काठमाडौं महानगरले सार्वजनिक गर्यो पार्किङ शुल्क, बिद्युतीय सवारीलाई पार्किङ निशुल्क
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र सवारी साधन पार्किङ गर्दा लाग्ने निर्धारण गरेको छ ।
महानगरपालिकाले दुई पाङग्रे चार पाङग्रे सवारी साधानलाई पार्किङ गरेको अवधि अनुसारको पार्किङ शुल्क निर्धारण गरेको हो । काठमाडौं महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक २०७७ सार्वजनिक गर्दै यस्तो शुल्क निर्धारण गरेको हो ।
महानगरपालिकाले क्षेत्र नै तोकेर पार्किङ शुल्क निर्धारण गरेको छ ।
क्षेत्र नम्बर १ अन्तर्गत न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री शहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म)कोकाठमाडौं मध्यभागका सार्वजनिक बाटोलगायत तोकिएका स्थानहरुमा दुई पाङग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ शुल्क लाग्ने छ । यस्तै दुई पाङग्रेका लागि प्रतिघण्टा २५ रुपैयाँ शुल्क लाग्ने छ । चार पाङग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ शुल्क लाग्ने छ ।
त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत दुई पाङग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ लाग्ने छ । चार पांग्रेका लागि प्रतिघण्टा ४० र चार पांग्रेभन्दा बढीका लागि १०० रुपैयाँ प्रतिघन्टा पार्किङ शुल्क लाग्ने छ ।
निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौं महानगरपालिकाबाट अनुमती लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय सञ्चालन गर्न सकिनेछ ।
लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायीलाई भने उक्त व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्म शतप्रतिशत छुट प्रदान गरिनेछ ।
काठमाडौं महानगरपालिकाले आफै वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको ब्यवस्था गर्ने पनि उल्लेख छ ।
निजी क्षेत्रबाट निर्माण गर्ने पार्किङलाई प्रोत्साहित गरिने भने यसरी गरिएको पार्किङमा लाग्ने दररेट महानगरपालिका र सम्बन्धित संस्थाको सहमतिमा निर्धारण गरी लागू गरिनेछ ।
सवारी साधन पार्किङ गर्ने क्षेत्र र निषेध क्षेत्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले तोक्न सक्ने व्यवस्था रहेको छ । विद्युतीय सवारी साधन र अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ शुल्क लाग्ने छैन ।
क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बर्हिगमन फरक–फरक हुने गरी, कुनै पनि सडकको कुल चौडाईको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफै वा निजी क्षेत्रको सहयोगमा सःशुल्क सवारी पार्किङ व्यवस्थापन गर्ने विधेयकमा उल्लेख छ ।