ग्राहकको अनुमतिबिनै बैंकहरुले ऋणीको खाताबाट धमाधम पैसा काट्न थाले



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम ग्राकहको खाताबाट पैसा काट्न थालेका छन् । बैंकबाट ऋण लिएका ग्राहककोे बचत खातामा भएको मौज्दात रकमबाट ऋणको साँवा ब्याज ग्राहकको अनुमतिबिना नै बैंकले काटेका हुन् ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ग्राहकले नियमित किस्ता तिर्नका लागि ऋण खाता खोल्नु पर्छ । यदि ऋणीले खाता जम्मा गरेको भएमा किस्ता तिर्नेे अवधि पुगेपछि स्वतः भुक्तानी गर्नु पर्ने किस्ता बैंकले कट्टा गर्छ । यसमा राष्ट्र बैंकले नै अनुमति दिएको छ ।

तर ऋणीको ऋण खाता बाहेक अन्य खातामा मौज्दात रकम भने बैंकले कटौती गर्न नपाउने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘ऋण खातामा भएको पैसाबाट तानेर ओभरड्राफ्ट सीमा ननाध्ने गरी बैंकहरुले कर्जाको ब्याज हाल्न पाउँछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘ऋण खातामा भएको बाहेक बैंकले ग्राकहको अन्य खाताबाट उसको अनुमतिबिना रकम कटौती गर्ने अधिकार छैन ।’

ओभरड्राफ्ट सीमा नाघ्ने गरी ग्राहकको खाताबाट साँवा तथा ब्याज असुलउपर गर्न नपाइने राष्ट्र बैंकको एकिकृत निर्देशीका उल्लेख गरिएको छ ।

राष्ट्र बैंकद्वारा जारी ‘एकीकृत निर्देशन- २०७६’ मा भनिएको छ- ‘ओभरड्राट सीमा नाघ्ने गरी ग्राहकको चल्ती खाताबाट ओभरड्रन गरी कर्जाको साँवा तथा ब्याज असुलउपर गर्न पाइने छैन ।’

निर्देशिकाअनुसार ग्राहकको खाता खर्च गरी साँवा तथा ब्याज असुलउपर गर्दा खाता ओभरड्रन भई हिसाब राफसाफ नभएको खण्डमा यसरी असुलउपर नभएका कर्जाहरुमा ओभरड्रन गरेको साँवा रकम समेत बक्यौता कर्जा रकममा समावेश गरी त्यस्ता कर्जाहरु जुन वर्गमा पर्ने हो सो भन्दा एक तह मुनिको वर्गमा समावेश गर्नु पर्नेछ ।

तर राष्ट्र बैंकले बैशाखमा एक परिपत्र जारी गर्दै चैतदेखि असार मसान्तसम्म भुक्तानी नभएको कर्जा किस्ता ब्याजलाई असल कर्जामा नै राख्नु पर्ने अर्थात जुन वर्गमा पर्ने हो सो भन्दा एक तह मुनिको वर्गमा समावेश गर्नु नपर्ने व्यवस्था गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । लकडाउनको कारणले ४ महिनादेखि अधिकांश ऋणीहरुले साँवा ब्याज तिर्न सकिरहेको थिएनन् ।

तर यसैबीच राष्ट्र बैंकले असार मसान्तसम्म कर्जाको किस्ता भुक्तानीको लागि समय तोकिएको छ । जसकारण बैंकहरुले ऋणीको खातामा भएको बचतबाट असार मसान्तसम्मको साँवा ब्याज कटौती गरेको नेपाल चेम्बर अर्फ कर्मशका उपाध्यक्ष कम्लेश अग्रवालले बताए ।

‘हामी ऋण लिएको बैंकको जुनसुकै खातामा ब्यालेन्स देख्ने बित्तिकै नसोधी काटी हाल्छन्,’ उपाध्यक्ष अग्रवालले क्लिकमाण्डूसँग भने ‘ऋणीहरुलाई बैंकहरुले जानकारी दिने भनेको अनुमानित ब्याजको रकम मात्र हो,’ उनले भने ‘ब्याज यति छ, ऋण खातामा जम्मा गर्नु भनेर म्यासेज पठाउँछन् तर त्यो खातामा पैसा छैन् भने चालु खाता वा बचत, मुद्दती जुनमा पैसा भएपनि काट्छन् जसको जानकारीसम्म गराउन आवश्यक उनीहरुलाई हुँदैन ।’

कुनै पनि कम्पनी वा व्यक्तिले ऋण लिएको बैंकले सोहि बैंकको अन्य प्रकारका निक्षेप खातामा कर्मचारीलाई तलब खुवाउन वा अन्य प्रकारका सञ्चालन खर्चको लागि जम्मा गरको पैसा पनि बैंकले किस्तामा कटौती गरेको उनले गुनासो गरे ।

‘कोरोनाले गर्दा व्यवसाय घाटामा छ, कर्मचारीलाई तलब दिन राखेको पैसापनि खाताबाट राष्ट्र बैंकले दिएको समय भन्दै काटिएको छ,’ अग्रवालले थपे, ‘अन्य अवस्थामा भनेको ऋण खातामा नभएमा अरु खातामा भएको पैसा कटौती गर्दा त्यति फरक पर्दैन थियो तर अहिलेको अवस्थामा बैंकले हाम्रोपनि समस्या बुझ्नु पर्ने हो ।’

सम्पुर्ण उद्योगी व्यवसायीलाई असार मसान्तमा नै बैंकहरुले साँवा ब्याज भुक्तानी तिर्न दवाब दिएको हुँदा राष्ट्र बैंकले चाँडै मौद्रिक नीतिमार्फत् नयाँ व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘राष्ट्र बैंकले विगतमा साउनमा मात्र मौद्रिक नीति सार्वजनिक गर्ने परम्परालाई त्याग्नु पर्यो,’ उनले भने ‘परम्परालाई त्यागेर आगामी मौद्रिक नीति असार मसान्त अगावै सार्वजनिक गरी ऋणीलाई सहज हुने नयाँ व्यवस्था लागू गरिदिनु पर्छ ।’

यसअघि असार मसान्तमा बाँकी साँवा ब्याज भुक्तानी गर्नुपर्ने भनिएकोले बैंकहरुले ऋणीलाई भुक्तानी गर्न दवाब दिइरहेका उनले गुनासो गरे ।

बैंकहरुले कर्मचारीलाई तलब खुवाउन तथा थप व्यवसाय गर्न जम्मा गरेको पैसा नै साँवा ब्याज भुक्तानीको लागि कटौती गर्दा तलब दिन तथा आगामी दिनमा व्यवसायलाई निरन्तरता दिनै समस्या हुने उपाध्यक्ष अग्रवालको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ऋण खाता बाहेक पनि अन्य खातामा भएको रकम ब्याज भुक्तानीको लागि कटौती गरिरहेको एक बैंकरले बताए ।

‘सबै बैंकहरुले कुनैपनि ऋणीले ऋण खातामा जम्मा गरेको पैसाले नपुग्दा अन्य खातामा भएको रकमबाट असुल गरिरहका छन्,’ ती बैंकरले क्लिकमाण्डूसँग भने, ‘ऋण खाताको पैसा ग्राहकको अनुमतिबिना नै कटौती गरेपनि अन्य खातामा मौज्दात रकम कटाती गरी किस्ता हाल्न भने अनुमति लिनु नै पर्छ ।’

केही बैंकका कर्मचारीलाई सोको बारेमा जानकारी नभएको कारण ऋणीको अन्य खाताबाट पनि किस्ता कटौती गरेकको हुनसक्ने उनको भनाइ छ । ग्राहकले गुनासो गरेमा बैंकले त्यस्ता ऋणीको खातामा पैसा फिर्ता गर्नुपर्ने उनले जानकारी दिए ।


पुष्प दुलाल