‘क्यास फ्लो’ बढाए अर्थतन्त्रको पुनरुत्थान छिट्टै हुन्छ, डिजिटलमा भविष्य छः शाहिल अग्रवालको अन्तर्वार्ता



शाहिल अग्रवाल नेपालको ठूलो व्यवसायिक घराना शंकर ग्रुपका प्रवन्ध निर्देशक हुन् । ग्रुपको उद्योगमा ठूलो लगानी छ । १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको शंकर ग्रुप सिमेन्ट र स्टिल उद्योगमा नेपालमा पायोनियर नै मानिन्छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य समेत रहेका अग्रवालसँग कोभिड- १९ ले व्यवसायिक क्षेत्रमा पारेको असर र सम्भावनाको विषयमा क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले गरेको कुराकानी

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनले तपाईंजस्ता व्यवसायीलाई कस्तो असर गर्यो ?

चैत ११ देखि लकडाउन भयो । शुरुवातमा सबै व्यवसाय बन्द भए । तर केही व्यापार भने चलेको थियो । व्यासायीका लागि बैंकको ब्याज बाँकी थियो । पछिल्लो १५÷२० दिनदेखि व्यापार केही बढेको छ । समग्रमा हेर्दा व्यवसाय लकडाउन खुलेको अवस्थामा अहिले पनि प्रभावित छ ।

लकडाउन खुकुलो भएको अवस्थमा कुन क्षेत्रमा व्यवसाय सहज हुँदै गएको पाउनु भएको छ ?

अटोमोबाइल्स क्षेत्रमा मोटरसाइकल र स्कुटरको बिक्री अहिले शुरु भएको छ । यो दीर्घकालका लागि हो वा अल्पकालको लागि हो भन्न सकिदैन । निर्माण व्यवसायमा हेर्नुहुन्छ भने सुस्तता आएको छ । लकडाउनको एक महिनापछि डिमाण्ड बढेको थियो । त्यसको कारण पुरानो प्रोजेक्ट पानी पर्ने मौसम शुरु हुनु अगाडि काम सक्नका लागि गरेको हुँदा भएको हो । तर अहिले डिमाण्ड छैन ।

अहिले निर्माण क्षेत्र २० देखि २५ प्रतिशतमात्र चलेको छ । यसको अर्को कारण कामदारको मुभमेन्ट हुन नसकेका कारण पनि भएको होला । पर्यटन व्यवसाय पूर्ण ठप्प छ । यसबाहेक शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई पनि निकै नै असजिलो स्थिती उत्पन्न भएको छ । समग्रमा व्यवसाय क्षेत्र अहिले गाह्रो अवस्था मै छ ।

ठूलो व्यवसायिक घरानाको हिसाबले मनोवैज्ञानिक कस्तो खालको छ ?

लकडाउन हुने समयमा बैंकको ब्याजदर ठूलो रकममा थियो । हामीले बैंकको ब्याज रोकेको छैन । मोटोमोटी डेढ २ प्रतिशत छुट पाएका छौ । बैंकको ऋण लिएपछि तिर्नु पर्छ नै । व्यवसाय नभएका बेला त्यसको असर ठूलो हुन्छ । हाम्रो ग्रुपमा १० हजारभन्दा बढी मान्छेहरु काम गर्छन् । उनीहरुको पनि एक लेभलमा तलब सुविधा दिएका छौं । केही सुविधा कटौती भएको होला । तर तलब दिएका छौ । बाँकी अन्य खर्चहरु भइरहेको छ ।

व्यापार नभएको बेला आम्दानी भएन । त्यो हुँदा नगदको व्यवस्थापन गर्न निकै नै कठिन भएको छ । व्यवसायीका रुपले हेर्दा त्यो सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ । आजको दिनमा सबैभन्दा ठूलो चुनौती नै नगदको व्यवस्थाप हो । तीन महिनासम्म व्यापार भएन खर्च त्यत्तिकै छ । त्यो हुँदा नगद व्यवस्थापन गर्न कठिन भएको छ ।

अहिले बजारमा माग देखिएको छैन । यसलाई बढाउने तरिका के हुन सक्ने थियो ?

पहिलो कुरा मानिसहरुको जागिर गएको छ । त्यो जागिरलाई फिर्ता ल्याउनुपर्यो । त्यसका लागि पूर्वाधारमा लगानी गर्नुपर्यो । सरकारको जुन योजना पूर्वाधार क्षेत्रमा लगानी गर्ने थियो त्यसलाई थप बढाउनुपर्ने हुन्छ । ठूलो रकम पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्छ । त्यो हुँदा ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ । रोजगारी भएपछि ती व्यक्तिले अर्थतन्त्रमा खर्च गर्छन् । उनीहरुले खर्च गरेपछि अर्थतन्त्र चलायमान हुन्छ । चाहे पूर्वाधार क्षेत्रमा लगानी होस्, वा सिधै पैसा दिएर होस् या स्वदेशी उद्योगलाई सहुलियत दिनुपर्छ ।

ठूलो व्यवसायिक घरानाको हिसाबले धेरै वटा क्षेत्रमा लगानी गर्नु भएको छ । कोभिड १९को कारण कुनै परियोजनाबाट पछाडि फर्कनु पर्यो ?

अहिले हाम्रो थुप्रै परियोजनाहरु पाइपलाइनमा छ । हाम्रो सिमेन्टको २ वटा ठूलो उद्योगहरु निर्माणको क्रममा थिए । जसमा एउटा उद्योग उत्पादनमा आइसकेको छ । एउटा २/३ महिनामा आउँदैछ । अहिलेसम्म कुनै प्रोजेक्ट होल्ड गरेको छैन ।

हामीले हिल्टन होटल बनाएका छौं । आजको दिनमा लगानीको हिसाबले जोखिमको क्षेत्र देखिएको छ । आजको दिनमा के गर्ने भनेर सोचेको अवस्था छ । सरकारको नीति मौद्रिक नीतिले कस्तो नीति ल्याएको हुन्छ । होटल सेक्टरलाई सहुलियत दिएमा हामीले त्यसलाई निरन्तरता दिन सक्छौं । कुनै सहुलियत भएन भने ठूलो लगानी जोखिम हुनसक्छ । बाँकी प्रोजेक्ट हामीले कुनै रोकेका छैनौ ।

कोरोनाबाट हामीले के सिक्यौ र के सिक्न पर्नुपर्छ ?

कोरोनाबाट हामीले धेरै सिकेका छौ । हामीले परिवारको महत्व बुझ्यौ । परिवारसँग बस्न पायौं त्यो राम्रो कुरा छ । व्यवसायिक हिसाबले सोच्ने हो भने धेरै नै कुरा कोरानाले सिकाएको छ । आजको दुनियाँ अनुमान गर्न नसक्ने भयो । भोलिका दिनमा यत्ति ठूलो लगानी गर्नु भएको छ । ऋण लिनु भएको छ । त्यत्तिका मानिसलाई जागिर दिनु भएको छ । भोलिको दिनमा त्यो व्यापार के हुन्छ केही पनि थाह छैन ।

हामी १ हजार करोड, २ हजार करोडको लगानी गरेका हुन्छौ । भोलिका दिनमा के हुन्छ त्यो भन्न नसक्ने स्थिती छ । आज कोरोना आएको छ । भोलि के आउँछ नै थाह छैन । लगानी गर्दा धेरै पटक सोच्नुपर्ने छ । लगानी गर्दा ऋण कम लिनुपर्ने आफुसँग क्यास फ्लो बलियो हुनुपर्ने देखियो ।

सबैभन्दा बढी कर तिर्ने ग्रुपलाई सानो इस्युमा बदनाम गराउने कोसिस गरियो । जसले १० हजार बढीलाई रोजगारी दिएको छ उसलाई १५ हजार डलर फाइदा लिन कालोबजारी गरेको आरोप लगाएर रेपुटेसन खराब गर्ने कोसिस भयो ।

तपाईंलाई आफूलाई कत्तिको तनाव भयो  ?

तनाव स्वभाविक नै हो । एउटा व्यक्तिलाई, एउटा कम्पनीलाई हुने कुरा थिएन । यो विश्वव्यापी रुपमा परेको हो । हामीलाई भन्दा बढी दैनिकरुपमा कमाएर खानेलाई बढी असर परेको छ । जिन्दगीमा पैसा मात्र सबैकुरा होइन । बाच्नुपर्ने हुन्छ । शुरुको बेला रमाइलो पनि भयो । परिवारसँग बिताउन पाइयो । व्यवसाय गरेपनि तनाव त भइहाल्छ ।

हरेक समस्या अवसर पनि आएको हुन्छ । कोभिड-१९ को संकटमा तपाईंले के अवसर देख्नु भएको छ ।

डिजिटल बिजनेशमा विश्व गइरहेको थियो । एआई होस् वा अटोमेसनमा । त्यसमा विश्व गइरहेको थियो । त्यसमा अवसर झन बढेर गएको छ । आजका दिनमा कति मान्छेले घरमा नै सामानको डेलिभरी लिएको छ । मिटिङहरु पनि जुमबाट भइरहेको छ । त्यो डिजिटल बिजनेशमा ठूलो अवसर छ । यसमा लगानी पनि कम चाहिन्छ । आजको दिनमा हामीलाई उद्योग लगाउन १ हजार करोड चाहिन्छ भने त्यसमा डिजिटल बिजनेशमा ठूलो लगानी चाहिँदैन । यसमा लगानीकर्ता पनि पाइन्छ विश्वभरमा नै । त्यसपछि हेल्थ सेफ्टी अरु उद्योगमा नयाँ सम्भावना देखिएको छ ।

तपाईंहरुको अबको लगानी पनि डिजिटलमा बढी हुने हो ?

हामी पनि केही प्रोजेक्टमा काम गर्दैछौ । डिजिटल एआई हामीले टिम बनाएर काम गर्ने सोच बनाएका छौ । भविष्य पनि त्यही हो । हामी अविकसित भएर कम देखेको हो । अबको भविष्य डिजिटलमा नै हो ।

तपाईंहरुले राज्यबाट खोजेको सुविधा के हो ?

म आफैले खोजेको भन्दापनि व्यवसायीका रुपमा भन्दा नेपालमा चाहिएको नगद प्रवाह हो । आजको दिनमा निजी क्षेत्रले बाहिरबाट पैसा लगाउन सक्दैन । नेपालमा विदेशी लगानी आउने सम्भावना तत्काल देखिएको छैन । त्यो पैसा कहाँबाट आउने ? त्यो पैसा कुनैकुनै रुपमा सरकारले पम्प गर्नुपर्छ । हामीलाई जुन जीडीपी लस भएको छ । ३ खर्बको घाटा हामीलाई भएको छ भने सरकारले त्यो पैसा सरकारले ऋण लिएर भए पनि पम्प गर्नुपर्छ ।

व्यवसायीले जहिले पनि व्यवसायीसँग छुट मात्रै मागे । जनतालाई सहुलियत दिएनन् भन्ने आरोप छ । यही बेलापनि तपाईहरुले सिमेन्टकै मूल्य बढाइदिनु भयो नि ?

उद्योग भनेको डिमाण्ड एण्ड सप्लाइमा चल्ने हो । हामीले सहुलियत पाएमा हाम्रो नाफामा मात्र राख्न सक्दैनौ । हामी प्रतिस्पर्धात्मक उद्योगमा काम गर्छौ । बजारको माग र आपूर्ति अनुसार मूल्य राख्नुपर्छ । आजको दिनमा नेपालमा सिमेन्ट र स्टिलमा हामी आत्मनिर्भर पनि छौ । हामीले मागभन्दा बढी उत्पादन गरेका छौ । नेपालमा २० करोड बोराको माग छ भने हाम्रो क्षमता ५० करोड पुग्न थालेको छ । यस्तै स्टिलमा २० लाख टन छ भने हाम्रो क्षमता ६० लाख पुग्न लाग्यो । यस्तो प्रतिस्पर्धाका ठाउँमा मूल्य एकलौटी भन्ने हुँदैन । आजको दिनमा स्टिल ४० वटा उद्योग छ सिमेन्ट ६० वटा उद्योग छ ।

अहिले सिमेन्टको मूल्य बढेको कुरा छ । एउटा माग र आपूर्ति हो । यसपटक चुनढुंगा खानीबाट उद्योगसम्म आउन सकेको छैन । हाम्रो बर्खामा खानीहरु सञ्चालन हुँदैनन् । हाम्रो १२ महिना बाटो चलेको भए लागत पनि घट्ने थियो । हाम्रो खानी चल्ने भनेको ४/५ महिना हो । यदीबेला कोभिडले गर्दा खानीबाट चुनढुंगा आउन सकेन । जसले गर्दा क्लिङकरको आयात भएको छ । त्यसले गर्दा कस्ट बढेको हो ।

व्यवसाय सामान्य अवस्थामा कहिलेदेखि पुग्छ भनेर अनुमान गर्नु भएको छ ?

यो जवाफ कसैले पनि दिन सक्दैन जस्तो लाग्छ । अहिले व्यवसाय मात्र होइन जीवनशैली नै अनुमान गर्न नसक्ने खालको भएको छ । जीवनको एउटा सानो हिस्सा व्यवसाय हो । विश्व अब २/३ वर्षको लागि पछाडि गइसकेको छ । २/३ वर्ष अब अवस्था सामान्य हुन लाग्छ । तर विश्वमा सबै देशमा त्यही नै हुन्छ भन्ने हुँदैन । देशअनुसार फरक हुन्छ । हाम्रो देश भनेको ३ करोड जनता भएको देश हो । हाम्रो जस्तो जनसंख्या र अविकसित देशमा अलिकति छिटो अर्थतन्त्र पुर्नउत्थान हुनसक्छ । यसका लागि सरकारले लिने नीतिमा भरपर्छ । आजको दिनमा भन्ने हो भने २ वर्ष हामी पछाडि गइसकेका छौ ।

कोभिडको महामारीबीच बजेट पनि आयो । बजेटले अहिले देखिएका समस्या समाधान गर्ला ?

भारत निर्यात गर्दाभन्दा हामीलाई १० प्रतिशत महंगो दरमा विजुली दिएमा सिमेन्ट निर्यात गर्ने बाटो खुल्छ । विजुली निर्यात गरेर होइन तयारी वस्तु निर्यात गरेमा देशलाई फाइदा हुन्छ

बजेटमा खासै निजी क्षेत्रलाई सम्बोधन गरे जस्तो लागेन । सरकारले ठूलो मात्रामा स्टिमुलस प्याकेज ल्याउनुपर्ने थियो । आजको अर्थतन्त्रमा नगद अभाव भएको छ । एउटा व्यवसायीले जुन आफूसँग हुने पूँजी थियो । त्यो सकिएको छ । अब त्यो कसरी आउँछ ? त्यसमाथि खर्च क्षमता घटेर गएको छ । सामान्य काम गर्ने मान्छेले पनि तलब पाएको छैन । कति मान्छेको जागिर गएको छ । उसले खर्च कसरी गर्छ । सरकारले अर्थतन्त्रमा ७/८ प्रतिशतको जीडीपी घाटा भएको छ । त्यत्ति बराबरको पैसा अर्थतन्त्रमा पम्प गरेन भने अर्थतन्त्रको चक्का घुम्न सक्दैन ।

अर्थतन्त्रको चक्का घुमाउनका लागि सरकारले त्यो पैसा खर्च गर्नुपर्ने हो । यसको धेरै तरिका हुन्छ । एउटा सिधै गरिब जनतालाई आम्दानी घटेको जनतालाई उनीहरुको खातामा पैसा दिन सकिने व्यवस्था होला । त्यसबाहेक अरु तरिकामा रोजगारी सिर्जना गर्ने, यसका लागि पूर्वाधारमा लगानी गर्नुपर्छ । ताकी रोजगारी सिर्जना होस् । त्यो हिसाबले पनि सरकारले पनि बजेटमा त्यो खालको व्यवस्था ल्याएको भए अर्थतन्त्रलाई उकास्न सकिने थियो । बजेटले खासै त्यो कुरामा महत्व दिएको देखिएको छैन ।

बजेटले खासै समस्याको सम्बोधन गर्न सकेन भन्नुभयो । त्यसपछि सम्बोधन गर्न सक्ने भनेको केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीति हो । अर्थतन्त्रलाई उकास्नका लागि कस्तो मौद्रिक नीति चाहिन्छ ?

आर्थिक वृद्धिलाई सहयोगी हुने मौद्रिक नीति आउनु पर्यो । मौद्रिक सामान्यतया दुई प्रकारको बिस्तारकारी र नियन्त्रणमुखी ल्याउने गरिन्छ । अहिलेको बेला हामीलाई बिस्तार गर्न सक्ने मौद्रिक नीति चाहिन्छ । यो भनेको अलिकति खुला र उदार मौद्रिक नीति आवश्यक पर्छ । जसले गर्दा जुन व्यवसायलाई गर्यो भएको छ, डिमाण्ड घटेको छ र मूल्यवृद्धि बढेको छ त्यसलाई नियन्त्रण गर्नका लागि ब्याजदर कम गर्नुपर्छ ।

ब्याजदरलाई कसरी घटाउन सकिन्छ । र, कतिसम्म घट्नुपर्छ ?

ब्याजदरले पनि मूल्यवृद्धि गर्न मुद्दत पुर्याएको हुन्छ । आजको दिनमा पैसा भ्यालु घटेर जादै लागेको छ । आजको दिनमा कम ब्याजदर भयो भने बल्ल व्यवसायको सम्भावनाको सिर्जना हुन्छ । यसले मूल्यवृद्धिलाई समेत घटाउन मद्दत गर्छ । पहिलाको परिपेक्षमा १२ प्रतिशतमा कर्जाको ब्याजदर भएमा हुने थियो भने आजको दिनमा ५÷६ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था हुनुपर्छ ।

के व्यवसायीहरुले भने जस्तै ५/६ प्रतिशतमा ऋणको ब्याजदर आउन सम्भव छ ?

५/६ प्रतिशत ब्याजदरमा ऋण पाउनका लागि सरकार र केन्द्रीय बैंकले लिने नीतिले प्रभाव पार्छ । हिजोको दिनमा बैंकले १० प्रतिशत ब्याजदर निक्षेपमा दिएको थियो । कसैले १२ प्रतिशत ब्याजदरमा ऋण लिएर पनि १५ देखि २० प्रतिशत कमाएको अवस्था थियो । आजको दिनमा बैंकमा ऋण लिने मान्छे छैन । बैंकले ऋण प्रवाह गर्न नसकेपछि निक्षेपकर्तालाई दिन सक्दैन ।

बैंकमा निक्षेप राख्दा हिजोको दिनमा १० प्रतिशत पाएको थियो भने आजको दिनमा उसले ४ देखि ५ प्रतिशतभन्दा बढी पाउन सकेको थिएन । अहिले आम्दानी छैन । जसले गर्दामा माग भएको छैन । यसलाई कसरी ५ प्रतिशत ब्याजदरमा ल्याउन सकिन्छ त्यो भन्नका लागि म आफू विज्ञ होइन ।

तर एउटा सामान्य व्यक्तिको हिसाबले भन्दा जब म आम्दानी नै गर्न सक्दिन भने म त्यत्ति ठूलो ब्याजदरमा ऋण लिन सक्दिन । बैंकले पनि महंगो ब्याजदरमा ऋण दिन नसकेपछि उसले निक्षेपकर्तालाई महंगो ब्याजदर दिन सक्दैन । सरकारले पनि यसलाई सहुलियत दिनुपर्छ । यो कुरा राष्ट्र बैंकले पनि गर्न सक्छ । जस्तो अटोमोबाइल्स लोन, रियलस्टेट होला र कृषिजन्य ऋणमा सरकारले २ देखि ३ प्रतिशत ब्याजदरमा सहुलियत दिनसक्छ ।

यो त ब्याज घटाउने विषय भयो । यसबाहेक अरु कस्ता सुविधा दिँदा व्यवसायीलाई सहज हुन्छ ?

कोभिडको कारण पछिल्लो तीन/चार महिनामा व्यवसायमा घाटा लागेको छ । यसका लागि निश्चित समय अवधिको ब्याजलाई पूँजीकरण गर्नुपर्छ । त्यसलाई पूँजीकरण गरेर ऋण तिर्ने समयलाई पछाडि सार्नुपर्छ ।

व्यवसाय ठप्प भएका कारण ऋण तिर्न सक्ने अहिले क्षमता धेरैले गुमाएका छन् । पहिला ७ वर्षमा ऋण तिर्ने गरेर कसैले ऋण लिएको थियो भने त्यसलाई व्यवसाय हेरेर ८ देखि १० वर्षसम्म गर्नुपर्ने हुन्छ । त्यो गरेमा उद्योगी तथा व्यवसायीलाई ऋण तिर्ने समस्या हट्छ । उसले समय पाएपछि त्यो गर्न सकिन्छ ।

मौद्रिक नीतिले आर्थिक क्रियाकलाप बढाउनका लागि क्यास फ्लो बढाउनुपर्छ । पैसाको प्रयोग कसरी बढाउने । त्यसमा फोकस गर्नुपर्छ । क्षेत्र हेरेर ब्याज कम गर्ने र कुनै क्षेत्रमा बढी ऋण प्रवाह हुने व्यवस्था मिलाउन ुपर्छ । आजका दिनमा अटोमोबाइल्समा ५० प्रतिशतमात्र बैंकहरुले ऋण दिन पाउने व्यवस्था छ । यसलाई बढाएर ८० प्रतिशतसम्म पुर्याउँदा हुन्छ । ब्याजदर घटाउने हो । यस्तै घरजग्गाको कारोबार ठप्प छ । यसलाई उकास्नका लागि ब्याजदर घटाउने हो वा यस्तै यसका लागि घर किन्दा ३० वर्ष अवधिमा ऋण तिर्दा हुने स्किम ल्याउने हो । जुन कुरा उपभोक्ताले ३ वर्षपछि गर्छु भनेर सोचेको छ यसलाई अहिले नै हुनसक्ने व्यवस्था गर्नुपर्छ । यो भयो भने अर्थतन्त्रमा पैसा आउँछ ।

अहिले सबैभन्दा बढी असर भएको पर्यटन क्षेत्र हो । कहिलेदेखि पर्यटन सामान्य अवस्थामा आउनको लागि २ वर्ष लाग्ने अनुमान गरिएको छ । जसले होटल क्षेत्रमा लगानी गरेको छ त्यसैको लागि ऋण लिएको छ उसले कसरी किस्ता तिर्छ । उसले किस्ता तिर्न सकेन भने उ खराब ऋणी हुन्छ र टाट पल्टछ । मौद्रिक नीतिले त्यस्ता व्यवसायलाई सहुलियत दिनुपर्ने आवश्यक हुन्छ । त्यो र ब्याज र किस्तालाई पछाडि सार्नुपर्ने हुन्छ । २ वर्षको ब्याज र सावा तिर्ने समयलाई २ देखि वर्ष पछाडि सार्नुपर्छ । भोलिका दिनमा उसलाई दवाव दिनु भएन ।

अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्छ । बजारमा माग छैन माग बढाउन कि पैसा बाड्नु पर्यो होइन भने रोजगारी सिर्जना हुने वातावरण बनाउनुपर्यो

उद्योगीका रुपमा तपाईंहरुले उठाएको ट्रंकलाइन र डेडिकेटेड लाइन खारेज भएको छ । अब सम्बोधन गर्नुपर्ने कुरा के छ ?

बिजुलीमा दुईवटा कुरा छ । विगतको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता खडा गरेर राखिएको छ । विद्युत प्राधिकरणले जुन बक्यौता भनेको यसको आधार छैन । प्राधिरकणसँग कुनै प्रमाण पनि बिजुली लिनु भयो भन्ने छैन । यो कुनै नियम कानून अनुसार पनि छैन । प्राधिकरणको आयोगले पास गरे अनुसारको पनि नियमअनुसार कार्यान्वयन भएको छैन । १२ अर्ब रुपैयाँ उद्योगीसँग उठाउन बाँकी भनिएको छ । हामीले १ पैसा पनि दिन बाँकी छैन । उपयोग नै नगरेको बिजुलीको त्यत्ति ठूलो बक्यौता बनाएर तिर्ने भनेको अन्यायको कुरा हो । यसलाई सम्बोधन गर्नुपर्ने छ ।

उद्योगका लागि कच्चा पदार्थ भनेको बिजुली हो । नेपालका लागि फाइदा हुने चिज पनि त्यही नै हो । हामीसँग बिजुली बाहेक केही छैन । अहिलेपनि हामी आयातमुखी देश हो । बिजुली यदी सरकारले सस्तो दिन सकेको भए हामीले धेरैकुरा निर्यात गर्न सक्ने अवस्थामा पुग्ने थियौ । हाम्रो माग पनि के थियो भने पहिलाको भन्दा २० प्रतिशत रेट घटाउन भनेका थियौ । भोलिका दिनमा नेपालमा बिजुलीको उत्पादन बढ्दै जान्छ । निर्यात गर्नुपर्ने हुन्छ ।

बिजुली निर्यात गर्नुभन्दा तयारी उत्पादन निर्यात गर्दा भ्यालु एड पनि हन्छ । रोजगारी सिर्जना हुन्छ । आजको दिनमा भारतलाई हामीले ४ रुपैयाँ नेपाली पैसामा बिजुली निर्यात गरेका छौ । हामीलाई त्योभन्दा १० प्रतिशत महंगोमा दिए हुन्छ । तर हामीलाई ९ रुपैयाँ बिजुली दिएको अवस्था छ । भारतमा ४ रुपैयाँ निर्यात गरेका छौ । यो भने मिलेन । बिजुली सस्तो भने भने हाम्रो औद्योगिक विकास हुनसक्छ ।

सिमेन्टमा तपाईहरुको लगानी ठूलो छ । सिमेन्टमा ठूलो लगानी थपिएको छ । बिजुली कति सस्तो भयो भने सिमेन्टको निर्यात होला ?

एउटामात्र चिजले निर्यात हुँदैन । बिजुली त्यसमा ठूलो पार्ट हो । त्यो सिमेन्टमा पनि हो । स्टिल उद्योगमा पनि हो । झन स्टिल उद्योगमा ठूलो रोल हो । यस्तै धागो उद्योग, रासायनिक मल कारखानामा बिजुली धेरै चाहिन्छ । जुनरेटमा भारत हामीले निर्यात गरेका छौ । त्योभन्दा १० प्रतिशत बढी मूल्यमा उद्योगले बिजुली पाउनुपर्छ । सिमेन्ट निर्यातको लागि ब्याजदर ४/५ प्रतिशतमा आउनु पर्यो । नेपाल सिमेन्ट स्टिल उद्योगमा ४/५ प्रतिशतमा ब्याजदर आउनुपर्यो । सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्यो ।

हाम्रो खानी भनेको सबै पहाडमा छ । पहाडबाट चुनढुंगा तराईमा झार्नका लागि बाटोको कन्डिसनले गर्दा सानो ट्रिपर चलाउनुपर्छ । खानीबाट ठूलो ट्रिपर चलाउन सकेमा हाम्रो लागत घट्छ । बिजुली सस्तो, ब्याजदर सस्तो खानीसम्मको बाटो राम्रो भएमा हामीले भारतमा सिमेन्ट निर्यात गर्न सक्छौं । नेपालबाट सिमेन्ट निर्यात हुने सम्भावना छ । सरकारले यसमा ध्यानपूर्वक हेर्नुपर्छ । हाम्रो सिमेन्ट दिल्ली र मुम्बई जादैन । तर सीमावर्ती क्षेत्रभन्दा १०० किलोमिटरसम्म जान सक्छ ।

लामो इतिहास भएको र देशकै ठूलो व्यवसायिक घरानालाई यो पटक गम्भीर आरोप लाग्यो । कोरोनाको बेला परोपकारी बनेर समाज सेवा गर्नुपर्ने अवस्थामा थर्मल गनको कालोबजारी गरेको अभियोगमा शंकर ग्रुपका उपाध्यक्ष पक्राउ समेत पर्नुभयो । यसले तपाईहरुको रेपुटेसनमा कस्तो असर पार्यो ?

पहिलो कुरा नेपालमा जुन कुराले जसरी हेर्ने गरेको छ । मिडियाले त्यसलाई बढाउने गरेको छ । एउटा सानो इस्युलाई ठूलो इस्यु बनाइयो । जुन ग्रुपले १० हजार मानिसलाई जागिर दिएको छ । जुन ग्रुपको ३ प्रतिशत कन्ट्रिब्युसन जीडीपीमा छ । जुन ग्रुपले सबैभन्दा बढी विद्युत् खपत गरेको छ । जुन ग्रुप सबैभन्दा ठूलो करदाताभित्र परेर अवार्ड पाएको छ । त्यो ग्रुपमा १५ हजार डलरको इस्यु बनाएर ठूलो विवादमा तानियो । त्यसले रेपुटेशनमा केही असर पर्छ । जसलाई हाम्रो बारेमा थाह छैन उसका लागि नाफाखोरी गर्न खोज्यो । यो बेलापनि पैसा कमाउन खोज्यो भनेर बुझे होलान् ।

मलाई के लाग्छ भने हामीले गरेको र सुलभजीले गरेको सामाजिक काम नै हरिएन । म आफैले मेरो अफिसमा ३३ हजार रुपैयाँमा पनि थर्मल गन किनेर ल्याएको थिए । नेपालमा त्योबेला यस्तो सामानको अभाव थियो । निजी क्षेत्रले सहज बनाउन खोजेको थियो । यो मुद्दा अदालतमा विचाराधिन छ ।

हामीले कतिमा किन्यौ र कतिमा बेच्यौ प्रमाणहरु अदालतमा दिएका छौ । बिल कति रेटमा काटिएको छ कतिमा किनिएको हो प्रमाण दिएका छौ । सानो इस्यूलाई ठूलो बनायौ । त्यो राम्रो भएन । जुन कम्पनीको दिनको खर्च लाखौ खर्च लाखौ रुपैयाँ छ । उसले १५ हजार डलरको लागि त्यो ग्रुपको उपाध्यक्षले त्यती नाफाखोरी गर्न खोज्यो भनेर सोच्नुपनि गलत हो ।


क्लिकमान्डु