यसका लागि ७२ जना कर्मचारी हुनुहुन्छ । डिजी बैंकले हाम्रो आन्तरिक क्षमता अभिवृद्धिका लागि समेत सहज बनाउने हामीले अपेक्षा गरेका छौं,’ उनले भने ।

शाहले आगामी ६ वर्षमा डिजिटल बैंकिङका रुपमा बैंक अझ ठूलो हुने समेत विश्वास व्यक्त गरे ।

‘बैंकले ३६ वर्षे पूरा गरिसकेका छौं । यसबीच कम्प्युटराइज बैंक, पहिलो ज्वाइन्ट भेञ्चर बैंकका रुपमा नबिल पहिलो बैंक हो । अब त्यत्तिले मात्रै पुग्दैन त्यसैले आगामी दिनमा वित्तीय क्षेत्र साच्चिकै डिजिटल रेभुलुसन गर्नुपर्छ भन्ने हिसाबले डीजी बैंकको शुरुवात गरेका हौं,’ सीइओ शाहले भने ।

‘अधिकांश वित्तीय संस्थाले केही न डिजिटलमा बैंकिङमा काम गरिरहेका छन् । हामीले पनि लकडाउनको समयमा ई एट नबिल र जेन एन अकाउन्ट जस्ता नयाँ प्रडक्ट निकाल्यौं,’ शाहले भने, ‘नबिल बैंकले १२ वर्ष अगाडि नै अनलाइन अकाउन्ट शुरु गरेको थियो । तर त्यस्ले प्रभावकारी रुपमा निरन्तर हुन सकेन, तर अहिले लकडाउनको समयमा आइपुग्दासम्म यसको महत्व र आवश्यकता बढेर गएको छ ।’

शाहले अहिलेको समयमा डिजिटल बैंकिङको आवश्यकता भइसकेको बताउँदै अनलाइन अकाउन्ट पनि शुरु गरिसकेको जानकारी दिए ।

‘यतिबेला डिजिटल प्रणालीको महत्व बढिरहेको छ, बैठक पनि यतिबेला अनलाइनबाटै गरिरहेका छौं, त्यसैले डिजिटल प्रणालीले बैंकिङ क्षेत्रलाई अझ बढी सहज होस भन्ने हामीले अपेक्षाका साथ प्रडक्ट ल्याउँदा मुलुकका लागि हामीलाई सुहाउँदो प्रडक्ट ल्याएका छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै हुवावे नेपालका प्रमुख डेनी देङले हुवावे मोबाइल कम्पनी मात्रै होइन हामी विश्वमै अग्रणी आईसीटी कम्पनी समेत भएको बताए । उनले नबिल बैंकको डीजी बैंकका लागि काम गर्न पाउँदा निकै खुसी लागेको र यो नेपाल बैंकिङ प्रणालीका लागि राम्रो शुरुवात भएको बताए । उनले यो साधारण हार्डवेयर खरिद बिक्री नभएर समग्र प्रणाली भएकाले यसले डिजिटल बैंकिङको बाटोमा नयाँ आयाम थपिएको बताए ।

बैंकका सीइओ शाहले बैंकको डीएनए मै डिजिटल भएकाले आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले जाने बताए । यसले डिजिटल रिभोलुसनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

शाहले अहिलेसम्म नबिल बैंक बैंकिङ क्षेत्रका धेरै कुरामा पायोनियर बनेको बताउँदै डिजिटल बैंकिङमा पनि पायोनियर बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नबिल डीजी बैंकका चिफ विनय रेग्मीले डिजी बैंकको उद्देश्य बैंकलाई पूर्णरुपमा डिजिटल बैंकिङमा लैजाने भएको बताए ।

‘हामीसँग ६५ प्रतिशत जनसंख्यामा बैंकको खाता छ भने बाँकी रहेको जनसंख्यालाई पनि बैंकिङ क्षेत्रमा ल्याउनका लागि डिजी बैंक सहयोगी हुने अपेक्षा गरेका छौं । वित्तीय साक्षरता बढाउनका लागि समेत डिजी बैंकमार्फत काम गर्न सक्छौं । त्यसैगरी ग्राहकलाई अझ बढी सन्तुष्ट हुने गरी सेवा प्रदान गर्नका लागि समेत डिजी बैंक सहयोगी हुनेछ,’ उनले भने ।

उनले आजको पुस्तालाई सबै सेवा रियल टाइममा सेवा चाहिने भन्दै अब बैंकिङ क्षेत्रमा किन यो सेवा नदिने भन्ने उद्देश्यबाट बैंकिङ प्रणालीलाई डिजिटाइजेसन गरेको बताए ।

‘डीबी बैंकबाट कस्ट अफ ट्रान्ज्याक्सन पनि बढाउनु पर्ने भएको छ । विगतमा एटीएमको पिनका लागि समेत पेपरमा प्रिन्ट गरेर दिनुपर्ने अवस्था थियो भने अहिले एटीएममै ग्राहकलाई त्यो सुविधा दिएका छौं । यसले गर्दा बैंककको लागत खर्च पनि कम हुन्छ । भने यसबाट ग्राहकलाई नै अझ बढी सुविधा दिन सहयोग हुन्छ,’ उनले भने ।

उनका अनुसार बैंकले आगामी दिनमा अनलाइनबाटै डेविट र क्रेडिट कार्ड पनि अनलाइनमार्फत् नै उपलब्ध गराउने बताए । ग्राहकले पनि अनलाइनमार्फत् नै अप्लाइ गर्नुहुन्छ । र, सेवा पनि अनलाइनमार्फत नै पाउनु हुनेछ ।

रेग्मीले आगामी दिनमा बैंककले डिजिटल बैंकिङमार्फत् नन बैंकिङ सेवा पनि उपलब्ध गराउने योजना बनाएको बताए ।

‘एउटै मोबाइल बैंकिङले दैनिक जीवनमा आइपर्ने सबै कारोबार हुने गरी काम गर्नेछौं । चीनमा विच्याटबाट जसरी सबै काम गर्न सकिन्छ सोही अनुसारले हामीले पनि काम गर्न सक्छौं,’ उनले भने ।

प्रडक्ट र सर्भिस लञ्च मात्रै गरेर हुँदैन, ग्राहकले कसरी प्रयोग गर्ने भन्नेबारेमा पनि हामीले सिकाउने उनले बताए ।

‘ग्राहकको समयको बचनका लागि पनि डिजिटल बैंकिङको दायरा फराकिलो बनाउँछौं । कसैले डिजिटल कारोबार गर्छ भने केही न केही ग्राहकलाई इन्सेन्टिभ पनि दिने योजना पनि बनाएका छौं । ग्राहकहरुलाई प्रयोग गर्ने तरिका, आइपर्ने समस्याको समाधानका लागि समेत डिजी बैंकले काम गर्छ । जसमा अडियो, भिडियोबाट जानकारी दिन्छौं । यसमा रोबटिक्स टेक्नोलोजी पनि प्रयोग गर्नेछौं । त्यसैगरी रिमोर्ट सपोर्टको सेवा समेत उपलब्ध गराउँछौं,’ उनले भने ।


क्लिकमान्डु