हावाको गतिले नेपालमा सलहको नयाँ झुण्ड आउँदैनः हुमागाई



काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

कार्यदलका संयोजक एवं प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिण तर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको बताए ।

उनले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेश तिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताए ।

भारतको इटहवा भैरहवा नाका देखि ५ सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा ७ सय ६७ किलोमिटर टाढा पुगेको बताए । उनले मनसुन तथा हावाको दिशामा नाटकीय परीवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने जानकारी गराए ।

उनले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताए । मानव वस्तिको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उनले स्पस्ट पारे ।

तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चारपाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताए । उनले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताए ।

कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले असार १७ गते सम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताए ।

असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पा सम्म पुगेको र तीन दिन भित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए । नेपाल भित्रिएको ५ दिनमा अर्घाखाची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछाम सम्म पुगेको बताए । उनले १७ गते सम्म दाङमा सबैभन्दा धेरै ५ सय हेक्टर, प्युडानमा २ सय ८३ हेक्टर, अर्घाखाँचीमा १ सय हेक्टर र मकवानपुरमा १ सय ५ हेक्टर जमिनमा क्षति पुगेको बताए ।

बैठकमा सांसदहरुले यस अघि पनि कृषि मन्त्रालय र विज्ञहरुले नेपालमा सलह आउँदैन भनेको तर नेपालमा ठूलो संख्यामा सलह आएकोले फेरीपनि नआउने भन्ने सम्भावना नरहेकोले त्यसको नियन्त्रणको लागि तयारी बढाउन सुझाव दिएका छन् ।

उनीहरुले थाल ठटाएर अथवा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीको प्रयोग गर्ने या अन्य कुनै विकल्प किसानलाई दिनुपर्ने बताए । यस्तै धान र मकै सलहले मनपराउने भएकाले त्यसलाई जोगाउनु चुनौतिपूर्ण भएको सांसदहरुले बताए ।

मन्त्रालयले किसानहरुलाई जालिले धानको ब्याड ढाक्न दिएको सुझावमा पनि सांसदहरुले असन्तुष्टि जनाए । धेरै विगाहा जमिनमा खेति गर्न लगाईएको ब्याड ठूलो हुने भएकाले जाली लगाएर रोक्ने काम असम्भव र अव्यवहारीक भएको सांसदरुले बताए ।


क्लिकमान्डु